लिन्ली : जो दुई पटक जन्मिइन्
लिन्ली हप बोएमर नामकी बालिकाको कथा चमत्कार र साहसले भरिएको छ। यो अमेरिकाको टेक्सास राज्यको लुइसभिलकी लिन्लीको विश्मयकारी तर वास्तविक कथा हो।
कुरो के भने, गर्भावस्थाको १६ हप्तामा उनकी आमा मार्गरेट हकिङ्सलाई थाहा भयो– लिन्लीको मेरुदण्डको पछाडि पुच्छरको हड्डीमा ठूलो ट्युमर छ, जसले उनको मुटुबाट रगत चुस्दै उनको ज्यानलाई खतरामा पारिरहेको छ।
‘साक्रोकोक्सिजियल टेराटोमा’ नामक दुर्लभ ट्युमर उनमा पाइएको थियो।
यस्तो अबस्थामा डाक्टरहरुले अनेक सल्लाह दिए। केही डाक्टरले गर्भपतन गर्नु पर्छ पनि भने। टेक्सास चिल्ड्रेन्स फेटल सेन्टरका विशेषज्ञले भने २३ हप्तामा गर्भमै सर्जरी गरे।
त्यसबेला लिन्लीलाई आंशिक रूपमा बाहिर निकालेर ट्युमरको ९० प्रतिशत भाग हटाइयो। त्यति बेला उनको तौल मात्र १ पाउन्ड ३ औंस थियो। त्यसबेला उनको मुटु केही बेर रोकियो। तर डाक्टरले उनलाई बचाएर गर्भमै फर्काए अनि आमाको पेट सिलाइदिए।
यो उनको पहिलो जन्म थियो।
१२ हप्ता ‘बेड रेस्ट’ पछि ३६ हप्तामा लिन्लीको दोस्रो जन्म भयो। त्यस बेला उनको तौल ५ पाउन्ड ५ औंस थियो। जन्मको आठ दिनमा बाँकी ट्युमर हटाउन अर्को सर्जरी गरियो। ट्युमरले मेरुदण्ड र पेल्भिक मांसपेशीमा असर गरे पनि, फिजिकल थेरापीले लिन्ली बलियो बन्दैछिन्।
उनकी आमा भन्छिन्, ‘खराब समाचार आए पनि आशा नछोड्नुहोस्।’
लिन्लीको कथाले चिकित्सा विज्ञान र विश्वासले असम्भवलाई सम्भव बनाउन सक्ने देखाउँछ।
सारांशमा भन्नु पर्दा गर्भमा रहेको बच्चा निकालेर अप्रेसन गरेर फेरि आमाकै पेटमा राखिदिएर समय आएपछि जन्मिएकी भएर दुईपटक जन्मिएकी भनिएको हो।
घटना केही वर्ष अघिको भए पनि यसलाई ‘मेडिकल चमत्कार’ का रूपमा हेरिएको छ। र, अहिले पनि चर्चामा छ।
