तल्लो अरुण आयोजना प्रभावितका लागि एक अर्ब ४० करोड मुआब्जा

संखुवासभा । संखुवासभामा निर्माण हुने ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावितका लागि एक अर्ब ४० करोड मुआब्जा वितरण गरिने भएको छ ।

उक्त आयोजनाले २ सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको निर्माणमा संलग्न सतलज कम्पनीका सिइओ अरुण धिमानले बताएका छन् । आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ ।

आयोजनाबाट चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने देखिएको हो ।

सरकारले तले अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत उत्पादनपछि निकास हुने पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो ।

सतलजले प्रस्ताव गरेको उक्त आयोजना पुनर्वास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने जनाइएको छ । यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा छ हेक्टर अधिग्रहण हुने उल्लेख गरिएको छ ।

पाँच वर्ष निर्माण अवधि भनिएको उक्त आयोजनाको लागत ९२ अर्ब ६७ करोड रहने अनुमान गरिएको छ । आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत निःशुल्क पाउनेछ । बाँकी विद्युत भारत निर्यात हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *