तीजमा पशुपतिनाथ दर्शनका लागि विशेष तयारी
काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले तीजमा आउने भक्तजन, विशेष गरी हिन्दू नारीहरूका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, प्रसाद वितरण, स्वास्थ्य सेवा र दर्शन मार्गको व्यवस्थापन मिलाइसकेको छ ।
दर्शनार्थीका लागि चार मार्ग : पशुपतिनाथ क्षेत्रमा बाहिरबाट मन्दिर प्रवेशका लागि चारवटा मार्गको व्यवस्था गरिएको छ । पहिलो मार्ग: गौरीघाट-उमाकुण्ड हुँदै उत्तरढोकाबाट प्रवेश । दोस्रो मार्ग: मित्रपार्क-जयवागेश्वरी हुँदै फलामे पुलबाट प्रवेश । तेस्रो मार्ग: पिङ्गलास्थान-चारशिवालय हुँदै कोटिलिङ्गेश्वर नजिकैको ढोकाबाट प्रवेश । चौथो मार्ग: तिलगङ्गा-राम मन्दिर हुँदै बागमती नदी किनारको पुल तरेर पूर्वढोकाबाट प्रवेश ।
कोषका अनुसार, मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ र बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिनेछन् । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिनेछ । पाकेटमारी र अनियमित क्रियाकलाप रोक्न सादा पोसाकमा प्रहरी खटाइनेछ ।
यस वर्ष गौदान र अन्य धार्मिक कार्यका लागि छुट्टै स्थान तोकिएको छ । पर्यटकका लागि मन्दिर प्राङ्गणबाहेकका क्षेत्रमा अवलोकनको व्यवस्था गरिएको छ । कोषले भक्तजनलाई बहुमूल्य गरगहना लगाएर वा साना बालबालिकालाई साथमा लिएर नआउन अनुरोध गरेको छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था गरिएको छैन ।
