४९ वर्षे जवानका कुरा !

मानिसलाई मात्र हैन यो समाजलाई नै बेलाबखत अपरेसन गर्न जरूरी हुन्छ । स्वीकार्न पर्छ आफैँले गल्ती हुन्छ भनेर । पक्कै पनि बिग्रिएका धेरै नै सुध्रिन्छन् । तर फेरि बिग्रिएका झन् बढी नवआगन्तुकहरूको प्रवेश चलिरहन्छ ।

यस अर्थमा नभोगी स्वर्गको औचित्य दर्शिँदैन । तर पनि स्वर्ग नरूचाउनेहरूको लागि भने उपचारको उपाय आजसम्म न भगवान न त वैज्ञानिक कसैले पनि पत्तै लगाएका छैनन् भन्ने सुनेको छु मैले त ।

म नेपाली नागरिकतामा असार ३ गते ४९ बर्षको भएँ । नेपाली पासपोर्ट विभागका अनुसार केही दिनमा ४९ वर्षको हुँदैछु । खैर, एक महिना भए पनि मलाई जवान बनाइदिएकामा पासपोर्ट विभागका जोड–घटाउ गर्ने अफिसरलाई मुरीमुरी धन्यबाद । गुनासो छैन । तर घरिघरी जन्म दिने बाबा आमाले ‘विस’ गर्ने जन्म दिन र छोरा छोरीले ‘विस’ गर्ने जन्म दिन ठिक एक महिना फरक हुँदा आजकल यो फेसबुकको जमनामा कता कता कस्तो कस्तो हुन्छ ।

तर पनि मानिसलाई पटक पटक विभिन्न घटनाक्रमले जन्माएको हुँदोरहेछ भन्ने कुरामा भने विश्वास राख्छु । यदि भोलि मैले किताव लेखेँ भने कति प्रतिशत सही लेख्न पर्छ ? कति सत्य लेख्न सक्छु ? के होला मेरो जिम्मेवारी बहनको जीवनको उत्तरार्धमा ?

अनुभवसँगै साँच्चै एउटा सवाल उठेको छ आजकल । ४९ वर्षको बीचमा तत्काल जति ५ वर्ष किताब पढे नि अनुपातमा अघिल्ला ४४ वर्षमा त मात्र केही पुस्तक मात्र पढेँ । तर फरक फरक जीवन लगातार बुझ्ने भएदेखि आजसम्म ४० वर्ष धेरै भोगेँ । यो चार वर्षको किताब पढाइमा विषयबस्तु फरक फरक थिए अवश्य । कुरा गर्छु मात्र दुई च्याप्टरका ।

प्रथम आत्मबृत्तान्त । आफ्नो भोगाइ ढोगाई रोगाई आफैँले वाचन गर्ने । अर्को समाजमा योगदान, नजिकबाट व्यक्तित्व बुझेर जीवनी लेखिदिने । यसैमा हो मलाई जिज्ञासा उठेको– सबैले कति प्रतिशत सही कति प्रतिशत फूलबुट्टा भरेर लेख आकर्षक बनाउँछन् होला ?

अवश्य अरूको जीवनीमा लगभग ‘नो फेक’ नै पाइएला । तर आत्मवृत्तान्तमा सत्य बढी होला ? किताब पढेको आधारमा मेरो अनुमान हो– आत्मवृत्तान्तको कथाको आधार सत्य भए पनि लेखिएका कुरा प्रतिशतमा पनि धेरै पचास प्रतिशतभन्दा बढी झूटा शब्द चयन हुन्छन् होला ? अनुमान सही उत्तर कहानी, कथा, आत्मवृत्तान्तमा कति प्रतिशत सत्य लेखिएको हुन्छ ?

साँच्चै मनपर्ने जवाफ पाएँ भने संसारको जुनसुकै ठाउँमा भेट्ने अवसर पाए एक कप कफी अथवा चिया उपहारको रूपमा यहाँहरूलाई ल !

म पनि छक्क परेँ जब छोराछोरी २० वर्षको उमेर भएपछि उनीहरुसँग पुराना कुरा शेयर गरेँ । यी कुराहरू किन पहिला शेयर नगरेको भनेर उनीहरुले सोधे । म त एकछिन अक्मकिएँ । बच्चा बच्चीका अगाडि अक्मकिनु हुँदैन । सवाल आए जवाफ सही दिन पर्छ भन्ने मसँग चेतना थियो र तुरून्तै जवाफ दिएँ ।

कुरो के भने बच्चा बच्चीलाई जीवनका सबै कुरा पुरै भनिँदैन । आवश्यक जायज जानकारी र शिक्षा बिस्तारै दिँदै गइन्छ । तर जब बच्चा बच्चीले आफैँ प्रश्न गर्न थाल्छन् नि त्यो बेला भने अभिभावकले १०० प्रतिशत सही सवालको जवाफ दिने प्रयास जरूरी छ । यसैको आधारमा मानव सभ्यता विकास हुँदै यहाँसम्म आएको हो भनेर सम्झाएँ ।

अवश्य हामी मानवको एक आपसको बुझाईमा कमजोरी हुँदा विभिन्न अमानवीय क्रूर घटनाहरू समाजमा घटेकै हुन्छन् । तर पनि मानवको एक मात्र उद्देश्यसँगै धर्म पनि हो एक दिन मानिस सबैले एक आपसमा प्रेम गरून् विश्वास गरून्, स्वच्छ प्रतिस्पर्धा गरून्, कमजोरी स्वीकारून्, परिणामको सम्मान गरून् ।

हो, यो समाज एक दिन स्थापित हुन्छ भन्नेमा विश्वास गर्दछु । जो धेरै दौडन्छ उसैको बढी उपलब्धि हुन्छ । यो अधिकार अकस्मात् स्वयं भगवान बिष्णु नै विराट भए पनि खोस्न सम्भव छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *