यो मन मेरो के-के भन्छ

आधा उघ्रिएको ढोकाको जस्केलामा बसेर
धर्तीको एउटा पाटो नियालिरहेको म
फूलबुट्टे झ्यालमा कुँदिएका फूलहरूजस्तै
एकैनास पो सोचेँछु जिन्दगी
भुसुक्कै बिर्सेँछु मैले ओढेको आकाश घुर्मैलो छ यतिखेर
देख्दैछु पर मान्छेहरूले लगाएको हाँडीको
लिस्नु र पर्खिरहेको उनीहरूको तुहिएको
सपनाको आर्तनाद छ र हुनेछ बिर्सिएको भिडले
छैन र हुँदैनको नारा उराल्न तुन्दैछ भ्रमको झण्डा
पल्लाघरको परान झोलामा सर्टिफिकेट वा भनौँ बाआमाको भरोसा भिरेर
उडान भर्न कस्दैछ तुना गोल्डस्टार जुत्ताको
कठै ! त्यो तामा बाँस हुँदासम्ममा जिङग्राउने भो
हिजो मात्र कोठेबारीछेवैको बाटो कालोपत्रे हुँदाहुँदै
गोडमेल गर्ने जाँगर उमारेर आलुबारीमा पसेकी मनमाया
आज उक्किएको अलकत्रा अञ्जुलीमा लिएर
मनमै थन्क्याउँदैछिन् ग्यास्ट्रिकको उपचार गर्ने धोको
बाँझै रहेको बारीको पाटामा मौलाएछ गन्धेझार
मनले तौलिँदैछ गन्धेझारको फूल राम्रो कि
परार सालका काँक्राका लहरा
तुलबुल मन बग्दो छ
अझै जस्केलो छोड्न सकिनँ
ढोका पूरै खोलौँ कि बन्द गरौँ?