सर्जकहरूले सम्झिए जनआन्दोलन-२०४६

काठमाडौं । साहित्यिक सर्जकहरुले आज ‘चैत ३’ को सम्झना गर्दै कार्यक्रम आयोजना गरे । २०४६ साल चैत ३ गते राजनीतिक परिवर्तनका लागि गरिएको आन्दोलनको समर्थनमा सर्जकहरु प्रदर्शनमा उत्रिएका थिए ।

त्यस बेला पञ्चायती व्यवस्थाको अन्त्यको आह्वान गर्दै कवि लेखकहरूले मुखमा कालोपट्टी बाँधेर काठमाडौँको त्रिचन्द्र कलेजको सरस्वती सदनमा धर्ना दिएका थिए ।

युद्धप्रसाद मिश्र, पारिजात, बाशुशशि, कमल दीक्षित, आनन्ददेव भट्ट, बेन्जु शर्मा, रामेश, अशेष मल्ल, रायन लगायत पुराना र नयाँ सयौँ लेखक कलाकारहरू सहभागी भएको धर्ना सुरु हुनेबित्तिकै प्रहरीले धेरै लेखक कलाकारहरूलाई गिरफ्तार गरेको थियो ।

धर्ना र गिरफ्तारीको समाचार देशविदेशमा फैलिएपछि आन्दोलनले नयाँ ऊर्जा प्राप्त गरेको थियो । आन्दोलनमा विभिन्न पेशामा आबद्ध मानिसहरूको सहभागिता व्यापक भएको थियो ।

आन्दोलनले ऐतिहासिक जनआन्दोलनको रूप धारण गरेको थियो । अन्त्यमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक बहुदलीय व्यवस्थाको स्थापना गर्न ४६ सालको जनआन्दोलन सफल भएको थियो ।

सोही दिनको सम्झनामा आयोजित कार्यक्रममा कविहरू अशेष मल्ल, अमर गिरी, अनिता लामा, कर्णाद महर्षी, जगदीशचन्द्र भण्डारी, नन्दु उप्रेती, पुरुषोत्तम सुवेदी, भुवन ढुङ्गाना, मातृका पोखरेलले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

यसैगरी, मित्रलाल पज्ञानी, रघु पन्त, रजनी ढकाल, राजव, राजेन्द्र शलभ, विमल निभा, विष्णुविभु घिमिरे, विवश वस्ती, डाक्टर सरोज धिताल, सुलोचना मानन्धर, स्नेह सायमी, हरिगोविन्द लुइँटेल कविता वाचन गरेका थिए ।

धीरेन्द्र प्रेमर्षी, गंगा कर्मचार्य पौडेलले गजल प्रस्तुत गरेका थिए । चैत ३, २०४६ को कार्यक्रममा सहभागी लेखक कलाकार सहितका स्रोताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कवि स्नेह सायमीले २०४६ चैत ३ को आन्दोलनको चर्चा गरिएको थियो ।

साहित्यकार एवम् प्रतिनिधिसभा सदस्य, एमाले साहित्य, कला तथा संस्कृति विभागका इन्चार्ज रघुजी पन्तले चैत ३ लाई सम्झनु पर्ने आवश्यकता माथि प्रकाश परेका थिए ।

कार्यक्रमको संचालन विभागका सचिव राजेश थापाले गरेका थिए । कार्यक्रमका बारेमा चर्चा गर्दै पन्तले राजनीतिक पार्टीहरू आआफ्नो भिन्न भिन्न बाटोमा हिँडिरहने भए पनि लेखक कलाकारहरू हिँड्ने बाटो एउटै हुने बताए ।

देश, जनता र समयको आवश्यकता परिपूर्तिका लागि वर्तमानमा र आगामी दिनमा पनि लेखक कलाकारहरू एउटै बाटोमा हिड्नु पर्ने विचार पन्तले व्यक्त गरेका थिए ।

नेकपा एमाले संस्कृति विभाग र राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष कलाकार प्रेमनाथ अधिकारीले गरेका थिए ।

यसैगरी, अमृत खाती, लक्ष्मी गुरुङ र सुसेला परिवारका रन्जन बाबुलगायत कलाकारहरूले गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित लेखक कलाकार र अन्य सम्पूर्ण स्रोतालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कार्यक्रम आरम्भ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *