मनसँग मनको कथा
गाउँमा हाम्रो खेत–खलिहान,
आँप–लिचीको बगान थियो ।
चराचुरूङ्गी गीत गाउँथे,
गाई–भैंसीको बथान थियो ।
अब त धेरै कुरा बिर्सिएँ,
म सानो थिएँ, धेरै सानो ।
सम्झनामा न खेत छ, न गाउँ छ,
न त बाल्यकालको जस्तो प्यारो
मेरो त्यो ठाउँ छ ।
–जुगल भुर्तेल
आठ–नौ महिनायताको बसाइ काठमाडौं खाल्डोमा छ । काठमाडौं उपत्यका भन्नु राम्रो सुनिन्थ्यो होला, तर अब उहिलेको जस्तो यो नेपाल सहर राम्रो रहेन । बाल्यकालमा एउटा सामग्री पढेको थिएँ, त्यो सायद निबन्ध थियो । त्यसको एक हरफ अहिले पनि सम्झनामा छ: ‘नेपाल, नेपाल भन्थे, तिनको नेपाल त काठमाडौं पो रहेछ !’
हाम्रा पुर्खाले यस खाल्डोलाई नेपाल भन्थे । पुर्खाले भनेको धेरै अगाडिको जस्तो बुझिन्छ, तर होइन । मेरा बाले नै पशुपतिनाथको दर्शन गर्न पन्ध्र दिन लगाएर गरेको नेपाल यात्राको वर्णन गरेको सुनेको छु । उहाँलाई यहाँको लहलह हरियाली गहुँबालीले साह्रै लोभ्याएको थियो रे । यसरी पुर्खाले नेपाल भनेको यस खाल्डोलाई हामीले काठमाडौं भन्न सिक्यौँ । प्रशासनिक रूपमा काठमाडौं भन्दा एउटा जिल्ला मात्रै बुझिन्छ, तर हामी यो खाल्डो बाहिरकाले भन्ने काठमाडौंमा ललितपुर र भक्तपुर जिल्ला पनि मिसिन्छन् । अर्थात्, उपत्यका बाहिरकाले काठमाडौं भन्दा सामान्यतया सम्पूर्ण उपत्यका भन्ने बुझ्नु पर्छ ।
यहाँको आफ्नो दैनिकीमा विविधता छैन । त्यसैले त्यो एकनासको, एकरूपको, नीरस वा प्रवृत्तिरहित जस्तो छ । बिहान अबेरतिर एक घण्टाजतिको हिँडाइ हुन्छ । हिँडाइ भन्दा पनि गोडा तन्काउनु अझ उपयुक्त होला, किनभने हिँडेपछि त गन्तव्यमा पुगिन्छ नि । यसको त पुग्ने कुरा परै जाओस्, गन्तव्य नै छैन । एकाध घण्टा हिँड्दा पुनः पुगिने उही प्रस्थान विन्दुलाई गन्तव्य के मान्नु र !
यस्तो प्रातःकालीन भ्रमण प्रायः बिहानै गर्ने चलन छ तर वायु प्रदूषणका कारण जाडो याममा यस खाल्डोमा सखारै बाहिर निस्कनु स्वस्थकर हुँदैन रे । चिसोका कारण प्रदूषित वायु तल्लो तहमा रहने हुनाले यस्तो हुन्छ भन्छन् जानकारहरू । आफूलाई कुनै जिम्मेवारी सम्हाल्न निर्दिष्ट समयमा कतै पुग्नु पर्ने परिबन्द नभएकाले यो अबेरको समय पनि अनुकूलै रह्यो र यसैमा बानी परियो ।
दैनिक हिँड्ने वा गोडा तन्काउने वा पाइला चाल्ने जे भने पनि नाप्ने उही बाटो हो । त्यो पनि निकै दिन लगाएर तुलनात्मकरूपले खुला र सुरक्षित ठहर्याइएको । स्मार्ट घडीले पाइला गन्न सघाउँछ— दैनिक सात हजार वरपर । यसअघि १० हजार पाइला भन्ने थियो तर पछिल्लो अध्ययनले सात हजार पाइला भए तन, मन र मस्तिष्क स्वस्थ राख्न सघाउँछ रे, अर्थात् मुटुजन्य समस्या, बिर्सिने रोग र अल्पायु तीनैलाई ठेलेर मानिसलाई स्वस्थ र दीर्घजीवी बनाउन सघाउँछ रे । हुन त पाइला गनेर मात्रै हुँदैन, तिनलाई चाल्नेको उमेर र गतिले पनि अर्थ राख्छ । हिँड्ने मानिसको तौलमा पनि भर पर्दछ । जे होस्, तेर्सोमा फटाफट हिँड्न सक्दा काम चल्छ ।
हिँड्दाखेरि हामीले उपभोग गरेको क्यालोरी पच्न सघाउँछ । ६० केजी तौल भएको व्यक्ति १० हजार पाइला हिँड्दा पाँच सयदेखि छ सय क्यालोरी पच्छ भनिन्छ । क्यालोरी पचाउने कुरा हिँड्ने काममा मात्रै होइन, व्यक्तिको अन्य क्रियाकलापमा पनि भर पर्छ । दिनभर कुर्सीमा बस्ने हो कि पसलमा यताउता गरिरहनु पर्ने हो— यसले अवश्यै फरक पर्छ । यस्तै सबै हिसाब गरेर होला, अमेरिकन काउन्सिल अफ एक्सरसाइजले दैनिक २५ सय पाइला हिँडे स्वस्थ रहन सकिन्छ भन्छ ।
कसैले भनेको सुनिन्छ— हाम्रा हजुरबा हरेक दिनजसो एक डाडु घिउ खानुहुन्थ्यो । एक सय तीन वर्षमा जानुभयो । सय वर्षको हुँदासम्म त ठम्ठम् हिँडेर यताउता गर्नुहुन्थ्यो । अचेल पच्चीस–तीस वर्ष नपुग्दै हामीलाई डाक्टर चिल्लो कम गर्नु भन्छन् । कुरा ठीकै हो, खाएको घिउ पच्ने गरी हजुरबाहरूले गरेको परिश्रमतिर हामीले ध्यान दियौँ भने । व्यायाम गर्ने भनेको हामी शारीरिक श्रम नगर्नेहरूका शरीरका अङ्गहरूलाई चलायमान राख्न र खाएको खाना राम्ररी पचाउन हो । दैनिक कोदालो खन्ने, भारी बोक्ने या यस्तै केही शारीरिक श्रम गर्नेहरूले थप व्यायाम गर्नै पर्दैन ।
अपार्टमेन्टमा नवौँ भने पनि व्यवहारतः एघारौँ तलामा छ बसाइ । बुई चढाएर तलमाथि गराउने बिजुली भर्याङ नभए दुई–तीन पटक तलमाथि गर्दा उस्तै त्यस्तैको व्यायाम हुने थियो । यता आएको एकाध महिनापछि एक बिहान मजाले हल्लायो । निन्द्रा खुल्दा हल्लिरहेको भए हल्ला गर्दै बाहिर निस्किइन्थ्यो, यहाँ त त्यस्तो कल्पनाले समेत ठाउँ नपाउने रहेछ । राम नाम जप्नुको विकल्प रहेन ।
पहिलो र दोस्रो तलामा राखिएका गाडीको बथान देख्दा यस बहुमन्जिल्ले भवनमा उहिलेको इलामको बिहिबारे हाटमा जम्मा हुनेभन्दा कम मानिस पक्कै बस्दैनन् होला, तर पनि अचम्मको एकान्त छ । दिनभरका साथी पुस्तक, ल्यापटप र मोबाइल । अँ, झन्डै इन्टरनेट छुटेछ । टीभीमा उति मन बसेन, बानी नपरेर हो कि ? लेखनाथ पौड्याललाई सम्झेर ‘बालक बबुरो द्विज शुकनामा…’ गाउँछु भन्दा अलि अतिशयोक्ति होला । साथीभाइलाई हातेफोनमा जवाफमा सधैँ ‘ठीक छ, बेसै छ’ भन्न छाडिएको छैन ।
बिहान घुम्न निस्कँदा सडकमा सामुदायिक कुकुरहरू बाक्लै भेटिन्छन् । कुनै कुनै अलि आक्रामक समेत हुन्छन् । जोगिएर हिँड्नु पर्छ । तर म हिँड्ने बाटोको एक निश्चित ठाउँमा एक युवक यस्ता कुकुरहरूलाई कुकिजहरू खान दिइरहेका भेटिन्छन् । उनी कतैबाट मोटरसाइकलमा आउँछन् त्यस ठाउँमा र बिसाएर कुकुरलाई खुवाउँछन् । उनले सधैँ यसो गर्छन् होला, किनभने अधिकांश दिनमा उनी त्यसो गरिरहेको अवस्थामा भेटिन्छन् । उनलाई आठ–दश कुकुरले घेरेको हुन्छ । यसैगरी अन्यत्र पनि खुवाउँछन् कि ? यसो गर्ने चेत उनमा कसरी पलायो होला ? कति राम्रा मान्छे !
धेरै मानिसले कुकुर पाल्छन् । हिमाली भेगमा भेडी गोठ, चौँरी गोठतिर पालेका जनावरको सुरक्षाका निम्ति कुकुर पालिन्छ । त्यता पाइने भोटे कुकुर पहिलो पुस्ता जातका हुन् भनिन्छ । साधारण घर गाउँमा पनि कुकुरले घर रुङ्छ, कुखुरा आदिको गोठालो गर्छ, कोही नौलो मानिस आए भुकेर जानकारी दिन्छ भनेर पाल्ने चलन छ । अचेल बाँदर लखेट्न कुकुर पाल्ने चलन बढेको छ गाउँघरमा । सौखले पाल्नेको त कुरै नगरौँ, धेरैले आफ्ना सन्तान सरह माया दिएर पालेको पनि देखिन्छ । आफूले पालेको कुकुर मरेपछि आफ्नो सन्तान सरह त्यसको काजक्रिया गरेको पनि सुनिन्छ । पत्याउन गाह्रो पर्नेजस्ता प्रसङ्गहरू कुकुरका बारेमा छन् । अन्तरिक्षको यात्रा गर्ने पहिलो प्राणीमध्येको एक कुकुर नै थियो । कुकुरमाथि कथा, कविता, नाटकहरू लेखिएका छन्, सिनेमाहरू बनेका छन् । महाभारतमा युधिष्ठिरको अन्तिम साथी कुकुर नै भएको उल्लेख छ ।
म हिँड्ने गरेको एक सडक खण्डमा सवारी साधन कम चल्ने भएकाले मानिसहरू सडकबाटै हिँड्ने गर्छन्, जसले गर्दा सडकपेटीमा झार पलाएर पतिङ्गर त्यहीँ कुहिएर प्रायः ती पेटी फोहोर अवस्थामा हुन्छन् । त्यहाँका सडक पेटी कुकुरहरूका लागि सुरक्षित भएर होला, धेरै कुकुरहरू पेटीमा सुतिरहेका भेटिन्छन् । त्यहाँ देखिने सबै कुकुर शान्त स्वभावका देखिन्छन्, कुनै बाधा व्यवधान नभएर होला ।
साता दिनजसोअघि नगरपालिकाले होला, ती सडक पेटीका झारजङ्गल उखेलेर सफा गरेका कारण त्यो क्षेत्रमा दसैँ आएजस्तो देखिएको थियो । अर्को दिन त्यस सडक पेटीको एक स्थानमा कालो फोमलाई टनेल जस्तो गोलो पारेर त्यसलाई बाहिरबाट ब्ल्याङ्केटले बेरेर राखिएको देख्नमा आयो । सोचेँ, सडक बालक कोही सुतेको होला ! तर त्यस क्षेत्रमा सडक बालबालिका हिँडेको कहिल्यै देखिएको थिएन ।
नजिक गएर हेर्दा त्यसलाई हावाले उडाउला भनेर होला, टनेलको दुवै मुखतिर र छेउमा टुक्रे टायलले थिचेको र त्यसभित्र आठ–दश पाप्रा बिस्कुट छरेको देखियो । अनि लाग्यो, त्यो कसैले कुकुरका लागि राति बस्ने ठाउँ बनाइदिएको होला । सोचेँ, पालेको कुकुर भए त यो इन्तजाम घरमै गरिने थियो होला, यो कसैले सामुदायिक कुकुरकै लागि गरिदिएको व्यवस्था हुनुपर्छ ।
त्यो दिन हिँडुञ्जेल मेरो मनमा त्यही प्रसङ्गको वरिपरि कुरा खेलिरहे । त्यो कुकुर आवास खुला आकाश मुनि भएकाले त्यो काम पक्कै कुनै बालबालिकाले गरेको हुनुपर्छ भन्ने लाग्यो । ठूलो मानिसले गरेको भए त ओतको पनि व्यवस्था गरिदिने थिए नि ! त्यस टनेललाई बाहिरबाट पोलिथिन सीटले बेरिदिँदा पुगिजान्थ्यो ।
नभन्दै भोलिपल्ट त्यहाँ भित्र एउटा कुकुर मस्त सुतिरहेको थियो । टनेलको एउटा मुखमा सानो प्लास्टिकको बट्टामा पानी समेत राखिदिएको देखियो । सडकका दुवै पेटी पछाडि कम्पाउन्ड वाल भएकाले त्यो ठाउँ एकान्त जस्तो पर्छ । त्यो कुकुर बिरामी हो कि भनेर नजिक गएर हेरेँ, तर त्यो स्वस्थ जस्तो बलियो देखिन्थ्यो । यसो गर्ने पशुप्रेमी दयालु मानिस को होला भन्ने कौतुहल मनमा चलिरह्यो ।
संयोग भनौँ, कोठामा आएर यसो मोबाइल खेलाउँदा तलको कथा फेला पारेर पढेपछि मनमा एक प्रकारको सन्तोष मिल्यो । पुर्खाका स्वभाव वंशानुगत रूपमा सन्ततिमा आउँछ भनिन्छ । त्यो कुकिज खुवाउने युवक र यो आवास टनेल बनाइदिने मनुष्यले त्यो सद्गुण वंशानुगत रूपमै ल्याएको रहेछ भन्ने लाग्यो । चित्त बुझ्यो ।
मैले पनि उहाँहरू दुवैको अनुमति नलिएबापत क्षमा याचना गर्दै यो सुन्दर कथा तपाईंका लागि केदार शर्माको वालबाट सारेर नराखी रहन सकिनँ । समय मिलाएर भए पनि पढ्नु होला ।
आज यात्राका बीचमा पनि (लेखकको अनुमति समेत नलिई, क्षमा याचना मात्र गरेर) मलाई यो कथा सामान्य सम्पादन गरेर पोस्ट गर्न मन लाग्यो ।
यो शानदार कथाका लागि धन्यवाद राजीव घिमिरे !
मृदुस्नेही: एक गुमनाम नेपाली क्रान्तिकारीको मार्मिक कथा
‘International Friendship Day’ को शुभकामना सहित ।
आज म तपाईंलाई प्राचीन कालका हाम्रा एकजना पूर्वजको कथा सुनाउँदैछु, जसको नाम इतिहासमा कतै लेखिएन, तर जसको कामले मानव सभ्यताको दिशा नै बदल्यो । यो कथा एउटा सत्य घटना हो, जुन हिमालको काखको कुनै पाखामा पत्रैपत्र माटोमुनि, उत्खननहरूबाट पनि फेला नपर्ने गरी पुरिएको छ ।
स्वाभाविक हो, भावना र कथाहरू यसरी नै हराउँछन् र भावनाकै औजारले मात्र तिनको उत्खनन हुनसक्छ । यो त्यसैको एउटा प्रयत्न हो ।
ती गुमनाम क्रान्तिकारी मानिस हाम्रो हिमालको कुनै कुनामा, चौँरी चराएर बस्थे । मैले उनलाई ‘मृदुस्नेही’ भनेको छु, जसको अर्थ ‘कोमल प्रेमी’ हो ।
करिब पन्ध्र हजार वर्षअघिको कुरा हो । मृदुस्नेही दिनभर चौँरी चराएर र केही कन्दमूल भेला पारेर आफ्नो ओडारमा फर्केका थिए । हिमालको चिसोमा, अचानक उनको बासस्थान नजिकै कुनै जनावरको चित्कारजस्तो एउटा अनौठो आवाज सुनियो । उनले बाहिर निस्केर हेरे र छक्क परे— एउटा घाइते र गर्भिणीजस्तो देखिने पोथी ब्वाँसो उनको ओडारको प्रवेशद्वारमै लडेको थियो । सायद चोटको पीडा र गर्भरक्षाको प्राकृतिक चाहनाले उसलाई मानिसको बासस्थानसम्म धकेलेको थियो, सहयोगको याचना गर्दै, शरणागत भएर ।
मृदुस्नेहीले त्यसको आँखामा भय र पीडा मात्र होइन, जीवित रहने एउटा कोमल याचना र मित्रताको प्रस्ताव पनि देखे । उनको मनमा असीमित करुणा जाग्यो ।
मानिस र ब्वाँसोबीचको युगौँ पुरानो दूरीलाई उनले आफ्नो करुणाको स्पर्शले मेटाए । उनले त्यो घाइते ब्वाँसोलाई आफ्नो ओडारमा आश्रय दिए, उसको घाउमा मलमपट्टी गरे र खानेकुरा दिए ।
समय बित्दै जाँदा, त्यस ब्वाँसोले मृदुस्नेही र उनको परिवारमाथि पूर्ण रूपमा विश्वास गर्न सिक्यो । र केही समयपछि, त्यसले सुन्दर बच्चाहरू जन्मायो ।
मृदुस्नेहीको परिवारले ती ब्वाँसोका बच्चालाई आफ्नै बच्चासरह माया गरेर हुर्किन मद्दत गर्यो । उनीहरूले ती ब्वाँसोका छाउराहरूमा भावी साथीहरू देखे, शत्रु होइनन् ।
यसरी, कुकुर मानवजातिको पहिलो गैरमानव साथी बन्यो । पुरातात्त्विक प्रमाणहरूले मध्य र दक्षिण एसियालाई कुकुरलाई पहिलो पटक घरपालुवा बनाइएको स्थानका रूपमा औँल्याउँछन्, र हालैका केही अध्ययनहरूले नेपाल यसको केन्द्र हुन सक्ने देखाउँछन् । आफ्नै घरको दैलोमा शरण माग्न आएको एक घाइते, गर्भिणी ब्वाँसोमा जीवनको मूल्य देख्ने र त्यसलाई मित्र बनाउने ती पहिला व्यक्ति मृदुस्नेही यही भूभागका बासिन्दा, हाम्रै पुर्खा, अहिलेको भाषामा नेपाली थिए । उनले केवल जङ्गली जनावर पालेका मात्र थिएनन्— त्यो दुई फरक प्रजातिबीचको भावनात्मक सम्बन्धको क्रान्तिकारी सुरुवात थियो । त्यसले हामीभन्दा बाहिरको सहयोगको बाटो खोल्यो र भविष्यका पाल्तु जनावरहरू—बाख्रा, भेडा, गाईवस्तु, घोडा आदिको घरेलुकरणका लागि आधार बनायो, जसले अन्ततः सभ्यतालाई आकार दियो ।
आज मित्रता दिवसका दिन ती बिर्सिएका व्यक्तिको कल्पना र सम्झना गरौँ । मानिसहरू एक–आपसमा लड्ने समय थियो । बाँच्नको लागि प्रकृतिले (इभोल्युसनले) दिएको मुख्य हतियार नै शङ्का थियो । त्यो बेला मृदुस्नेहीले आफ्नै प्रवृत्तिसँग विद्रोह गरे, त्यो पनि अर्को प्रजातिका लागि । घाइते र कमजोर अवस्थामा, स्वयं शरण माग्न आएको प्राणीलाई विश्वास गर्ने र त्यसका सन्तानलाई समेत माया गर्ने सद्भाव र साहस उनमा थियो ।
शङ्का गर्नु नै बाँच्ने पहिलो रणनीति मानिने बेलामा मृदुस्नेहीले अर्को प्रजातिमा विश्वास गर्ने हिम्मत गरे, साथी बनाउने हिम्मत गरे । उनीहरूले मित्रताको विचारलाई रगत, जनजाति र प्रजातिभन्दा पर पुर्याए । त्यो क्षणमा सहअस्तित्वको जन्म भयो । उनी सहअस्तित्वको दर्शनका जनक हुन् । उनले संसारलाई नयाँ सभ्यता सिकाए । मानव करुणाले एउटा फड्को मार्यो । यसले सम्पूर्ण मानव सभ्यतालाई हामीभित्र करुणा छ भन्ने ज्ञान दियो ।
जङ्गली र घरेलु प्राणीका बीचको पुलका रूपमा रहेका कुकुरहरू मान्छेका घरआँगनमा प्रवेश गरे । तिनीहरू मान्छेले बालेका आगोको छेउमा बस्थे, मान्छेका बच्चाहरूलाई हेर्थे, र हाम्रा पूर्वज शिकारीहरूसँगै हिँड्थे । कुकुरले पनि मानिससँग मित्रताका लागि आफूमा धेरै परिवर्तन गर्यो । यसको बङ्गाराको आकार, पाचन, व्यवहार, र भावनात्मक अभिव्यक्ति पनि मानिससँगको सहकार्यका लागि विकसित भयो । यो इतिहासमा पहिलो पटक थियो जब एक प्रजातिले अर्कोलाई हेरेर भन्यो, शब्दबिना, ‘तिमी मेरो साथी हौ, म तिमीलाई विश्वास गर्छु ।’
पशुपालनको संस्कृतिको जग हिमालयको फेदमा भएको विश्वास र मित्रताको त्यो पहिलो काम सानो थिएन । त्यो सभ्यताको बीउ थियो । आफैँ शरणमा आएको घाइते पोथी ब्वाँसो र त्यसका बच्चाहरूसँगको सफल मित्रताले मानिसहरूलाई एउटा महत्त्वपूर्ण कुरा बुझायो— हामी संसारलाई प्रभुत्वद्वारा मात्र होइन, सहयोग र सहकार्यद्वारा पनि बस्न योग्य बनाउन सक्छौँ । यो अनुभूतिले अन्य जनावरहरूलाई पाल्ने ढोका खोल्यो । गोरु र घोडाबाट यातायात र खेती आयो । भेडा र बाख्राबाट दूध र ऊन आयो । बस्तीहरू बढ्दै गए । समाजहरू बने । सहरहरू उठे । संसार उजाड स्थानबाट नक्सामा सर्यो । र यी सबैको जडमा— कुकुर थियो, र थिए मृदुस्नेही !
यो मानव इतिहासको सबैभन्दा शान्त क्रान्तिकारी क्षणहरू मध्ये एक हो । उनले मानव कथाको मार्ग परिवर्तन गरे । कुकुरलाई केवल पालिएन । यसलाई निम्तो गरियो, विश्वास गरियो, र मानवको कथाहरूमा स्वागत गरियो । र यो बस्यो । जब बाँकी संसार विजेता, मेसिन, स्मारक र जितेका युद्धहरूमा घमन्ड गर्छ, सायद नेपालले गर्व गर्न सक्छ—
‘हामीले संसारलाई प्रजातिहरूबीचको मित्रता दियौँ, विश्वास दियौँ, सहअस्तित्वको विचार दियौँ ।’ उनले करुणाको उपदेश दिएनन् । उनले यसै सँग बाँचे, बुद्धभन्दा धेरै अघि । उनी विश्वास गर्ने पहिलो व्यक्ति थिए । हात बढाउने पहिलो व्यक्ति । उनले आफ्नै घरको दैलोमा शरण माग्न आएको जङ्गली ब्वाँसोमा अरू कसैले नदेखेको कुरा देखे, मित्रताको सम्भावना ! विशेष गरी, एक घाइते, शरणागत र गर्भिणी प्राणीमा उनले जीवन र सहअस्तित्वको त्यो महान् सम्भावना देखे ।
हामी नेपालीहरू प्रायः हाम्रा पहाडहरू, हाम्रा गुम्बाहरू र बुद्धको सन्देश—शान्ति र करुणामा गर्व गर्छौं । तर हामीलाई नै थाहा छैन, बुद्धभन्दा धेरै नै पहिले अर्को एक हिमाली आत्माले पहिले नै गहिरो प्रकारको करुणा अभ्यास गरिसकेको थियो । यो अज्ञात नेपालीले मानव जातिलाई बुद्धले पछि दोहोर्याउने कुरा सिकायो— सबैका दुःख उस्तै हुन्छन्, र त्यसैले सबैमा दया हुनुपर्छ । त्यो सबैभन्दा मौलिक रूपमा करुणा थियो । यसले हामीलाई थप मानव बन्न मद्दत गर्यो । उनले भावनात्मक सभ्यताको सबैभन्दा पुरानो रूपहरू मध्ये एक—सहअस्तित्व—लाई जन्म दिन मद्दत गरे ।
‘हामी त्यो प्रेमका अनुयायी हौँ’
‘मित्रता र करुणा’ शब्दले भाषामा स्थान लिनुअघि नै एक नेपालीले पहिले नै यो जीवन जिएका थिए । हामी गर्व गरौँ । हाम्रा मन्दिर, हाम्रा झन्डा, वा हाम्रा पहाडहरूमा मात्र होइन, त्यो गुमनाम हृदयमा पनि जसले धेरै पहिले, ‘विश्वास, सहअस्तित्व र करुणा’ को सन्देश दियो । त्यसले, चुपचाप, हामीलाई थप मानव बन्न सिकायो ।
