मेचीनगरका दुई जना महिलामा जापानिज इन्सेफलाइटिस

झापा। मेचीनगर नगरपालिकामा दुई महिलामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। ३६ र ५५ वर्षीया ती महिलाको पूर्ण-टुंग बिर्तासिटी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन्।

सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय झापा, विश्व स्वास्थ्य सङ्गठन र प्रादेशिक अस्पताल भद्रपुरका विज्ञहरूको टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग छलफल गरेको छ।

छलफलमा जनचेतना अभिवृद्धि कार्यक्रम गर्ने, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउने लगायतका सुझाव दिइएको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीलाई घर–घरमा सचेतना जगाउन र सङ्क्रमितको उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सङ्क्रमण जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमा पनि उपचारको समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताइन्।

के हो जापानिज इन्सेफलाइटिस?

यो लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण गराउने भाइरसजन्य रोग हो। यसले स्नायु प्रणालीलाई असर पुर्याउनुका साथै ज्यान समेत लिनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन्। सङ्क्रमित हाँस, कुखुरा, सुँगुर, बङ्गुर, घरपालुवा चरा र बकुल्लालाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ।

लक्षणहरू

टाउको दुख्ने | उच्च ज्वरो आउने | बेहोस हुने | सास फेर्न गाह्रो हुने | काम छुट्ने | पक्षघात हुने |

रोकथामका उपाय

लामखुट्टेको टोकाइबाट बच्ने (शरीर ढाक्ने कपडा लगाउने, झुलभित्र सुत्ने)| १२ महिना र छुटेमा ५ वर्षको उमेरमा बालबालिकालाई खोप लगाउने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *