युवा बनूँ कि नबनूँ (कविता)

अनुक्रम काफ्ले
प्रभातको लालित्य छचल्किएर
झ्यालको छिद्रबाट भित्रिएका
आदित्यमय धर्साहरुले
टल्काएका सपनाहरु
अघि बढ्दै बढ्दै जाँदा
कति ओइलिन्छन् तापले
कति खुइलिन्छन् रापले
निसासिन्छन् समयको चापले
अघि बढूँ कि पछि सरूँ
यता या उता कता लागूँ
पाइलाहरु अड्किएका छन्
दुविधाका छालहरुमा ।
०००
उमेरका खुट्किलाहरु चढ्दै जाँदा
समयका गल्लिहरु छिचोल्दै
चौबाटोको बीचमा ठिङ्ग उभिएको
कुनै आदर्श मानवको
मूर्ति आसनमा अडेसिएर
मनलाई सुम्सुम्याउँदै
सौम्य मूर्तिलाई सोध्दै छु-
के बाटो बताइदिन सक्छौ ?
एउटा सुन्दर गन्तव्यको बाटो…
जहाँ आफ्नै सपना कुदाउँदै
आफ्नै कर्म फलाउँदै
घाँसी कुवा जस्तै कीर्ति कमाएर
गाउँ शहरका चोकहरुमा
सदियौंसम्म तिमीझैं उभिएर
समयको उमेर नाप्न सकूँ ।
०००
तर कहिलेकाहीँ
भीडमा मिसिएर
आफूसँगै हराएका बेला
एकान्त खोज्दै
छहारीमा सुस्ताउँदै कल्पित रहँदा
मनको तूलोमा एकातिर
माटो सिर्जित अठोटहरु जाग्दछन्
अर्कातिर परदेशका रङ्गीन रहरहरु
भविष्यको मैदानमा
प्रतिस्पर्धा गर्न आउँदछन्
कहिले माटोको आस्था र भरोसामा
पुलङ्कित हुँदै
माटोमा नै मोती हुर्काउँछन्
कहिले बाध्यता र अवस्थाले
पराइको मरुभूमितिर
पसिना बेचिएका ऐँठनहरुसँगै
विवस रहरहरु मुर्झाउँछन्
के ठीक ? के बेठिक ?
मनले ठम्याउन सक्दैन..
आफ्नै माटोमा सुगन्ध भरेर
देश बनाउने सपनाका निम्ति
सडकमा निस्किएको म
आज एउटा अनुत्तरित प्रश्न
र, दुविधामा अलमलिएको छु
मेरो माटो र मेरो देश
कि मेरा सपनाहरुमा गौरव गरौं ?
मेरो आकास
जून, घाम र ताराहरुलाई
एउटा प्रश्न छ–
म एउटा देशभक्त युवा बनूँ कि नबनू ?
०००
–अरनिको कलेज, विराटनगर, कक्षा ११