विद्यार्थी हितका कुरामा जोड देऊ

यतिबेला क्याम्पसहरूमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको वातावरण छ। त्रिभुवन विश्वविद्यालयका धेरैजसो आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन भइसकेको छ। कतिपयमा भने विवादका कारण रोकिएको छ। रोकिएका क्याम्पसहरूमा पनि चाँडै निर्वाचन भएर विद्यार्थीका नेता चुनिने छन्।

युनियनहरुमा विद्यार्थीको हक हितका लागि काम गर्ने भनेर प्रतिवद्धता जनाएका प्रतिनिधिहरू छानिएका छन्। तीन महिने आन्तरिक परीक्षा नहुने, कलेजको पुस्तकालयमा किताब पर्याप्त मात्रामा नभएको, स्यानिटरी प्याडको व्यवस्था नभएको, छात्रावास सञ्चालनमा नरहेको, यातायातको व्यवस्था नभएको, चिकित्सालय व्यवस्थित रुपमा सञ्चालनमा नभएको जस्ता अनेक समस्या छन्।

यिनै समस्यालाई समाधान गर्ने भन्दै विद्यार्थी नेताहरूको सक्रियता यो बेला देखिएको छ। यस्ता समस्या निजी शिक्षण संस्थाहरूमा व्यस्थापकबाटै सम्बोधन हुँदै आएको छ। सरकारी भनिने संस्थामा भने समस्या समाधानमा तदारुकता देखाएको पाइँदैन।

सरकारी संस्थाहरूमा पनि समस्या सुल्झाउन नसकिने होइन। यसका लागि इमानदार प्रयास हुनु आवश्यक छ। यसमा विद्यार्थीहरूको हक हितका कुरा गरेर राजनीतिक पार्टीले बनाएका भातृ सङ्गठनहरूको सक्रियता पनि उत्तिकै जरुरी कुरा हो।

यसो गर्नका लागि ‘अति राजनीति’ भने उपयुक्त होइन। समस्या सम्बोधनमा शिक्षक वर्ग एक ढिक्का भएर लागे भने सहज हुन्छ। यसमा विद्यार्थी सङ्गठनहरू र युनियनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

विद्यार्थीकै प्रतिनिधित्व गर्ने विद्यार्थी नेताहरूले उनीहरूका हक, हितका लागि काम गर्दै समस्याबाट मुक्त गराउने प्रयास गर्नु पर्दछ। यसैको निहुँमा अनेक राजनीतिक वाद र विचार लाद्ने काम गर्नु हुँदैन।

शिक्षण संस्थाहरूमा धेरै राजनीतिक गतिविधि भयो भने पठनपाठन प्रभावित हुन्छ। विद्यार्थीमा निराशा छाउन सक्छ। त्यसैले यसमा ध्यान दिनै पर्छ । शिक्षण संस्थाहरू मूलतः शिक्षा हासिल गर्ने, ज्ञान लिने केन्द्र हुन् भन्ने बिर्सनु हुँदैन।

बढी राजनीति हुने गरेकाले शिक्षण संस्थाहरूमा गुणस्तरीय पढाइ नहुने गरेको गुनासो पुरानो होइन। यसैको असरले नतिजा पनि अपेक्षित रुपमा सन्तोषजनक हुन नसकेको पनि सत्य हो।

विद्यार्थी नेताहरूले गुणस्तरीय शिक्षालाई प्राथमिकताका राख्नुपर्छ। यसका लागि पहल र पैरवी गर्नुपर्छ। आवश्यकता र अवस्थाअनुसार ध्यानाकर्षणदेखि दबाबमूलक कार्यक्रम पनि गर्नुपर्ने हुन सक्छ।

स्ववियु निर्वाचनलाई नै हेर्ने हो भने केही विकृतिजन्य पक्षहरु पाइन्छ। राजनीति गर्नकै लागि मात्र भर्ना हुने गरेका घटना पनि देखिएका छन्। निर्वाचन लड्नकै लागि एक महिनाअघि कलेजमा भर्ना हुने कुरा यसैको प्रमाण हो।

यतिमात्र होइन ‘ब्याक पेपर’ दिनुपर्ने भन्दै निर्वाचनलाई लक्ष्य बनाउनेहरु पनि छन्। यी सबै राजनीति गर्ने मनसायले नै गरिने क्रियाकलापहरु हुन्, जुन गुणस्तरीय शिक्षाका लागि नकारात्मक असर गर्ने पक्ष हुन्।

विद्यार्थीमा नेतृत्व विकास हुनुपर्छ। राजनीतिक रुपले पनि अघि बढ्ने क्षमता पनि हुनुपर्छ। धेरैजसो समकालीन नेताहरु विद्यार्थी पृष्टभूमिबाटै आएका छन्। तर यस्तो अवस्था अहिलेको खुला अवस्थामा होइन। पहिले राजनीतिक गतिविधिमा बन्देज भएको अवस्था र दलहरुमाथि प्रतिबन्ध जस्तो बेलामा यसको बेग्लै महत्व थियो। पछिल्लो समय भने नयाँ पुस्ताका विद्यार्थीमा नयाँ खाले चेत पाइन्छ। त्यसैले पनि पहिलेको अवस्थामा जस्तै गर्नु उति सुहाउँदो कुरा होइन।

राजनीतिक पार्टीहरुले आफ्ना भातृ संगठनहरुलाई सकारात्मक गतिविधि र क्रियाकलाप गर्न प्रोत्साहित गर्नुपर्छ। आफ्नो विचार लाद्ने र जथाभावी गतिविधि गर्ने काम तत्काल रोक्नुपर्छ। विद्यार्थीलाई पढ्न दिनुपर्छ। उनीहरुको व्यक्तित्व विकास हुने खालका कार्यक्रम गर्न प्रेरित गर्नुपर्छ।

-गगन नुनिया / प्रशिक्षार्थी पत्रकार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *