आत्मा के हो ? मानिसको सेखपछि कहाँ जान्छ ?
आत्मालाई हामीले महसुस गर्न सकिन्छ ?
हामी प्रायः कसैको मृत्यु हुनेबित्तिकै ‘आत्मा उडेर गयो’ भन्ने धारणा बनाउँछौं । मानिसको सेखपछि साँच्चै आत्मा उडेर कतै जान्छ त ? गए कहाँ जान्छ ? यी विषयमा अनेक खाले तर्क र किंवदन्ती सुन्न, पढ्न पाइन्छ । यस्ता तर्क र किंवदन्तीका कारण ‘आत्मा’ रहस्यमय जस्तै लाग्न सक्छ ।
वैज्ञानिक दृष्टिले हेर्दा कुरा फरक छ । वास्तवमा, आत्मा भन्ने कुरा रहस्यमय नभएर एक प्रकारको बायोलोजिकल एनर्जी (विद्युतीय संकेत) हो ।
आउनुस् केही रोचक कुरा जानौं ।
पहिले यो सामान्य कुरा बुझौ–
हाम्रा घरमा भएका विद्युतीय सामग्रीहरू जस्तै बत्ती, हिटर, फ्रिज, वासिङ मेसिन, टिभी, कम्प्युटर र गाडी सबै बिजुलीले चल्ने यन्त्र हुन् । यी यन्त्रहरू बिना आजको आधुनिक जीवनशैली लगभग असम्भवजस्तै छ । तर के तपाईँलाई थाहा छ, मानिस स्वयं एक जिउँदो विद्यतुीय मेसिन हो नि ।
मानव शरीर एक बायोलोजिकल मेसिन
मानिस मात्र होइन, जनावर र बनस्पति पनि बिजुलीको शक्ति प्रयोग गर्ने बायोलोजिकल मेसिन हुन् । उदाहरणका लागि, हाम्रो शरीरमा हरेक गतिविधि—उठ्नु, बस्नु, बोल्नु, खानु, दौडिनु सबै हाम्रो मांसपेशी र मस्तिष्कको बीचमा भइरहेको विद्युतीय सन्देश आदानप्रदानकै कारण सम्भव छ ।
विद्युतीय सञ्चारको जादु
जब तपाईंले आफ्नो हात उठाउन चाहनुहुन्छ, तब मस्तिष्कले हाम्रो नर्भ सिस्टम (तन्त्रिका प्रणाली) मार्फत मांसपेशीहरूलाई एक विद्युतीय संकेत पठाउँछ । यो संकेत एकदमै सानो करेन्ट हो, तर यसले मांसपेशीलाई खुम्चन र फैलिन निर्देशन दिन्छ ।
उस्तैगरी, हाम्रो मुटु पनि विद्युतीय संकेतकै कारण धड्कन्छ । सिनोएट्रियल नोड (SA Node) भनेर चिनिने मुटुको ‘प्राकृतिक पेसमेकर’ नियमित रुपमा विद्युतीय संकेत उत्पादन गर्छ, जसले मुटुलाई पम्प गर्न लगाउँछ । यही नोडले विद्युतीय संकेत दिन छोडेपछि कृतिमरूपमा मुटुमा ब्याट्री राखिन्छ, जस्लाई हामी पेसमेकर भन्छौं ।
बिजुली नभएजस्तै जीवन पनि ठप्प हुन जान्छ । हाम्रो मस्तिष्क, हाम्रो सोच र प्रतिक्रिया सबै विद्युतीय गतिविधिमै भर पर्छ । मस्तिष्कमा करिब डट बिलियन नर्भ सेलहरू (न्यूरोन) छन्, र यी सबैको बीचमा भएको सन्देश आदानप्रदान एक प्रकारको विद्युतीय सर्किट हो ।
मानव र जनावर मात्र होइन, बनस्पतिहरू पनि विद्युतीय संकेतमा चल्छन् । तपाईँले सुन्नुभएको होला, मिमोसा (छुईमुई) बिरुवाले स्पर्श गर्दा पात खुम्चिन्छ । यो प्रक्रिया पनि तन्तुहरूमा उत्पन्न हुने विद्युतीय संकेतकै कारण हुन्छ ।
प्रकृतिको बिजुलीले भरिएको संसार
यसो हेर्दा, तपाईँको घरमा मात्र होइन, सारा प्रकृति नै एक प्रकारको विद्युतीय यन्त्रजस्तो देखिन्छ । बिजुलीको यो अद्भूत भूमिका बुझेपछि, हामी यसलाई केवल तार र यन्त्रसम्म सीमित नराखी जीवनकै आधार मानेर हेर्न सक्छौं ।
अन्ततः हामीले बुझ्नुपर्ने कुरा के हो भने, प्रकृतिको हर एक गतिविधि तपाईँको मुटुको धड्कनदेखि सूर्यको प्रकाशमा हरियो पातले गरिरहेको प्रकाश संश्लेषण– सबै विद्युतीय गतिविधिको अद्भूत नतिजा हो ।
हामी र प्रकृतिका हरेक जीवित र निर्जीव कुरा यो जादुमय ऊर्जाको अदृश्य जालोले एकआपसमा जोडिएका छौं । अब सोच्नुस्, यदि प्रकृतिको यो बिजुली गायब भए के होला ?
जब मस्तिष्कबाट निस्कने विद्युतीय संकेतहरू रोकिन्छन्, त्यसपछि शरीरका अंगहरूले काम गर्न छोड्छन् । यो प्रक्रियामा मुटु धड्कन बन्द हुन्छ, मांसपेशीहरू निस्क्रिय बन्छन्, र अन्ततः मानिसको जीवन समाप्त हुन्छ ।
यो कुनै जादुमय घटना होइन, न त कुनै आत्मा उडेर गयो भनेर व्याख्या गर्नुपर्ने रहस्यमय कुरा नै हो । आत्मा भनेकै ती विद्युतीय संकेतहरू हुन्, जो हाम्रो शरीरका सबै गतिविधिहरू नियन्त्रण गर्छन् । हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण प्रणाली, नर्भस सिस्टम, विद्युतीय संकेतकै माध्यमबाट चल्छ । जब मस्तिष्क र नर्भ नेटवर्कले सन्देश पठाउन रोकिन्छ, तब शरीरका अंगहरूले आफ्नो काम गर्न सक्दैनन् ।
आत्माको वैज्ञानिक व्याख्या
हामी प्रायः मर्नेबित्तिकै ‘आत्मा उडेर गयो’ भन्ने धारणा बनाउँछौं । तर वास्तवमा, आत्मा भन्ने कुरा रहस्यमय नभएर एक प्रकारको बायोलोजिकल एनर्जी (विद्युतीय संकेत) हो । जुन दिन यो संकेत उत्पादन हुन छोड्छ, मस्तिष्क मृत मानिन्छ । जब हामी ‘ब्रेन डेथ’ मा पुग्छौं, मस्तिष्कले कुनै संकेत पठाउन सक्दैन ।
सम्पूर्ण अंगहरू काम लाग्ने भए पनि यस्तो अबस्थामा मानिस मर्दछ । मष्तिस्कको संकेत आइरहेको छ तर अंगहरूले काम गर्न सकेनन् भने मात्र अंगहरूको उपचार गरिन्छ, फेरिन्छ वा कृत्रिम रूपमा चलाइन्छ ।
जीवनको अन्तिम क्षण
जुन दिन मस्तिष्कले यी संकेतहरू पठाउन बन्द गर्छ, त्यो दिनलाई मृत्यु भएको मानिन्छ । यसलाई सरल भाषामा भन्ने हो भने मानिसको शरीरमा विद्युतीय संकेतहरू बन्द हुँदा मर्छ । कुनै आत्मा शरीरबाट ‘उडेर जाने’ जस्तो कुरा हुँदैन ।
यो व्याख्या विज्ञानको आधारमा वास्तविक जीवनको तथ्य हो । यसले हाम्रो जीवन र मृत्युको प्रकृतिलाई अझ स्पष्ट रूपमा बुझ्न सहयोग पुर्याउँछ । त्यसैले आत्मा भनेकै मस्तिष्कको ऊर्जा हो, र मर्नेबित्तिकै यो ऊर्जा बन्द हुन्छ।
-लेखक एक वैज्ञानिक तथा हरित सहर अभियानका अगुवा सामाजिक अभियन्ता हुन् ।
