कुरुस : जीवन

साँझ बिछ्यौनामा पल्टिरहेको देखी
गर्भले सोच्यो म सक्दिन थाम्न अझ
घाम त आराम गर्न गैसक्यो
अब मेरो पनि पालो,
नयाँ पालुवाको आवाज
गोठका भित्ताहरुले स्वीकारे
अचम्म मान्दै हेरिरहे
बेजुवान घरपालुवाहरुले,
कति पहर बितिसकेको थियो, पत्तो थिएन
उसको जन्म समयबिहिन अँध्यारोले खाइदियो
घडीका सुईहरु उसले देखिनन्
बस् छेवैमा निर्जिव लडिरहेका थिए कुरुसका सुईहरु ।
ऊन बुन्दाबुन्दै बुनिनन् उनले
आफ्नो जीवनका धर्काहरु
कुरुसले त केवल ऊन मात्र बुन्छ
जीवन के ले बुन्छ कुन्नी ?
टाढिएर जाने आफ्नाभन्दा
यही औंलामा बसिरहने कुरुस प्यारा
कुरुसले त सधैँ मेरो भावना बुझ्छ
के थाहा, आफ्नाहरु होलान् कती अफ्ठ्यारा
कति आनन्दमयी छ कुरुसको स्पर्श
कसले पो सम्हाल्ला र यी हात
यही कुरुस मेरो मित हो, खेलौना यिनै
एउटा सुई बेहुला, अर्को बेहुली ।
आमा कुरुस चलाउँदाचलाउँदै बित्नुभयो
कुरुससँगै चितामा बिदा गरियो उहाँलाई
तर जलेको छैन छोरिको मन, कुरुसमात्रको साथ पाउँदा
जल्ने त निस्प्राण हुँदा मात्र हो ।
गोठभित्र जन्मिएकी उसको
मन पनि गोठ नै भैसकेछ
गोठमा घरपालुवाहरु थुनिन्छन्
मनमा अँध्यारा इच्छाहरु,
कति वर्ष पुगिन्
उसलाई रत्ति पत्तो छैन
हातका कुरुसहरु भने
ठ्याक्कै १६ वर्ष पुगेछन् ।
उ दिनभरी ऊन बुन्छिन्
राती बिरलै सपनाहरु
के बुन्न सक्थिन् र उसले
आँगनदेखि कता कता जाने गोरेटो, घुम्ती अनि बाटाहरु,
कुरुसजस्तै लुरेसँग उसको लगनगाँठो कसियो
लुरेले गर्भमा पनि कुरुस नै राखिदियो
लुरे दिनभरी गाउँ डुल्छ
उता दिनभरी उसको हातमा कुरुसमात्र घुम्छ,
केही याम बिते
गोठमा अर्को पालुवा पलायो
त्यो पालुवाको सालनाल
कुरुसले बाँधेर काटियो ।
पालुवा पलाउँदै गर्दा
एक रात भयानक पानी दर्कियो
लुरे भिज्दै आयो मातेर
बजार्न थाल्यो मुड्की नयाँ पालुवाको सर्जकमाथि,
कुरुसको नरम स्पर्श सधैँ पाएकी
सकिनन् सहन खस्रो बज्र
रोपिदिइन् कुरुसका भालाहरु
लुरेको मुटु छेड्नेगरि,
ढल्यो लुरे रगतको धारा बगाउँंदै
सधैं कालो रंगसँग रमाएकी उ
सकिनन् रातो खोलो देख्न
ढलिन् कुरुस झैं निस्प्राण ।
नयाँ पालुवा छाडियो
नयाँ जोर कुरुससँगै ।
सुन्दर रचना, गहकिलाे र मार्मिक भाव । कवि ज्यूलाइ नमन ।