नेपालको अर्थतन्त्र ‘सुधारोन्मुख’
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३ दशमलव ९ प्रतिशतभन्दा बढी हुनेछ ।
एडीबीले आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुलगार्हस्थ उत्पादन बढ्ने जनाएको छ ।
‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै सामान्य मनसुनसँगै समयमै धान रोपाइ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि सफल हुने एडिबीले जनाएको हो । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने जनाइएको छ ।
यस्तै, पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवालगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ ।
