मेरो गाउँ र कालीपोके शहर

लुटिएको त्यो गाउँ…!
गाउँमा अडिन नसकेर
शहर पसेकाहरु
गाउँका कथाहरु बुनेर
शहरका गल्ली गल्लीमा
कोकोहोलो नै मच्चाउँछन् अचेल
मानौं तिनिहरुसँगै
सिङ्गै गाउँ सरि आएको छ-
राजनीति होस् या व्यापार
शिक्षा, स्वास्थ्य र विकासे कामहरु
अनि शासन-प्रशासनका
कोठा-चोटाहरु सबैतिर
शहर पसेकाहरुले
गाउँको मुख नै बन्द गर्न खोज्छन्
असली मसिहा आफै हुँ भन्छन्
मानौं गाउँ रुँङ्नेहरुसँग
बोल्ने ल्याकत र अधिकार नै छैन ।
गाउँको जिउँदो कथा…!
तर अझै पनि
हाम्रा गाउँघरहरुमा
बाघसँग लडाइँ गरी
जितेका कथाहरु बाँकी नै छन्
जसले सिङ्गो शहरलाई
आजादी दिलाएको छ
धर्तीमा दस नङ्ग्रा खियाएर
समाह चलाएका
पसिनाका कथाहरु बाँकी नै छन्
जसले सिङ्गै शहरलाई
कमसेकम जीवन दिलाएको छ
अनि आफ्नै भविष्यलाई
दाउमा राखेर जोगाएका
खेतबारीका पाटाहरु बाँकी नै छन्
के तिमी बुझ्ने साहस राख्छौ ?
जसले कमसेकम
शहरलाई ‘शहर’ हुँ भन्न दिएको छ
अराजक एउटा सत्य…!
सत्य कहिलेकाहीँ अराजक बन्दोरहेछ
र भ्रम जस्तो पनि लाग्दोरहेछ-
दिमाग त ‘कम्प्यूटर’ झैँ चलाख छ
तर हृदय ‘इनेक्टिभ’ भएको छ
श्रम कहिल्यै थाक्दैन ‘रोबोट’ सरि
तर मन ‘चीर निन्द्रा’ मा निश्चेष्ट छ
हुन त यहाँ मृत्यु स्वयम् पनि
‘सुपरमार्केट‘ झै ‘व्यावसायिक’ बनेको छ
र शासनका पसलहरु त झन्
काउली, बन्दा, घिरौँला र पिँडालुका
‘दलाली’ बजार जस्तै भएका छन्
पसिनाका रङहरु
खुइलिएर ओइलिएपछि
‘भाउ’का विन्दुहरु मेटिदै जान्छन्
सायद अचेल पट्टी बाँधेर मात्रै
आँखा खोल्न थालेको छ शहर ।
(मनमा कुरा खेलिरहन्छ…)
भो अब लेख्न सक्दिन
तिम्रा कथाहरु, तिम्रा कविताहरु
जहाँ मैले गाउँमा
मेरा लागि
तिम्रा लागि
मेरा बुबा आमाले
तिम्रा बुबा आमाले
बगाएका पसिना
र खियाएका नङ्ग्राहरु
बोल्न थाल्छन्, र विद्रोह गर्न थाल्छन्
त्यसैले त्यो या यो सबै लेखेर, बोलेर
तिम्रो मन दुखाउनु छैन
तिमी नै कालिपोके बनेपछि !
कालीपोके कबिता एउटा कविता मात्रै नभई ग्रामिण परिबेशमा घटीरहेको घटनाहरुको चित्रणहो, कथाहो, सुखको खोजीमा शहर पसेकाहरुको कथा, शिक्षा, स्वास्थ्य, प्रशासनमा र राजनितिमा घिनलाग्दो खेल खेली आफ्नै न्वारन गरि असली मसिहाको नामाकरण गर्ने पण्डितहरुको कथा, तिखा नँग्रा खियाएर धर्ति मलिलो पार्नेहरुको कथा, मृत्युलाई व्यसाय बनाउनेहरुको कथा, मन छोयो निकै घोत्लीयर पढे यो कबिता पडिरहदा मनमा प्रश्नको असिना बर्षन थाल्योे, कविले कविताको माध्यम बाट कतै बिद्रोहको सँकेत दिन खोजेकोत हैन, नयाँ क्रान्ती जन्माउन खोजेकोत हैन । फेरी कबिको व्यक्तिीत्व लाई सम्झे हैन हैन पक्कै हैन बरु कविताको माध्यम बाट समाज परिवर्तनको सुरुवातचै होकी ??????? अनगिन्ती प्रश्न उम्रन थाले मनमा बर्षातमा आगनको डिलमा उम्रने छिचिमिरा जस्तै ………..