फुल्टिन र आरनको सङ्गीत

उ उज्यालोसँग झन् डराउँछ !

भालेको डाकसँगै
सुसाइ रहेका खोलाहरु
मलिन सुस्ताउन थालेपछि
आँगन छेवैको कटेरोमा
आरनको सङ्गीत गुञ्जिन थाल्छ
स्कूलबाट बचाएर ल्याएको
अन्तिम पन्नामा
उ आफ्नो गृहकार्य गर्न थाल्छ
लेख्नुसँग भन्दा पनि उसलाई
अचेल शब्दको शहर बनाएर
अरुसँगै अघिल्लो लहरमा उभिनुछ
अर्थात्, गुरुले निमोठ्ने कानका
जर्नीहरु अरु धेरै चर्काउनु छैन
किनकि उसलाई
अध्यारोसँग भन्दा पनि
उज्यालोसँग डराउने बानी परेको छ ।

उ निर्जिव अक्षर लेख्छ !

उसले गर्ने गृहकार्यहरुमा
शब्द र भावहरु फरक फरक हुन्छन्
शब्दहरुमा त पुतलीहरु नाच्छन्
चराहरु उड्छन्, फूलहरु मगमगाउँछन्
नदीहरु कलकल बग्छन्
आकासको सौम्य संसार
र, रङ्गीचङ्गी दुनिँया जगमगाउँछन्
फुल्टिनका निबहरुबाट
जसै जसै निस्कन्छन्, लेखिदै जान्छन्
सायद लाग्नु पर्ने हो–
यो भन्दा सुन्दर शब्द बगैंचा
कुनै र कहीँ पनि छैन यो संसारमा
तर, कापीका पन्नाहरुमा
जति जति मसी लतपतिँदै जान्छन्
शब्दहरुको जङ्गलभित्र
आरनका तीखा आवाजहरुले
उसलाई अर्कै दुनिँयामा घचेटिदिन्छ
शब्दहरु चित्रबाट अलग भई जान्छन्
रङ्गहरु खुइलिएर जान्छन्
उड्दै गरेका चराहरु
प्वाँखहरुसँगै भूइँमा खस्छन्
कालो बादल मडारिन्छ आकासमा
रङ्गहरुलाई औंसीले छोप्छ
मन ढुङ्गाझैँ कठोर बन्छ
शब्दहरु पनि निर्जिव बन्छन्
सायद, शब्द र सङ्गीत
अलग किनारमा उभिएका छन् ।

तर उसले लेख्न छाडेन !

लेख्दा लेख्दै जब
अन्तिम दुई रेखाहरु नजिकिन्छन्
विचित्रको बैचैनीले पिरोल्छ उसलाई
मानौं अन्तिम पृष्ठ
कहिल्यै नछिचोलिउन् !
उसको चाहना थियो–
हरेक बिहानी उषाका किरणसँगै
आरनको प्रिय सङ्गीत सुहाउने
कोरिउन् शब्दहरु ती कागजमा
कुँदिउन् उस्तै गरी
जीवनका प्लटहरुमा पनि
र, घन्किउन् कन्दराहरुसम्म
कहिले चुलितिर घाम झुल्काउन
उडेका भँवराहरुसँगै गुनगुनाउँछ
फूलसँगै नाचेका पुतली हेरेर
फेदीका चराहरुसँगै चिर्बिराउँछ
तर, उसले फेरिरहेको श्वास
र ओठ छिचोलेका शब्दहरु
हृदयको लयमा अडिएका छैनन् अझै
सायद, शब्द र भावहरु
बराबर छैनन् उसका लागि
हार्नु हुँदैन– थाहा छ उसलाई
हार मानेर जीवन चल्दैन यहाँ ।

उ जबरजस्ती उठ्न खोज्छ !

धुँवाका काला डल्लाहरुसँगै
टुकीको सलेदो सुक्दै जान थालेपछि
एक छिन सुस्ताउन खोज्छ उ
र, पल्टिन्छ खोस्टाको सिरानीमा
उसका मनहरु सपना बन्छन्
झिसमिसे उज्यालिदै जाँदा
उसका ओठहरुबाट
आफसे आफ शब्दहरु निस्कन्छन्
क्रान्तिकारी शब्दहरु
जसरी राप र तापले सेकिएका
फलामका पाताहरु आरनमा
धारिला औजारहरु बन्दैछन्
बिउँझियो घनको आवाजसँगै उ
बिउँझिदा घामको किरण
मझेरिसम्मै पुगिसकेको छ
कलम उसकै औंलामा च्यापिएकै छ
सोच्छ– अन्तिम धर्काहरुले पनि
पर्खिरहेका छन् उसैलाई
र, त्यही लेखियो मान्छेको गीत
अनि भरियो जीवनको सङ्गीत ।

मान्छे मान्छे के बराबर हैन र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *