दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल

 

विराटनगर । कोशी प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग फोन संवाद गरी प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

नेपालबाट बंगलादेशमा दुग्धजन्य पदार्थ निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् ।

दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होलीडे’ को अवस्था सिर्जना हुने गरेको छ । दूधबाट उत्पादित घ्यू र अन्य पदार्थले उचित बजार पाउन सकेको छैन ।

प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दूध किन्न छाडेका छन् । किसानलाई एक वर्षदेखि दूधको भुक्तानी दिन पनि सकेका छैनन् ।

दुग्ध विकास संस्थानअन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले बताए ।

किसानले दूध उत्पादन बढाएको अवस्थामा दूध र दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले बंगलादेशका लागि नेपाली राजदूत भण्डारीलाई दुग्धजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

राजदूत भण्डारीले बंगलादेशको ‘कमर्सियल कमिटी’ मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *