संखुवासभाको मकालुमा देश-विदेशका स्रष्टा भेला हुँदै

विराटनगर। विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा ‘मकालु प्लाटिनम जुब्ली तथा दक्षिण एसियाली साहित्यिक-सांस्कृतिक महोत्सव’ हुने भएको छ।

संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमामा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ।

फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजन गरिरहेको मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए। उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।

स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो। ‘पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्दछ,’ उनले थपे, ‘कार्यक्रमलाई भव्य बनाउन पूरै संखुवासभा लागिपरेको छ। यो कार्यक्रम भव्य मात्रै होइन ऐतिहासिक हुनेछ।’

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समिति बनाइएको छ। महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *