सटके मेला (कविता)

(थाहा छैन अहिले,
सन्चो–बिसन्चो कस्तो छ?
यादहरुका पत्रहरुमा
लुकिरहे जस्तो छ !)

०००
अकस्मात गुञ्जियो…

‘भोलि त मङ्सीरे पुर्ने है
जाने होइन सटके मेला ?
पोहोर त रमाइलो भा’थ्यो
सबैलाई खबर नि गर है चुम्मे’ !
निम्बुरे कान्छाको आवाज
तीनपल्ट गुञ्जियो गैह्रीको भित्तामा !

अतीत उवाचः…

सम्झेर ल्याउँदा मनै फुरुङ्ग भो
हेर्दा हेर्दै धानका बिटाहरु
गैह्रीको खलेगह्रामा कुनिउ बन्दै गए
हार मिलेका गह्राहरु साँच्चै सुन्दर देखिए
कुनै शिल्पीको बेजोड बुट्टाझैँ
चाम्रेको खाजा खाएपछि
ठडियो कुनिउको चुच्चे गजुर
अनि गुञ्जियो एकफेर खले भाका
सायद असारको माना मुरी बनाएको
खुशीको जनाउ थियो त्यो !
घामले चुली नकाट्दै
उकालियो खेतालाको लर्को
पसिना पुछ्दै,
त्यही पसिनाले थकाई बगायो !
मन साँच्चै रोमाञ्चित छ…
किनकि,
आज सम्साँझै सटके मेला झर्नु छ
दुःखका भारीहरु उतैतिर बिसाउनु छ
अनि पालमका भाकाहरुसँगै
मायामा माया मिसाउनु छ एकफेर ।

आज उधूम तन्नेरीझैँ लाग्यो
पोहोर साल भन्दा ‘ह्याण्डसम’ हुनु छ
रिठ्ठाको बोक्रा दलेर
तितेपातीको पात धसेर
नुहाइयो नौले धारामा
जाँते ढुङ्गामा रगेडियो हात खुट्टा
चमेलीको तेलले मगमगायो शरीर
तोरीको गुन्द्रुरुकसँग
माडभात खाइवरि,
खाँडीका दौरा सुरुवाल
कालो कोट ढाकाको टोपी
र उस्तै गलबन्दीमा सजिएर
चकमक र झुलोसँगै
गोजीमा राखियो सालपाते बिँडी
अनि पाँच लाँक्रा उखु काँधमा राखेर
साइसाई सुइसुई वारिपारि…!
रातेको बगरमा भेट हुने वाचा
ओरालो लागियो भारेडाँडाको बाटो
सटके मेला भर्नलाई ।

आदाङ्बे सेवारो !
थेबाःको सेउली डेरामा पुगियो
शरीर चाउरिए पनि मनको साह्रै तन्नेरी
मुडाको धुनी जगाएर
आफ्नै उमेरका दौतरीसँग
उहिलेका कुरा गर्दै छन्
काली दहका तिते माछाको स्वादमा
जिब्रो फड्कार्दै…पुलुक्क येता हेरे–
‘बस है मेन्छे आलितिर
यस्तै छ मेलाको बास !
कि मेला भर्न जान्छौ पहिले?’
जूनको मन्द उज्यालोमा
सटके बगर टल्कियो
मेलाको खल्याङमल्याङ सुनियो
उलूलूलूलू…!!!
सिमखर्के साहिँलो कुर्लियो
भाङटारको भित्ता गुञ्जियो
सायद तन्नेरीहरु मेलामा
आइपुगेको जनाउ थियो त्यो ।

आम्मामा के साह्रो चिसो !
पुवाखोलाको एकनास सुसाईसँग
छिन्टापुले पठाएको शीताङ्ग सिरेटो
गुरधुमडाँडाको आड नहुने हो त
उडाइलाने थियो होला त्यो सेउली डेरा
निभाइ जाने थियो होला धिपधिपे बत्ती
तर पनि बेपर्वाह जस्तै छन्
तन्नेरी मनहरु
जूनेली रात र रोमाञ्चित साथहरुले होला
जूनकिरीको लर्काे पाखैभरि छ
मान्छेका हुलहरु बाक्लिदै छन्
रौसिँदै छन् तारुण्य जनहरु
कोई यता कोई उता
बज्न थालेका छन् च्याब्रुङका तालहरु
खुल्न थालेका छन् पालमका भाकाहरु
कतै जुहारीका होडहरु
सायद हामी गाउँलेका लागि
सटके मेला
आज उत्सव भन्दा नि ठूलो छ !
नहोस् पनि कसरी
बाह्रै गाउँको सुख फिँजाउने
माया मिसाउने
अनि दुःख बिसाउने
एउटै मझेरी भएको छ
पुवा र सटके दोभान ।

हे पुवामाई !
बगाइदेउ यी दुःखका भारीहरु
रसाइदेउ सुखका पहाडहरु
जुराइदेउ मायाका साथहरु
रङ्गाइदेउ जीवनका ‘प्लट’ हरु
गुरधुमडाँडालाई साक्षी राखेर
अनन्त कोटि सेवा र श्रद्धा छ तिमिलाई !
गुञ्जिरह्यो… गुञ्जि नै रह्यो !
बिहानी पख ।

किर्किटी र सप्तऋषि तारा
अनि तीन ताराहरु बिलाउँदै गए
उज्यालोको लप्कोसँगै !
घामका मधुर किरणहरु सोझिए
सिद्धिथुम्का चुलीमा
पुवामाईको दर्शन पछि
यता उता हेरे,
मेलाको भीड चारैतिर चाहारे
बगरका छेउकुना अनि
थेबाःको सेउली ‘डेरा’ सम्मै नियाँले
अहँ फेला परेनन्…
सँगै मेला भर्न आएको निम्बुरे कान्छो
अनि सिमखर्के साहिँलो
मेलाको चटारो बढ्दै जाँदा
ओडारे कुक्क्वा कम्मरमा गलबन्दी कसेर
थेबाःको डेराबाट तल झरे
खबर फैलिसकेछ–
निम्बुरे कान्छो र सिमखर्के साहिँलाले
सिमपानी तिरका खै कसलाई हो कुन्नि
भालेको डाँकसँगै राते कटाई सके अरे ।
उफ्…!
हुल छुट्टिएपछि
म चाहिँ येता
बेचैन छु…
बिताउनु छ अझै एकदिन एकरात
सटके मेलातिर
केही पो भैहाल्छ कि?

सटके मेला उसैगरि चलिरह्यो
चलि नै रह्यो
आशाको डोरी लम्ब्याउँदै…
भोलिपल्ट झिसमिसेमा
मायाले डाँडो नकटेसम्म !
अब काट्नु छ एक्लै
भारेडाँडाको उकालो
बिछोडको लठ्ठी टेकेर…


प्रतिक्रिया

3 thoughts on “सटके मेला (कविता)

  1. आज सम्साँझै सटके मेला झर्नु छ
    दुःखका भारीहरु उतैतिर बिसाउनु छ
    अनि पालमका भाकाहरुसँगै
    मायामा माया मिसाउनु छ एकफेर । Well said

  2. साह्रै जीवन्त कविता भाई !! मेला बजारको पुनर्ताजगी गरायौ यार 💕

Leave a Reply

Your email address will not be published. Required fields are marked *