देखासिकी नगरी उल्लासपूर्वक मनाऔँ दसैँ
शक्ति उपासनाको महान पर्वको रमझम सुरु भइसकेको छ । नेपाली मौलिक चाडपर्वहरुमध्ये सबैभन्दा ठूलो मानिने दसैँका अवसरमा नवदुर्गा भगवतीको पूजा अर्चना र आराधना गर्ने परम्परा छ ।
असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरञ्जन गरेर मनाइने दसैँमा दशमीलाई विशेष महत्व दिने गरिन्छ ।
दसैँ मनाउन टाढाटाढा रहेकाहरु आफ्नो मूल थलो फर्किरहेका छन् । विदेशबाट पनि घर फर्कनेहरुको संख्या उल्लेख्य छ । आफन्तबीच भेटघाट, रमाइलो, दुःखसुख साटासाट गर्ने बेला हो यो । विगतका कमजोरी सुधार गर्ने अनि सम्बन्धमा अझ प्रगाढता ल्याउने अवसर पनि हो यो ।
सबै पुस्तालाई एकै सूत्रमा बाँध्ने मौलिक पर्व दसैँ भन्नासाथ बालबालिकादेखि वृद्धवृद्धासम्म उत्तिकै उत्साहित हुन्छन् । त्यसैले यो पर्वले सबैलाई गाँसेको छ । परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गर्ने यो पर्वप्रति सबैखाले समुदायको आकर्षण रहने गरेको छ । यसले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने काम गर्छ ।
पर्वको उल्लासमा केही कुरा ख्याल गर्नुपर्छ । देखासिखीमा अनावश्यक खर्च गर्ने प्रवृत्ति राम्रो मानिँदैन । गच्छेअनुसार खर्च गर्ने बानीले व्यक्तिमात्र होइन, परिवार, समाज र समग्रमा मुलुकमै सकारात्मक प्रभाव पर्छ । त्यसैले सबैले यसमा ध्यान दिनु उत्तम हुन्छ ।
चाड पर्वका बेला चोरी, लुटपाट जस्ता आपराधिक घटना बढ्ने गरेका छन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटना लगायतका घटना र अपराध बढी हुने गर्छ । त्यसैले सुरक्षाको कुरालाई हेलचेक्र्याइँ नगरी गम्भीरतापूर्वक लिनुपर्छ ।
सुरक्षा निकायले पर्वका लागि विशेष योजना कार्यान्वयन गर्छन् । यसमा नागरिकको पनि साथ र सहयोग हुनुपर्छ । आपराधिक मनोवृत्तिका मानिसहरुलाई निरुत्साहित गर्न सबैको सामूहिक प्रयास प्रभावकारी हुन्छ ।
यसपालि मनसुनको उत्तरार्द्धतिर बाढीपहिरोका कारण मुलुकमा व्यापक धनजनको क्षति भयो । यसले हरेक नेपालीको मन कुँड्याएको छ । यो दुःखका बेला आवश्यक परेकाहरुलाई सहयोग गर्नुपर्छ ।
अबका दिन दसैँ र त्यसपछिका तिहार, नेपाल सम्बत्, छठ जस्ता पर्व लगातार आउँदैछन् । रमाइलो गरौँ । मौलिक संस्कृतिमा रमाऔँ । नयाँ पुस्तालाई यस्ता संस्कार र संस्कृतिबारे जानकार बनाऔँ । दसैँका अवसरमा सबै शुभचिन्तकहरुमा मंगलमय शुभकामना ।
