मृदङ्गाना (कविता)

मध्याह्नको गर्मी
मध्य शहरको सडक
मान्छे र गाडीहको भीडसँगै
एउटा थोत्रो रिक्सामा
लुलिएका खुट्टाले पाइडल घुमाउँदै
बिस्तारै आउँछन् एक भरिया
रहर त हुँदो हो अरु जस्तै हुइँकिने
सायद थकित शरीरले साथ दिएन…
चाउरिएका निधारबाट
बग्दै गरेका पसिना
दाहिने हातले पुछ्दै
आँखा जुधाए पैदल यात्री मसँग
रोकिए र केही बोल्न खोजे
ओठ चले जस्तो तर आवाज सुनिएन
सडकमा हुइँकिरहेका
गाडीहरुको आवाजले होला
म केही अकमकिएँ र अडिएँ
उनको हातको इशाराले
मलाई नजिक बोलाएझैँ लाग्यो
म बायाँ कोल्टिएर उनको नजिक पुगेँ
उनी सडकको किनारातिर लम्किए
बीचमा रेलिङ मात्र
उनी एकछिन अकमकिए
अनि भासिएको स्वरमा भने–
मलाई पचास रुपैयाँ दिन सक्नु हुन्छ?
म भोकै छु आज
केही काम नै पाइएन बिहानदेखि
केही खान पाए हजुरको काम गरिदिन्छु
दया गर्नुस् न मालिक !

***

म निशब्द भएँ
सम्बोधन झनै असजिलो
यतिका भीडमा आज
उनले किन मलाई नै रोजे
र भीखको लागि हात पसारे ?
चिनाजानी केही थिएन
मनभित्र अनेक उथलपुथलहरु
समुद्रका छालझैँ भएर आए
संवेदनाहरु यसरी उछालिए कि
पसिनाले निथ्रुक्क भिजेको शरीरभरि
कठ्याङ्ग्रिने जाडोमा झैँ
काँडाहरु उम्रिए, रौंहरु ठाडा भएर आए
मैले सोधेँ–
दाजु पचास रुपैयाँले के खानु हुन्छ ?
यसले त एक छाक खाना पनि
पाइँदैन शहरका होटेलहरुमा
केही आशाको भाव जागेछ क्यार
उनले भने–
मालिक ! कमाइ नहुनेले किन भरपेट खानु त ?
जे पाइन्छ त्यही खाने नि
बाँच्नसम्म भए भैगो नि ।
मैले अरु केही सोचिन–
गोजीबाट दुई सय रुपैयाँ झिकेर
उनका हातमा राखिदिएँ
उनले निधारको पसिना पुछे
र केही असहज हुँदै भने–
मालिकको घर कहाँ छ नि ?
म हजुरको घरको काम गरेर
यो ऋण तिर्छु
भोको मेरो ज्यान बचाइदनु भयो
म इमान्दार छु
चालीस साल भयो शहरमा भारी बोकेको
धेरैले चिन्छन् मलाई…
भीख मागे तर इमान बेचेनन् उनले
पक्कै सोचे होलान्–
अब पाइने भारीले त्यो भीख फिर्ता गर्छु
सायद यो स्वाभिमान
भारी बोकाउनेहरुमा हुँदैन होला ।

***

अब विषय खासै रहेन
आ–आफ्नो बाटो लाग्नुअघि
उनलाई सोधेँ–
दाजु तपाईंको घरमा को को हुनुहुन्छ ?
घर परिवार छ होला नि ?
सायद मेरो प्रश्न उनलाई
भोक भन्दा भारी भएछ क्यार
एक छिन निँहुरिए,
अनुहार मलिन हुँदै गयो
अलिक असहज जस्तो माने
अनुहारमा पीडा भरियो
आँखा रसिला हुँदै गए
सायद पसिनासँगै
आँसु पनि बगाए होलान्
त्यो पीडा मैतिर फर्कियो
मनमनै प्रश्नै फिर्ता गरुँझैँ भयो–
बेकारमा यस्तो सोधेँछु उनलाई
खाटो बसेको घाउ कोट्याएझैँ
माफ गर्नुस् दाजु !
एकैछिनको सन्नाटापछि
उनले केही बोले–
उसलाई त रोगले लग्यो पोहोर
हस्पिटलमा धेरै पैसा लाग्छ भन्यो
भरिया काम गर्नेसँग त्यत्रो पैसा कहाँ हुनु ?
घरमै फिर्ता ल्याएँ,
सातै दिनमा छाडेर गइहालो नि
सायद बिरामले थलिएकी श्रीमतीसँगका
अन्तिम क्षणहरु उनीभित्र
भक्कानिएर आए
दुबै निःशब्द र निरीह रह्यौँ
‘सानो छोरी छ घरमा
उसैलाई हेरेर मन बुझाउँछु’
एउटा मालिक हुनुहुन्छ
उसैको घरमा पोछा लगाइदिन्छ
बेलुका मसँगै घर लिएर जान्छु
कति बाठो छ नि मेरो छोरी
उनी अलि सहज देखिए
सायद उनको वर्तमान तिनै थिइन्
भरोसा र भविष्य तिनैसँग थियो
उनको भाव बुझेर सोधेँ–
छोरीको नाम चै के हो ?
‘मृदङ्गाना’ ! उसकै आमाले राखेको
तर के गर्ने पढाउन सकिनँ
भरियाले के फेर्ला र उसको भाग्य ?
उसैले कमाएर पढ्ला कि !
उनले मडारिएको बादलमा
केही उज्याला किरणहरु देख्न खोजे ।

***

अब छुट्ने बेला भयो
उनी भोकै छन्,
केही खाएर प्राण धान्नु छ
शहरका सडक र गल्ली घुमेर
बेलुकाको छाक जुटाउनु छ
मैले भने–
दाजु ! हरेस खानु हुँदैन,
संघर्ष गर्नु पर्छ
सधैँ यस्तो हुँदैन, काम पाइन्छ
अलि अलि बचाएर भए पनि
छोरीलाई स्कुल पठाउनू !
उनी केही बोलेनन्
कहाँ थिएन होला र
एउटा बाबुमा आफ्नी छोरीको
भाग्य, भरोसा र भविष्य कोर्ने चाहना
तर समयका सामू नाजवाफ थिए
मैले पनि धेरै कुरा गर्न सकिन
कुराको बिट मार्न सोधेँ–
अब कसरी भेट्ने पछि ?
मोबाइल छ ?
जवाफको लख काटिसकेको थिएँ–
‘छैन’
म सधैँ यही सडक हुँदै हिँडिरहन्छु
हजुरले नचिने पनि
म बिर्सन्न नि, बोलाउँछु नि !
बिस्तारै शहरको भीडमा
ओझेल पर्दै गए भरिया दाजु
मनभरि सम्झना दिएर गए
सायद, उनी भोको रहेनन् आज
र छोरीका लागि पनि
किनिदिए होलान् एकपोका मिठाई ।
०००

(छोरी मृदङ्गानाको भरोसा र भविष्यका लागि एउटा भरिया बाबुको संघर्ष)


प्रतिक्रिया

2 thoughts on “मृदङ्गाना (कविता)

  1. निक्कै नै भावुक वनायो भाई तिम्रो कविताले ॥
    कलम चलाउने ति हातहरूलाई सलाम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *