दाँत फुकालेपछि…

सानामा दाँत लिरिक–लिरिक् हल्लिनु थाल्यो कि बुवाले डोंठे औँली मुखमा घुसारेर दाँत निकालिदिन्थे। आफ्ना औँलीहले भेट्न सक्ने दाँतलाई उनको डोंठे औंलीहरूले च्याप्पै समाती अनि औंलीले नभेट्ने ठाउँमा हल्लिने दाँतको चेपमा सामान्य मोटो धागो एक–दुइ फन्को बेरेर एउटा गाँठो पारेपछि मेरो हल्लेको दाँत प्वाक्कै उखेलिदिन्थे।

दुःखेर भुतुक्कै हुन्थेँ म। रून्थेँ पनि। रूँदै गरेको अवस्थामै मुख खकालेपछि उखेलिएको दाँत मुमाले मेरो हत्केलामा राख्दै भन्थिन्, ‘जा छिटो…तेरो यो दाँत छानुमाथि फ्याँक् अनि भन्, ‘ए मूसो! मेरो दाँत लैजा, तेरो दाँत मलाई दे।’ दुःखेको झोँकमा रूने क्रम जारी नै रहन्थ्यो।

बुवा थप्थे, ‘रूँदै मूसाको दाँत मागिस् भने मूसोले त्यसको दाँत तलाईं दिँदैन नि! थोतेको थोतै होलास् नि भाइ!’ थोते हुन कसलाई पो मनपर्छ र? सोहीको डरले पनि रुने क्रम बन्द गरी हातमा हातमा भएको दाँत छानुमाथि फ्याँक्दै भन्थेँ, ‘ए मूसो! मेरो दाँत लैजा, तेरो दाँत मलाई दे।’

सानामा मेरा दाँतहरू यसरी नै उखेलिए। जतिपटक उखेलिए ती सबै दाँत छानुमाथि फ्याँक्दै मूसोलाई त्यसको दाँत मागे। फेरि नयाँ दाँतहरू उम्रिए। मेरा नयाँ दाँतहरू मलाई साँच्चै मूसोले नै दिएको हो भन्ने कुरो मेरो बालसुलभ हृदयमा बन्दकी बनाउने मेरा मुमा–बुवा नै हुन्।

अहिले मेरा बुवाको बिँडो थामेर मेरा छोराहरूको मात्र होइन गाउँ–घरका भुराभुरीहरूको मुखभित्र मेरा छिप्पेका दुई औँली घुसारी प्वाक्कै–प्वाक्कै दाँत उखेल्न सिपालु भएको छु। छोरोको दाँत उखेल्ने बित्तिक्कै अर्धाङ्गिनी हतपत् बोली पठाउँछिन्– ‘जा भाइ! तेरो दाँत छानुमाथि फ्थाँकेर आइज अनि मूसोलाई नयाँ दाँत पनि माग् है।’

मेरा बुवा छैनन्, मुमा पनि छैनन्। अचेल मेरा घरका चारैतिर भव्य–भव्य बिल्डिङ, गगनचुम्बी फ्ल्याटै फ्ल्याटले मिचिसकेका छन्। सानामा मेरो दाँत उखालेपछि त्यसलाई घरको छानुमाथि फ्याँकिन्थ्यो अनि मूसोलाई त्यसको दाँत मागिन्थ्यो। तर अचेलका केटाकेटी आफ्नो उखेलिएको दाँत घरको छानुमाथि फ्याँक्नु पाउँदैनन्।

बिल्डिङको छतमा फ्याँकिएको दाँत महिना दिनपछि मेरो छोरोले टिपेर ल्याई भनेको घतपर्दो कुरा मैले बिर्सेको छैन, ‘बुवा! बुवा! हेर्नोस् मेरो दाँत। मूसोले लगेन रहेछ त!’

बिलखबन्द परेँ म छोरोको कुरा सुनेर। बुझ पचाउँदै भनिदिएँ, ‘हेर् भाइ! हाम्रो पालाको मूसो लाटा न लाटा थियो। तिमीहरूका पालाका मूसो तिमीहरूजस्तै चलाख र बाठो भैसकेको छ। कीराले खाएर खङरङ्ङै पारिसकेको अनि अर्काले मिल्काएको दाँत किन लान्छ त्यसले भन् त भाइ!’

‘तर मेरो दाँत त्यो मूसोले नलगी पनि त्यसले मलाई दाँत दियो त बुवा!’ नयाँ उम्रेको दाँत देखाउँदै त्यो बोल्यो।

खुइय्य काढ्दै बोलें म, ‘अचेलका मूसाहरू दयालु छन् नि र तलाई त्यसको दाँत देको।’

‘बिचरा मूसो…मलाई उसको दाँत दिने मूसोलाई किन चिटिङ गरेको बुवा? हामीले उसलाई कीराले खाइसकेको दाँत दिनु अनि उसको दाँत माग्नु चिटिङ होइन बुवा?’

बालाख छलकपटविहीन मेरो छोरोले सोधेको प्रश्नको जवाफ दिने साहस थिएन मसित। बडो कष्टले फकाएर त्यसलाई बाहिर खेल्न पठाएपछि मनमनै भनेँ, ‘हे कम्प्युटर युगका उपज! तिम्रो भनाइ सोह्रै आना सत्य छ। कीराले खाइसकेको आफ्नो दाँत दिएर मूसोलाई नयाँ दाँत माग्ने यी दुईखुट्टे जन्तुहरू अरूका दाँत उखेल्नु (तुजुक झार्नु) पल्केका छन्। अर्काको सम्पत्तिमा दाँत गाड्नु (अति लोभ गर्नु) बाहेक अरू केही जानेको हुँदैन।’

प्रायः मेरूदण्डवाल प्राणीको मुखभित्र तलमाथि लहरै टोक्न–खान–चपाउन हुने हाडजस्तै फग्ल्याटा आकारमा उम्रने साधनलाई दाँत भनिन्छ। टम्म, बत्तीस लहर दन्त मिलेको छ भने जस्तै अनुहार पनि धपक्क बल्छ। तर दाँत नै छैन भने गाला क्वाप्पै भित्र पसेर मुखमात्रै चुच्चो देखिन्छ।

दाँत वा दन्तलहर मुखभित्रको फर्निचर हो। यसकारण दाँत हुँदै दाँतको मर्म सबैले बुझ्नुपर्छ। अहिले दाँतको महत्व र मर्म नबुझ्नेले पछि सबै दाँतहरू झरिसकेपछि मात्र दाँतको महत्व र मर्म बुझेर के गर्नु? हड्डी वा भुटेको मकै मरक–मरक् चपाउने पनि यै दाँतै हो। रिस उठेको बेला कसैलाई कर्याप्पै पार्ने पनि यै दाँतै हो। खुसी पर्दा मिसिक्क हाँसेर हर्ष प्रदर्शन गर्ने पनि यै दाँत। रिस उठ्दा दाह्रा किट्ने पनि यै दाँत। युवतीहरूले दाँत देखाउनु नै प्रणय निवेदनको ग्रीन सिग्नल हो।

युवतीहरूका निमित्त दाँत अति नै महत्वपूर्ण अङ्ग हो। टम्म मिलेको दाँत भएकी युवती हाँस्दा आहा! कति सुहाउँदिलो देखिन्छ। बिछट्टै राम्री तर थोती युवती तपाईं सामु उभिएर हाँसिदिए ह्वाङ्ङै ओढारजस्तो देखिँदैन र? दाँत युवतीहरूको सौन्दर्यको सङ्केत हो। ओठ पर्लक्कै पल्टेको होस् वा रिसोलिङ गरेको टायरजस्तै किन नहोस् अनारदानाजस्तो दाँत छ भने तह नमिलेको जस्तै ओठको पनि घुर्की कम्ती हुँदैन। जस्तै रिस उठेको बेलामा होस् वा दिक्क लागेको होस् वा मुड अफ् होस् घरभित्र पस्ने बित्तिकै अर्धाङ्गिनीले बत्तीस दन्त देखाएर मिसिक्क हाँसिदिइन् भने काम तमाम। महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै भनेका छैनन्–

‘अनार–दाना दाँतका लहर खोलेर हाँस न
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।।’

आँखाको दृष्टिशक्ति कमजोर भए पावरवाल चश्मा, श्रवणशक्ति दुर्बल भए ‘हियरिङ् एड’ प्रयोग गरिन्छ तर कथङ्कल दाँत हल्लिँदा त्यस्तो कुनै चिज प्रयोग गरेर दाँतलाई यथावत् राख्न सकिँदैन। नउखेली वा नफुकाली धर छैन । शारीरिक विभिन्न दुःखाइहरू जस्तै– टाउको दुःखाइ, आँखा दुःखाइ, पिँठ्यू दुःखाइभन्दा यो दाँत दुःखाइ बडो खतरनाक दुःखाइ हो।

मुखमा केही हाल्यो कि उखरमाउलो लाउँछ। तातो खाँदा पनि सिरिरि; चिसो खाँदा पनि सिरिरि गरेर भुतुक्कै र हुरूक्कै पार्छ। यसबाट छुटकारा पाउने एउटै उपाय छ, डेण्टिष्टकहाँ गई ‘सनासो’ ले प्वाक्कै पार्नु।

मेरा बुवा ९० वर्षमा बिते। मृत्युकालसम्मै उनका बत्तीसवटै दाँत टम्म थिए। भुटेको मकै होस् कि भटमास मरक–मरक् चपाउँथे, हड्डी कर्याप्पै। मासु खाएपछि मेरो दाँतको चेप–चेपमा मासुका टुक्राहरू पसेकाले दाँत नकोट्याइउपाय थिएन। तर बुवाले दाँत कोट्याएका मैले कहिल्यै देखिनँ। मैले दाँत कोट्याएको देख्दा बुवाले हपार्थे।

खाँटी दूध, घिउ, दही–मही, तोरीको तेलसित अहिलेको रासायनिक पदार्थहरूको मिश्रणमा उत्पन्न सामग्रीहरूको तुलना कसरी गर्ने? र त यो उमेरमै मेरा बत्तीसवटा दाँतहरूमध्ये तीनवटा दाँतहरू डेण्टिष्ट नाउँका दुई खुट्टे मूसोलाई सुम्पिसकेको कुरा यसैसाथ जानकारी गराउन चाहन्छु।

एउटा लामो न लामो सुइँको मेरो गिजामा रवाम्मै गाडेर गिजालाई लाटो बनाई सनासोजस्तो यन्त्रले मेरो दाँत प्वाक्कै उखेल्दा बुवाको डोंठे औँलीको झल्झल्ती याद आयो। अनि सानामा फुक्लिएको दाँत हातमा लिएर ‘ए मूसो! मेरो दाँत लैजा; तेरो दाँत मलाई दे’ भनेको पनि सँगसँगै स्मरण भयो।

बुवा, मुमा र मूसोलाई फेरि एकपटक स्मरण गर्दै मनमनै भनेँ, ‘ओ डेण्टिष्ट! कुहिसकेको दङदङ्ती गन्हाउने मेरो दाँत पनि लैजाऊ, पैसा पनि लैजाऊ।’

मूसोलाई त्यसको दाँत मागेजस्तै डेण्टिष्टलाई उनको जडौरी दाँत माग्ने मूर्ख प्रयास गरिनँ।

खुसी केमा लागेको छ भने, उखेलेर फ्याँकिसकेका मेरा तीनैवटा दाँतहरू सबै कुना–कुनाका हुन्। सिनेमाको भाषामा भन्नु हो भने, बाल्कोनीका। अघिल्तिरका हुँदा हुन् त ‘फोल्डिङ दाँत’ लगाउनुपर्ने भमेला गर्नुपथ्र्यो। यस्तो अवस्था भएको भए मेरो मुस्कान पनि फोल्डिङ नै हुनेथ्यो। तर त्यसमा पनि मलाई दुःख मनाऊ भने केही हुने थिएन। कारण– अचेल हाम्रो राजनीति पनि लिरिक–लिरिक् हल्लिने दाँतजस्तै भएको छ। अनि हामी जनताहरू भन्नुहुन्छ (?) सबै ‘फोल्डिङवाल दाँत’ जस्तै नै भएका देखिँदोछ। सबैको ‘फोल्डिङ मुस्कान’, ‘फोल्डिङ आवेश’, ‘फोल्डिङ घुर्की’, ‘फोल्डिङ धम्की’, ‘फोल्डिङ समर्पण’ अनि ‘फोल्डिङ मरिमेटाइ’।

लिरिक–लिरिक् हल्लिएको दाँत फुकालेँ। मलाई दुःखाएर हुरूक्कै पार्ने मेरा पिराहा दाँत फुकालेँ। मेरा गिजाका तीन ठाउँ नाङ्गै छ। यी नाङ्गो गिजा कहिल्यै पुर्ताल हुने होइन। बेलाबखत जिब्राले सल्बलाएर सान्त्वना दिन थालेको छु। तर हाम्रा नेताहरूले हामीलाई ढाँट आश्वासन दिएजस्तो मैले मेरो नाङ्गो गिजालाई ‘मूसोलाई दाँत भागेको छु’ भनेर हाकाहाकी ढाँटेको छैन। सत्य, मैले ढाँटेको छैन। नङ–मासु झैं मिलेर बसेका मेरा दाँत र गिजालाई धोका दिन चाहन्नँ म, थाङ्नामा सुताउन पटक्कै चाहन्नँ, किनभने यिनीहरू मेरा शरीरका अभिन्न अङ्ग हरू हुन्।

दाँत फुकालेपछि मलाई ऐया–आत्था केही भएन। किनभने मेरो गिजालाई सुइले च्वास्सै घोचेरलाटो बनाइएको थियो। लट्टाइएको थियो। ‘ट्रे’ मा आफ्नो दाँत हेरेँ। डेण्टिष्टले मलाई हेरिरहेका थिए। डेण्टिष्टको हेराइ देखेर मूसोलाई सम्झेँ। एउटा ढाढे मूसा सनासो बोकेर, मेरो खल्तीभित्रको नोट निकाल्न पोजिशन लिएर उभिरहेको छ। कर्णका देशका मान्छे म, मनमनै भनेँ, ‘लैजाऊ ढाढे लैजाऊ! मेरो दाँत पनि लैजाऊ…मेरो पैसा पनि लैजाऊ…’

–सिलिगुडी (भारत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *