‘जनआक्रोस दलहरूप्रतिको असन्तुष्टि’

विराटनगर। राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले आन्दोलन गरिरहेका छन्। बिहीबार भएको पछिल्लो आन्दोलनका क्रममा काठमाडौंको केही क्षेत्र तनाग्रस्त बन्यो। हिंसात्मक गतिविधि पनि भएपछि कर्फ्यु लगाउनुपर्ने अवस्था आयो। प्रहरीसँग झडप हुँदा थुप्रै घाइते भए।

घर, भवन र सवारी साधनहरु जलाइए। एक जनाको प्रहरीको गोली लागेर मृत्यु भयो भने आन्दोलनकारीले गरेको आगजनीका कारण एक जना पत्रकारको जलेर मृत्यु भयो।

उक्त हिंसात्मक घटनापछि सरकारले केही राजावादीलाई पक्राउ गरेको छ। तोडफोड र आगजनीका घटनाको अनुसन्धान सुरु गरिएको छ। अहिलेको व्यवस्थाको विरोध गर्दै राजालाई पुनर्स्थापना गर्नुपर्ने माग गर्दै राजावादीहरुले दबाबमूलक आन्दोलन थाले पनि हिंसात्मक गतिविधि भएपछि धेरैले अनेक खाले प्रश्नहरु गरिरहेका छन्।

के अब राजा फेरि शक्तिमा फर्कन सक्लान्? किन राजावादीहरु फेरि सक्रिय भइरहेका छन्? अब के हुन्छ? फर्कलान् त राजा? यिनै सन्दर्भहरुमा केन्द्रित रहेर राजनीतिक विश्लेषक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक नन्द न्यौपानेसँग कुराकानी गरिएको छ।

राजा फर्कने, राजनीतिक दलहरुप्रति जनताको नकारात्मक धारणा जस्ता विषयमा हामीले प्राध्यापक न्यौपानेसँग जिज्ञासा राखेका थियौं। प्रस्तुत छ, उनको भनाइ जस्ताको तस्तै–

जनताको बीचमा विभिन्न कारणले आक्रोस बढिरहेको छ, त्यो आक्रोसलाई हिजो विस्थापित भएका राजाले म पनि यो अवस्थामा जनताको अपेक्षालाई पूरा गर्न सक्छु, राजावादीले जनताको भावना राजाले सम्बोधन गर्न सक्छन् भन्ने ठानेका हुन सक्छन्। तर मुख्य कुरा आम जनताले राजा खोजिरहेका छैनन्।

जनताले आफ्ना समस्याहरू समाधान गर्ने, दैनिक आवश्यकताहरू पूरा गर्ने सबल र सफल नेतृत्व खोजिरहेका छन्। अहिलेको घटना क्रमलाई त्यो रूपमा हेरिन्छ।

अहिले जनताको आक्रोसलाई आफ्नो पक्षमा परिवर्तन गर्न खोजिएको मात्र हो। राजालाई फेरि पनि ल्याउने होइन।

राजालाई स्थापित गर्न खोजिएको यो आक्रोस होइन। दलहरुले जनताको पक्षमा चित्तबुझ्दो काम नगरेको कारणले, दलहरुले जनतामाझ गरेका वाचा पूरा नगरेकाले जनताहरू दलहरुप्रति असन्तुष्ट बनेका हुन्। त्यही असन्तुष्टिलाई माध्यम बनाएर राजावादीले केही जनशक्ति बढाएको, जुलुस र सभाहरू गरिरहेका हुन्। यसको अर्थ कतिपय जनता सडकमा आए भन्दैमा राजतन्त्र फेरि ल्याउने भन्ने कुरा होइन।

राजतन्त्र फर्किने नफर्किने जनताको आन्दोलनको प्रभावमा भर पर्ने कुरा हो। केही समय अगाडि बंगलादेशमा जनताको आन्दोलन यस्तो अवस्थामा बढ्यो कि निर्वाचित सरकारले राजीनामा दिएर स्वदेशबाट पलायन हुने अवस्था देखा पर्यो। यस्तै खाले घटना श्रीलंकामा पनि भयो।

त्यस खालका उच्च जनविद्रोह भयो भने राजा फर्किने अवस्था आउन पनि सक्छ। अहिलेको आन्दोलन, विद्रोह राजतन्त्र स्थापित गर्नु भन्दा पनि दलहरु सच्चिनु पर्छ, दलहरु परिवर्तन हुनु पर्छ, दलहरुले जनताका अपेक्षा अनुसार काम गर्नु पर्छ भन्ने खालको आक्रोस हो।

हिजो राजतन्त्र रहँदा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेकाले विस्थापित हुनु पर्यो। अहिले देशमा राजतन्त्र आउने वातावरण बनिसकेको छैन। मूल रुपमा जोसुकै आए पनि जनताका अपेक्षाअनुसार काम गर्न नसके विस्थापित हुनुपर्ने अवस्था आउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *