हिमपातले भरिएको बाटो

रातभरि हिमपात भइरह्यो। एकनाशको हिउँवर्षाले निदाउन पनि सकिएन। एकातिर अनिँदो आँखा, कचपल्टिएका सपना तर बिहान हिमालसरी हिउँले ढाकिएका दृश्य हेर्न पाइने आशा। यसले निद्रा नलागे पनि भोलि बिहानको हिमसंसारमा चुर्लुम्मै डुब्ने धोको थियो।

भोलिपल्ट फेरि लामो बाटो हिँड्नु थियो। तर साँझको त्यो क्षण भने सधैं सम्झनामा रहने छ। हिमाल, हिउँ र मेरो अस्तित्वबीचको त्यो मौन संवाद अटल थियो।

यसरी हिमाली यात्रा गन्तव्यको यात्रा होइन रहेछ, यो त आत्माको यात्रासमेत हो। जहाँ थाकेको ज्यान, भोकाएको आँत र हुस्सुले ढाकेको हिमालले मलाई आफैँभित्रको यात्रामा समाहित गराइरहेको थियो।

वास्तवमा ‘हिउँले भिजेको साँझ’ एक गहिरो भावनात्मक र प्रतीकात्मक वाक्यांश हो। यसले कुनै शीतल, शून्य र संवेदनशील वातावरणलाई चित्रण गर्छ। सोंच्छु– यो वाक्यांश साहित्यमा विशेषतः कविता, निबन्ध वा कथा लेखनमा भावनात्मक र सौन्दर्यात्मक चित्रणका लागि प्रयोग हुन सक्छ।

यसको अर्थ र सम्भावित भावतिर म एकैछिन घोत्लिछु। प्राकृतिक सौन्दर्यः हिउँले ढाकेको साँझले एउटा शान्त, पवित्र र स्वच्छ वातावरणलाई सङ्केत गर्छ। साथै एकान्त र शून्यतामा पनि सौन्दर्यको मिठास भेटिने र त्यसले मनको गहिराइमा भएको एकान्त र मौनतालाई पनि प्रतिनिधित्व गर्ने विश्वास मेरो थियो।

यात्राका क्रममा आइपर्ने जीवनका चुनौतीहरू अनेक हुन्छन्। हिउँको चिसोले जीवनका कठोर परिस्थितिहरू र तिनले छोड्ने प्रभावलाई प्रतीकात्मक रूपमा बोध गर्न सकिन्छ। यही क्षण हिउँ पर्न थालेपछिको हिँडाइले मनमा नयाँ किसिको भाव उत्पन्न हुन्छ।

हिजोका चिसो साँझ। चिसोले शरीरमा टोकिरहेका पलहरू। हिमाली काखको यात्रा, जहाँ समय आफैँले आफ्नो गति हराएको जस्तो लाग्छ। म खुम्बुको एउटा सानो गाउँमा थिएँ। हिउँले ढाकेको भूमि, आकाशभरि छरिएका सेता बादल र टाढाबाट देखिने आमादब्लम शृङ्खलाको चमक, ती सबैले मेरो मनलाई अनौठो खालको शीतलता प्रदान गरिरहेका थिए।

हिमपात भइहेकै थियो। टुक्रा–टुक्रा भएर आकाशबाट झरिरहेका हिउँका कणहरू, हावासँग खेल्दै मेरो कपाल र अनुहारमा झर्दै थिए। तर यसले भिजाउने कमै हुने हुँदा हिउँले भिजेर हैरान हुनु पर्दैन रहेछ।

होटलभित्र पसेपछि चुल्होमा बलेको दाउराको न्यानोपन र अदुवाको मिश्रित चियाको बासनाले यात्राको अलिकति थकाइ मेटाइदियो।

हिउँ परिरहेको त्यो साँझले मानौं कुनै कथा लेख्दै थियो। बाहिरको सेताम्य पहिरनभित्र प्रकृतिले आफ्नो मौनता ओढेर बसेको थियो। मानिसहरू घरभित्र सर्दै थिए। चौंरी, झम्पो र घोडाहरू, हिउँमा भिजेर चुपचाप ध्यानस्थ थिए।

यतिबेला तिनकै पिठ्युमा गह्रौं भारीको बोझ थिएन। आरामले उघ्राइरहेका थिए। गोठालाहरूका भेँडाच्याङ्ग्र्राले पनि सेतो कम्बल ओढेझैँ देखिन्थे। ती दृश्यहरूले मलाई कुनै चित्रकारको ताजगी भर्ने क्यानभासझैं लाग्यो।

खुम्बु गाउँका मानिसहरूको कथा सुन्ने अवसर पाउनु आफैँमा एउटा विशेष अनुभव थियो।

एक वृद्धले भनेका थिए, ‘यो हिउँ हाम्रो जीवनको हिस्सा हो। यो हाम्रो सहयात्री हो, कहिले कठोर, कहिले प्रिय हुन्छ। हिउँ नपरे हाम्रो जीवन र प्रकृति नै ध्वस्त हुन पुग्छ।’

उनका ती शब्दहरूले हिमाली जीवनको कठिनाइ र सौन्दर्यलाई एकसाथ प्रस्तुत गरे। मैले उनका कुरा शब्द–शब्दमा टुक्राएर अर्थपूर्ण भावमा मनन गर्ने कोसिस गरें। मलाई लाग्यो– ‘वास्तवमा हिउँ पर्नु भनेको पर्यावरण सन्तुलनको सनातन प्रक्रिया पनि हो।

सायद, हिउँ परेको साँझले मेरो मनलाई धेरै कुरा सिकाइरहेको थियो। समय कहिलेकाहीं स्थिर हुँदा पनि त्यसमा गहिरो अनुभव लुकेको हुन्छ। ती क्षणहरूलाई आँखाले देख्न मात्र हैन, मनले महसुस गर्नुपर्ने रहेछ।

त्यो साँझको हिमपातले सम्पूर्णहिमाली भूभागमा नयाँ परिभाषा दिएको थियो। त्यसरी नै मेरो यो यात्रा पनि जीवनको कुनै नयाँ अध्यायले रङ्गिन बनायो। हिउँको त्यो मूक संवादले मेरो मनमा अमिट छाप छोड्यो। धेरै ज्ञान दिलायो। धेरै दृश्य देखायो।

भोलिपल्ट बिहान गन्तव्य छिचोल्न हिउँमाथि पाइला टेक्दै; अगाडि लम्किँदै गर्दाको अनुभव पनि रोमाञ्चक नै भयो। फेरि यसरी नै हिउँ परेको हेर्न र हिउँमा अघाउँजी हिँड्न कहाँ पाइन्छ र?

हिउँका सेता पर्दाले ढाकेको धरती। चारैतिरको सन्नाटालाई चिर्दै, चिसो हावाको सुसाइले कानमा कुनै प्राचीन लोकगीत सुसेल्दै थियो। त्यही उज्यालो हिउँमाथि मेरा पहिलो पाइला परे। जमिनले मलाई स्वागत गरेझैँ लाग्यो, मानौँ प्रकृतिले मलाई आफ्नो गोप्य कथा सुनाउन आमन्त्रण गरिरहेको छ।

अघिल्लो रातको बाक्लो हिउँदले बाटो छोपिदिएको थियो। तर, हिउँले बाधा हैन, एउटा होइन अनकों कलाकृतिहरू कोरेको थियो। सेताम्मे ठण्डीमा मेरो हरेक पाइलाले पनि अर्को नयाँ आकृति बनाउँदै थियो। मेरो जुत्ताको घर्षणले उत्पन्न आवाज, चिसोमा गरिने सानो सङ्घर्ष र हिउँको चिसोपन ती सबैले मलाई जीवनको गहिराइ बोध गराउँदै थिए। मेरो यो हिउँयात्रालाई प्रेमले सुम्सुम्याउँदै थिएँ।

आकाश खुला थियो। हिमालको टाकुराले पर क्षितिजसँग कुरा गर्दै थिए। मैले अगाडि हेरेँ– समयले मलाई कुर्ने कुनै लक्ष्य थिएन, यात्रा नै सबैथोक थियो। बायाँतिरको सानो खोलाले हिउँ पगालेर जीवनको प्रवाह व्यक्त गरिरहेको थियो । पाखाहरूमा उभिएका कुनै रुखहरू थिएनन्। बरु ठूला चट्टान थिए। हिउँले छोपेका पहाड र लेकाली पाटनहरू सबै हिउँको सेताम्मे साम्राज्यमा बिहानको न्यानो घाम ताप्न पर्खिरहेका थिए। हिउँको भारले थिचिएर पनि आफ्नो मौनता भंग नगर्ने दृढतामा थिए।

मेरो यात्रा भौतिक मात्र थिएन, यो आत्माको पनि यात्रा थियो। हिउँमाथिको पाइलाले मलाई सिकाउँदै थियो– जीवनको बाटो सधैं स्पष्ट हुँदैन। कहिलेकाहीँ आफैँले बाटो बनाउनुपर्छ। हिउँको चिसोले मेरो शरीरलाई स्तब्ध बनाए पनि, मेरो मनमा नयाँ विचारका बिजारोपण भइरहेका थिए।

अचानक, हिउँदको उज्यालोमा कुनै जङ्गली जन्तु उफ्रिँदै भाग्यो। त्यसको हलचलले मलाई झस्कायो। यसले जीवनको गति सम्झायो– जसरी प्रकृति स्थिर देखिन्छ, त्यसरी नै यसभित्र अदृश्य संघर्ष चलिरहेको हुन्छ।

मैले हिउँमाथि मात्र पाइला राखिरहेको थिइनँ, मैले आफ्ना सपनाहरूको मार्गमा पनि कदम चालिरहेको थिएँ। त्यहाँ कुनै गन्तव्य थिएन– यात्रा नै मेरो उपलब्धि थियो। हिउँमा हिँड्ने मेरो धोको बल्ल पूरा हुँदै थियो।

यसरी, हिउँमाथि पाइला टेक्दै, मैले अगाडि लम्किने साहस पाएँ। प्रकृतिको सेताम्मे संसारले मलाई जिन्दगीका सबै चुनौतीहरूसँग अगाडि बढ्ने प्रेरणा दियो। यो यात्रा एउटा कदमहरूको शृङ्खला थिएन, यो मेरो जीवनको एक अनुपम यात्रा–कथा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *