सर्वोच्च शिखर पुग्न आरोहीको लर्को

काठमाडौं। यसपालिको सिजनमा ४२१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन्।

सगरमाथाको चुचुरोमा आरोही र तिनका सहयोगीले शुक्रबार साँझ डोरी टाँगेपछि यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार प्राविधिक काम सकिएसँगै अब अन्य आरोहीहरू पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्।

यसपटक हालसम्म सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोहीहरू चुचुरोमा पुग्ने सम्भावना रहेको जनाइएको छ।

विभागका अनुसार सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा दक्ष शेर्पा समूह खटिएको छ। कतिपय आरोहीहरू अभ्यासमा व्यस्त छन्।

मे १६ र १७ मा हिमपात हुने पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने लक्ष्यसहित उनीहरू अघि बढ्ने छन्।

यसपटक कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गर्ने तयारीमा छन्। यस्तै, टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने लक्ष्यसहित सगरमाथा क्षेत्र पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *