‘तीजमा पुरुषले पनि व्रत बस्दा हुन्छ’
तीजको मौलिक र सांस्कृतिक महत्त्व छ। यो पर्वले नेपालको पहिचानलाई पनि झल्काउँछ। यसको धार्मिक, सांस्कृतिक, परम्परागत र सामाजिक महत्त्व छ। जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ।
शास्त्रअनुसार तीजमा महिला र पुरुष दुवैले व्रत बस्नुपर्ने भए पनि सामाजिक रूपमा भने महिलाले श्रीमान्को दीर्घायुका लागि व्रत बस्छन् भन्ने बुझाइ छ। व्रत बस्ने पुरुषले विधुर हुनु नपरोस्, नारीले अटल सौभाग्य प्राप्त गरून् र अविवाहितले गुणसम्पन्न वर वा वधू पाऊन् भन्ने शास्त्रीय वचन रहेको पाइन्छ।
किन र कसरी बस्ने व्रत?
शास्त्रले पति र सन्तानको कल्याण तथा परिवारको सुख-शान्तिका लागि तीजको व्रत बस्नुपर्ने बताएको छ। यस लोकमा सुख-शान्ति होस् र मृत्युपछि सद्गति प्राप्त होस् भन्ने उद्देश्यले पनि यो व्रत बसिन्छ। व्रतका बारेमा नबुझेर कतिपय दिदीबहिनीहरू गुनासो गर्नुहुन्छ, जुन गलत हो।
तीज भनेको तृतीयाको दिन मनाउने हो। द्वितीयाको दिन दर खाइन्छ। तीजमा नुहाइ-धुवाइ गरेर सफा र चोखो वस्त्र लगाई शिवजीको पूजा र दर्शन गरेर उहाँबाट आशीर्वाद लिने गरिन्छ।
तीजको व्रत तीन तरिकाले बस्नुपर्छ:
निराहार: पानी पनि नखाईकन।
जलहार: पानी मात्र पिएर।
फलहार: फलफूल मात्र खाएर।
धेरै महिलाहरू ‘हामी पतिको आयुका लागि व्रत बस्दैनौँ’ भन्छन्। व्रत नबस्नेलाई कसैले कर गर्न मिल्दैन। व्रत, पूजाआजा, चाडपर्व मनाउनु श्रद्धाको कुरा हो। जसको आस्था, निष्ठा, श्रद्धा र विश्वास छ, उसैले मात्र चाडपर्वहरू मनाउने हो। अहिले कतिपय महिलाहरू एक महिना अघिदेखि नै तीज मनाउन थाल्नुहुन्छ, जुन अनावश्यक हो। चलन भन्दैमा विकृति र विसंगति भित्रिनु हुँदैन। व्रतमा केही पनि खानु हुँदैन भन्ने होइन, आफ्नो स्वास्थ्यअनुसार व्रत बस्नुपर्छ।
व्रत महिला-पुरुष दुवैले बस्ने हो
तीज शिवजीको उपासना गर्ने पर्व हो। महिलाले मात्र व्रत बस्नुपर्छ भन्ने छैन। पुरुषले पनि व्रत बस्दा हुन्छ र बस्ने गरेको पनि पाइन्छ। दिनभरि भोको बसेर शिवजीको पूजा गरी उहाँबाट आशीर्वाद प्राप्त गर्ने, जिन्दगीलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने, तथा मृत्युपछि सद्गति प्राप्त गर्ने उद्देश्य यसको हो। यो काम महिलाले मात्र गर्नुपर्छ भन्ने होइन, पुरुषले पनि गर्न सक्छन्।
पूजा विधि
शुद्ध भएर पूजा गर्नुपर्छ। चन्दन, अक्षता, फूल, नैवेद्य, धूपबत्ती आदि चढाउने काम पूजाभित्र पर्दछ। घरमा होस् या मन्दिरमा, यी सबै सामग्री चढाउने हो। शिवजी प्रसन्न होऊन् भन्ने धार्मिक विश्वासका साथ पूजाका विधि-विधानहरू पूरा गरिन्छ। घरमा पूजा गर्दा दियो, कलश र गणेश स्थापना गरी शिवजीको मूर्ति वा शिवलिङ्ग राख्नुपर्छ।
विकृति फैलियो
तीज खास गरेर तीन दिन मनाइन्छ। नाचगान गरेर वा महिनौँ दिनसम्म रमाइलो गर्ने कुरा शास्त्रमा छैन। महिना दिनअघिदेखि तीज मनाएर खर्च गर्नु वा होटल बुक गर्नु विकृति हो। यसरी मनाउनु भनी शास्त्रले पनि भनेको छैन। दर खाने भनेको एउटा श्रद्धा, निष्ठा र आस्थाका साथ चोखो चिज खाएर भोलिपल्ट व्रत बस्नका लागि तयारी गर्ने हो।
स्वास्थ्यलाई असर गर्ने गरी खाने पनि होइन। स्वास्थ्यलाई लाभ गर्ने गहकिलो र स्वास्थ्यकर परिकारहरू खाने हो। देवताको पालामा पनि दर खाने चलन थियो, तर अहिलेको तीजमा यो बदलिएको छ। एक महिनाअगाडिदेखि दर खानु हुँदैन। यो महिलाहरूले रमाइलो गर्न खोजेको मात्र हो।
रमाइलो नगर्नुस् भन्ने कुरा होइन, तर अनावश्यक तडक-भडक र लामो समय लगाएर गर्ने होइन। दर तीजको अघिल्लो दिन खाने हो। हिजोआज त महिनौँ दिनदेखि होटल बुक गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने गरिन्छ। यो राम्रो होइन। नाचगान गर्नु नराम्रो होइन, तर त्यहाँ विकृति र विसंगति भित्रिएको छ। कसैलाई असहज पर्ने गरी तीज मनाउनु राम्रो हुँदैन।
(धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमसँग नेपाल न्युज बैंकका लागि रस्मिता गिरीले गरेको कुराकानीमा आधारित)
