हस्ताक्षर अभियान र मण्डले सेहेँ सिन्डी

आत्मानुशासन, आत्मचेतना र जनमानसको नैतिक जिम्मेवारीलाई प्रजातन्त्रको आधार मान्ने तथा यस धर्तीका अहिंसाका पुजारीका रूपमा ख्यातनाम महात्मा गान्धीले भनेका छन्, “प्रजातन्त्रको भावना बाहिरबाट थोपर्न सकिँदैन, त्यो भित्रबाट जन्मनुपर्छ ।”

छोराछोरीले राम्रो हेरचाह नगरेका कारण मानसिकरूपमा पीडित कति वृद्धवृद्धा हामी हाम्रै वरिपरि देख्छौं। सँगसँगै, असहाय वा परिवारबाट परित्यक्त त्यस्ता वृद्धवृद्धालाई आफ्नो घरमा राखेर अहोरात्र तिनको सेवा गर्ने मानिसहरू पनि हाम्रै वरिपरि छन्।

आफ्ना आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो भन्ने नजानेर हो पहिलो थरीकाले तिनको हेरविचार नगरेको? अवश्य नै होइन। त्यो कुरा उनीहरूले जानेका छन्, बुझेका छन्, तर त्यसलाई आत्मसात् गर्न सकेका छैनन्। जुन विचार मानिसको अन्तर आत्माबाट पलाउँछ, त्यसको अनुशीलन तथा अनुपालनमा ऊ स्वतः सक्रिय हुन्छ। तर, त्यही कुरा अरूले भन्दा उसलाई छुँदैन। दोस्रो थरीकालाई वृद्धवृद्धाको सेवा गर्नुपर्छ भन्ने भाव हृदयबाटै पलाएकाले उनीहरूले त्यो सेवा थालेका हुन्।

प्रजातन्त्रको कुरा पनि यस्तै हो। राम्रा-राम्रा भाषण सुनेर वा ठूला-ठूला ठेली पढेका भरमा कोही प्रजातन्त्रवादी हुन्छ भन्ने छैन। प्रजातन्त्रको मर्मलाई हृदयबाट स्वीकार गर्ने मात्रै प्रजातन्त्रवादी बन्न सक्दछ। हामी व्यवहारिक जीवनमा भन्छौं नि— फलानो फलानीको प्रेममा फँसेको छ। हो, प्रजातन्त्रवादी हुन पनि प्रजातन्त्रप्रतिको प्रेममा डुब्नुपर्दछ। मुखले प्रजातन्त्र-प्रजातन्त्र भनेर हुँदैन, प्रजातन्त्रको महिमालाई अन्तस्करणबाट स्वीकार गरिएको हुनुपर्छ। आचरणबाट त्यो व्यक्त भएको हुनुपर्छ।

राजा महेन्द्रको ओठैमा थियो ‘प्रजातन्त्र’ तर के उनी प्रजातन्त्रवादी थिए? उनको थेगो थियो ‘जनभावना’ र ‘जनचाहना’। के उनी जनभावना र जनचाहनाको कदर गर्थे? प्रजातान्त्रिक पद्धतिलाई मासेर नेपाली जनतामा सैनिक तानाशाही लादेका थिए। तर, उनी कति ढोँगी थिए भने आफूलाई विश्व समुदायले तानाशाह भन्ला भनेर पञ्चायती व्यवस्था नामको एउटा बुख्याँचा उभ्याएर त्यसका अगाडि ‘प्रजातन्त्रान्त्रिक’ शब्दको रामनामी ओडाएका थिए।

महेन्द्रले सत्ताच्युत गरेर कालकोठरीमा बन्दी बनाइएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला ‘नेपाल भनेको गाउँ हो। त्यसकारण नेपालको विकास भनेकै गाउँको विकास हो’ भन्नुहुन्थ्यो र प्रधानमन्त्री भएका बखत उहाँले योजना आयोगको बैठक कक्षको भित्तामा राजाको तस्बिरको मुनि हलो बोकेको किसानको तस्बिर राख्न र त्यसलाई हेरेर योजना बनाउन निर्देशन दिनुभएको थियो। त्यसबाट प्रभावित महेन्द्रले ‘गाउँ फर्क राष्ट्रिय अभियान’ नामको अर्को बुख्याँचा ठड्याए जो पछि गएर उनको पञ्चायत फालिनेमा एउटा कारक बन्न पुग्यो। मुलुक र जनताप्रतिको समर्पण बल गरेर आउने होइन, नक्कल गरेर आउने होइन, त्यो स्वतःस्फूर्त प्रस्फुटित हुनुपर्छ हृदयबाट र व्यवहारमा अनुदित हुनुपर्छ।

प्रजातन्त्रले मानिसलाई स्वतन्त्र र समान प्राणीसत्ताको रूपमा कबुल गर्छ। एक व्यक्तिमाथि अर्को व्यक्तिको कुनै र कस्तो हस्तक्षेपलाई प्रजातन्त्रले स्वीकार गर्दैन। एक प्रकारले “मेरो अस्तित्व मेरा लागि मात्रै” को हदसम्म मानिस स्वतन्त्र छ। यो एक हदको अराजकता हो र यसै अवस्थालाई सामाजिकीकरण गर्न हब्स, लक र रुसोहरूले आजभन्दा अढाई सय वर्ष पहिले नै दुई शतकको समय बौद्धिक परिशीलन गरेर सामाजिक अनुबन्धको सिद्धान्त प्रतिपादन गरेका हुन्।

प्रजातन्त्रले व्यक्ति-व्यक्तिलाई समान अधिकार प्रत्याभूत गर्दछ र उनीहरूबाट न्यूनतम कर्तव्यसमेतको अपेक्षा गर्दछ। “कसैको नाकलाई नछुने गरी मात्रै तिमी तिम्रो हात तन्काउन पाउँछौ” भन्ने विश्वप्रसिद्ध उक्ति यस सन्दर्भमा उल्लेख्य छ। हात तन्काउने आफ्नो अधिकार छ भनेर अर्काको नाक कुच्युञ्जेल हात तन्काउन पाइँदैन। अर्थात्, अर्को व्यक्तिको ऐकान्तिकतामा बाधा नपर्ने गरी वा उसलाई कुनै प्रकारको क्षति नहुने गरी मात्रै एक व्यक्ति आफ्नो मनोमानी गर्न स्वतन्त्र छ।

प्रजातन्त्र शासन प्रणाली मात्रै होइन, यो एक आदर्श जीवन पद्धति हो। यो राजकाजमा मात्रै लागु हुने होइन, घरभित्र पनि लागु हुन्छ, घर बाहिर छरछिमेकमा र समाजमा पनि लागु हुन्छ। यो बाहिरी श्रृङ्गार मात्रै होइन, यसलाई व्यक्तिले अन्तर्आत्माबाट स्वागत र स्वीकार गरेको हुनुपर्दछ। प्रजातन्त्रवादी बन्न सजिलो छैन। प्रजातन्त्रवादी बन्नु भनेको ब्रत लिनुजस्तो हो। स्वयंले आफूलाई आत्मानुशासनमा बाँध्नु हो।

ब्रत बस्दा मानिसले त्याग गर्छन्। आफूलाई ज्यादै मन पर्छ भने पनि त्यो दिन वर्जित गरिएको भोजनसमेतबाट परहेज गर्छन्। शाकाहारीले समेत आफूले दैनिक खाने गरेका कति खानेकुरा खाँदैनन्। त्यो पनि एक किसिमको त्याग हो। हो, प्रजातन्त्रमा पनि अरूलाई असर गर्ने भयो भने आफूले गर्न चाहेकोसमेत गर्नु हुँदैन। यो पनि एक प्रकारको त्याग हो। तर यो स्वतःस्फूर्त हुनुपर्छ।

प्रजातन्त्रका आधारभूत पक्षहरूमध्ये अभिव्यक्तिको स्वतन्त्रता एक हो। मानिस चिन्तनशील प्राणी भएकाले उसले आफ्नो वरिपरिको वातावरण, त्यसले पार्ने प्रभाव आदिका बारेमा हरदम जसो सोचिरहेको हुन्छ वा तिनका प्रति धारणा बनाइरहेको हुन्छ। यस्ता धारणा समाजका लागि ज्यादै उपयोगीसमेत हुनसक्छन्। त्यसकारण उसले सोचेको कुरा मर्यादापूर्वक उसले समाज सामु राख्न पाउनुपर्दछ। यसो गर्नमा कुनै बाधा-विरोध हुनु हुँदैन। तर, उसको विचारसँग मत बाझाउन भने सकिन्छ।

प्रसिद्ध फ्रान्सेली दार्शनिक भोल्टेयरको जीवनी ‘द फ्रेण्ड्स अफ भोल्टेयर’ की लेखिका इभेलिन बेट्रिस हलले भोल्टेयरको विचारशैलीका बारेमा लेखेको एउटा कथन संसारभर चर्चित छ। त्यसले भन्छ, “म तिम्रो विचारसँग सहमत छैन, तर तिमीले आफ्ना कुरा भन्न पाउनु पर्छ भनेर म आजीवन लड्न तयार छु ।”

माथिका यी उद्धरण र प्रसङ्गले प्रजातन्त्र के हो र त्यो मानिसका लागि किन अपरिहार्य छ भन्ने कुरा दर्साउँछ। हामीले लडेर ल्याएको लोकतन्त्र त्यसैका लागि हो। यो सजिलै प्राप्त भएको होइन। यसका लागि धेरैले ठूलो संघर्ष गरेका छन्। कैयौंले ज्यान नै दिनुपर्‍यो। सयौं आमाहरूको काख रित्तियो, धेरै चेलीहरूको सिउँदो पुछियो। हजारौं छोराछोरी टुहुरा भए। कति घाइते त अझै छन्।

यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भन्नुहोस्, सबैले लडेर ल्याएको हो। त्यसकारण यसमाथि सबैको समान हक छ। आज कोही ‘हामीले ल्याएको गणतन्त्रमा अरूहरू मोज गरिरहेछन्’ भनेजसो गर्छ भने त्यो शतप्रतिशत गलत हो। सात साल पूर्वका राणा, छयालिस पूर्वका पञ्च र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनका मतियारहरूको पनि यस व्यवस्थामा, त्यसलाई ल्याउन लड्नेहरू समान, हक छ किनभने उनीहरू पनि यही देशका नागरिक हुन्।

त्यसैले यो गणतन्त्रमा— ‘गणतन्त्र मान्दिनँ, राजतन्त्र नै चाहिन्छ’ भन्न पनि पाइन्छ। त्यस्तो लेख्न पनि पाइन्छ। ‘गणतन्त्र फालेर राजतन्त्र ल्याउँछौं’ भनेर आन्दोलन गर्न पनि पाइन्छ। तर, त्यो आन्दोलन शान्तिपूर्ण र विद्यमान कानुनले व्यवस्था गरेको परिधिभित्र हुनुपर्दछ। आन्दोलन हिंसात्मक भए त्यसलाई रोक्न सरकारले संयमपूर्वक बल पनि प्रयोग गर्न सक्छ। अश्रु ग्यास पनि प्रहार गर्न सक्छ तर त्यो म्याद गुज्रेको चाहिँ हुनु हुँदैन।

यति भूमिका बाँधेपछि अब यस लेखोटमार्फत उठाउन खोजेको मूल विषयतिर जाऔं। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र सदस्यहरू देशभर हस्ताक्षर अभियान चलाइरहेका छन्। उनीहरूको यो अभियान हालसम्म शान्तिपूर्ण, संयमित र अनुशासित देखिन्छ। तर, सत्ता गठबन्धन पक्षका केही नेता कार्यकर्तालाई रास्वपाको यो कार्यले पर्नुसम्मको पिर परेको छ। त्यसैले बेलाबखत उनीहरू आक्रामक रूपमा बर्बराउने गर्छन्।

उनीहरूको बर्बराहटले भन्छ: ‘यो कार्यले अदालतको मानहानि भयो। रास्वपा स्वतन्त्र न्यायालयप्रति जनतामा भ्रम सिर्जना गरिरहेछ। रास्वपा यो व्यवस्थाको विरुद्ध जनतालाई भड्काइरहेको छ’ आदि-आदि।

रास्वपा पक्षको भनाइ छ: ‘राज्यले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिरहेको छ। त्यसका विरुद्ध शान्तिपूर्ण रूपमा हामी जनमत निर्माण गरिरहेका छौं। हामी अदालतलाई नमान्ने पनि होइनौं र व्यवस्थाविरोधी पनि होइनौं। हामी हाम्रा सभापतिमाथि राज्यले साधेको प्रतिशोध विरुद्ध जनमत बनाइरहेका छौं।’

रास्वपाका नेता-कार्यकर्तालाई राज्यले रविमाथि राजनीतिक प्रतिशोध साध्यो भन्ने लाग्यो। (कि त्यस्तो लाग्न पनि पाउँदैन?) उनीहरूले आम जनतासमक्ष भने, ‘हामीलाई यस्तो लाग्यो। तपाईंहरूलाई पनि त्यस्तै लाग्छ भने हस्ताक्षर गरेर हामीसँग ऐक्यबद्धता जनाउनुहोस्।’ सर्वसाधारणदेखि गन्यमान्यहरू समेत निर्धारित स्थलमा गएर हस्ताक्षर गरिरहेका छन्। यसमा सत्ताधारीले टाउको दुखाउने किन?

सत्तापक्षको काम त सेवा प्रवाह गर्ने हो, सुशासन कायम गर्ने हो। विकास निर्माणको कामलाई गति दिने हो। अनियमितता, अन्याय, भ्रष्टाचार नियन्त्रणमा लाग्ने हो। दिनहुँजसो बहालवाला यो वा त्यो मन्त्रीमाथि भ्रष्टाचार र अनियमितताका आरोप लागिरहेछन्, त्यता ध्यान छैन।

पञ्चायतकालमा प्रजातान्त्रिकवादीहरूले आयोजना गरेको कविता गोष्ठीमा पाठ गरिने कवितासमेत सेन्सर गर्न मण्डले सरकारका कारिन्दा आइपुग्थे। प्रजातन्त्रवादीले रोपेका रूखका बिरुवासमेत उखेल्दै हिँड्थे। अराष्ट्रिय तत्व भन्दै सत्तोसराप गर्थे। कतै त्यही सेहेँ सिन्डी जागेको त होइन बुढानीलकण्ठ र बालकोटका गल्छेडातिर?

अन्यथा एउटा वैधानिक पार्टीले शान्तिपूर्ण तरिकाले आफ्नो पक्षमाथि अन्याय भयो भनेर जनतामा जान नपाउने? बोल्न नपाउने? जनताले अभिमत जाहेर गर्न नपाउने???


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *