गोसाइँकुण्ड यात्रा गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

गोसाइँकुण्डको यात्रा गर्ने सोचमा हुनुहुन्छ र फरक अनुभव लिन चाहनुहुन्छ भने दुप्चेश्वर हुँदै जाने बाटो एउटा उत्तम विकल्प हुन सक्छ। यद्यपि, धुन्चे र दुप्चेश्वर दुवै मार्गका आ-आफ्नै विशेषता छन् र दुवैले यात्रीहरूलाई अविस्मरणीय अनुभव दिन्छन्। तपाईं कस्तो अनुभव खोज्नुहुन्छ, त्यसैमा भर पर्छ।

सामान्यतया गोसाइँकुण्ड जानका लागि रसुवा र नुवाकोटतर्फका बाटा प्रयोग हुन्छन्। रसुवा तर्फको बाटो बढी चलनचल्तीमा छ, जहाँ तीर्थयात्रीको संख्या पनि बढी हुन्छ। अर्को चर्चित बाटो भनेको दुप्चेश्वर तर्फको हो।

दुप्चेश्वरतर्फको यात्रा मार्ग

दुप्चेश्वरतर्फबाट गोसाइँकुण्ड पुग्न धेरै वैकल्पिक बाटा छन्। तीमध्ये दुप्चेश्वर, घ्याङफेदी, सिसिपु, तालु, फेदी, हाइक्याम्प, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुगिने बाटो तुलनात्मक रूपमा छोटो र पुरानो हो, तर पदमार्गका रूपमा यसको विकास हालसालै मात्र भएको हो। अन्य मार्गहरूमा दुप्चेश्वर-माला भञ्ज्याङ-गोसाइँकुण्ड र गोल्फू भञ्ज्याङ-ठाडेपाटी-सूर्यकुण्ड-गोसाइँकुण्ड पर्छन्। यी मार्गहरूमा पनि तीर्थयात्रीको चाप राम्रै हुन्छ।

दुप्चेश्वर मार्गका विशेषता

धुन्चेबाट यात्रा गर्दा एउटै डाँडा पार गर्नुपर्ने हुन्छ भने दुप्चेश्वर तर्फबाट थुप्रै डाँडा र खोँचहरू पार गर्नुपर्दा यात्रा अझै रोमाञ्चक हुन्छ। करिब १००-२०० मिटरको फरकमा भेटिने झरना, खोला, र खोल्साहरूको चिसो पानीसँगको साक्षात्कार, विभिन्न जातका फूल तथा चराचुरुङ्गीको नजिकबाट अवलोकन गर्न पाउनु यस मार्गको खास विशेषता हो।

यस बाटोबाट यात्रा गर्दा तामाङ जातिको संस्कृति बुझ्न, साँचो पदयात्राको अनुभव गर्न, थाई विमान दुर्घटना स्थल हेर्न, र भेडा तथा चौँरीका बथानसँग जम्काभेट गर्न पाइन्छ। साथै, दुप्चेश्वर महादेव, बछलादेवी, घ्याङकी इन्द्रायणी देवीको दर्शन र सूर्यमति नदीको उद्गमस्थल सूर्यकुण्डमा स्नान गर्ने अवसर पनि मिल्छ।

घोडाको सुविधा कम हुने भएकाले घोडाका टापले हिलाम्मे हुने बाटो पनि यसमा खासै छैन। गत वर्षसम्म तालु र फेदीको बीचको जंगलको बाटोमा केही समस्या भए पनि अहिले त्यहाँ सिँढीसहितको बाटो निर्माण गरिएको छ। यस बाटोमा चन्दनबारीको जस्तो चिज नपाइए पनि यहाँको स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ।

आवास र सुविधा

दुप्चेश्वर मन्दिर वरपर सुविधासम्पन्न होटलहरू छन् भने सिसिपुसम्म बोलेरो जिप वा टाटा सुमो जस्ता गाडी पुग्छन्। सिसिपुमा पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर केही होटल खुलेका छन्। त्यस्तै, तालुमा केही होमस्टे पनि सञ्चालनमा छन्। फेदीमा पुगेपछि सुन्दरीजल-गोल्फु भञ्ज्याङतर्फबाट आउने बाटो जोडिन्छ र त्यहाँबाट दुवै तर्फका यात्री सँगसँगै यात्रा गर्न सक्छन्। फेदीमा पनि पर्यटकका लागि होटलहरू छन्। समग्रमा, यो बाटोमा करिब २ किलोमिटरको यात्रापछि कुनै न कुनै होटल भेटिन्छ।

फेदीबाट हाइक्याम्प पुगेर चिया-नास्ता गर्ने चलन छ, जहाँ बसोबासको पनि व्यवस्था छ। मेलाको समयमा दुप्चेश्वर गाउँपालिकाले फेदी, हाइक्याम्प, र सूर्यकुण्ड क्षेत्रमा स्वास्थ्य शिविर पनि राख्ने गर्दछ।

उचाइ र दर्शन

सूर्यकुण्ड पुग्दा हामी ४,६३२ मिटरको उचाइमा पुग्छौँ। यहाँबाट गोसाइँकुण्ड (४,३८० मिटर) पुग्न करिब १ घण्टा ओरालो हिँड्नुपर्छ। दुप्चेश्वरतर्फबाट जाँदा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्डका साथै पार्वती कुण्ड, गणेश कुण्ड, वर्ध कुण्ड जस्ता धेरै कुण्डको दर्शनको सौभाग्य मिल्छ। सूर्यकुण्ड छेउको थुम्काबाट तल हेर्दा अन्य थुप्रै कुण्ड र चुचुराको मनमोहक दृश्य देख्न सकिन्छ।

दुप्चेश्वर महादेवलाई गोसाइँकुण्ड र सूर्यकुण्डको जल चढाएपछि मात्र तीर्थयात्रा पूरा हुने जनविश्वास छ। यो बाटोबाट जाँदा एउटै यात्रामा दुप्चेश्वर दर्शनको पनि अवसर मिल्छ।

महत्वपूर्ण जानकारी

लगभग ५०० मिटरको उचाइबाट ४,६३२ मिटरको उचाइमा पुग्नु निश्चय नै चुनौतीपूर्ण छ। छोटो दूरीमा पुग्न तुलनात्मक रूपमा बढी उकालो चढ्नै पर्छ। यस यात्रामा आफ्नो स्वास्थ्यको ख्याल गर्नु एकदमै जरुरी छ। जोशिएर भन्दा पनि सुस्तरी र एकनासको हिँडाइ उचित हुन्छ। अहिले ठाउँ-ठाउँमा बसोबासका लागि थर्पुहरू (गोठ) समेत बनाइएका छन्। आफ्नो अवस्था र समय विचार गरी समयमै बास बस्नुपर्छ।

यहाँको अर्को विशेषता हो, मूल्यमा एकरूपता। आफ्नो अनुकूलताअनुसार जताबाट यात्रा गरे पनि हुन्छ, तर मेलाको समयमा गोसाइँकुण्ड क्षेत्रमै बस्नु कष्टकर हुने अनुभव छ। त्यसैले दर्शनपछि फर्कनु नै राम्रो हुन्छ।

सबैको यात्रा सुखद रहोस्। जय दुप्चेश्वर।

-लेखक दुप्चेश्वर क्षेत्र विकास कोष, आरती व्यवस्थापन समितिका कार्यक्रम संयोजक हुन्।


प्रतिक्रिया

One thought on “गोसाइँकुण्ड यात्रा गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

  1. मीठो, सरल, सरस र सहज भाषा शैलीको प्रयोगद्वारा गोसाइंकुण्ड गन्तव्य यात्रालाई दुप्चेश्वर गापा भित्र रहेका महत्वपूण धार्मिक ऐतिहासिक , पोरातात्त्विक, साँस्कृतिक र पर्यटकीय महत्व बोकेका क्षेत्रहरुलाई समेटेर सचित्र वर्णन र मार्गदर्शनले दुप्चेश्वरलाई धन्य बनाएको छ , गौरव बढाएको छ्।जसको लागि यो पङ्तिकार आरडी शर्मणलाई विशेष धन्यवाद दिन्छु।आगामी दिनमा झनै रचनात्मक लेख र रचनाको अपेक्षा गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *