अक्षितारा (कविता)

तिमीलाई सम्झिएका बेला
तिम्रा मृदुल आवाजहरु
शून्यतामा पनि गुञ्जिन्छन्
र चियाउँछन् रित्तो सडकतिर
सन्ध्या किरणहरु
धर्तीको अँगालोबाट उम्किएर
आकासतिर विलिन भएपछि
जब जूनकिरी आइपुग्छ
चाँदीको घाम बोकेर
म ब्यूँझन्छु तिमीसँगै
त्यो अँध्यारो दिन पछि
उज्यालो रातको कल्पना गर्न ।

***
अक्षितारा !
तिमीले छाडेर गएदेखि
मलाई रात नै मन पर्छ
रात नै उज्यालो लाग्छ
किनकि,
सयौं चम्किला ताराहरु
तिमी जस्तैगरी चम्किन्छन्
र तिमीले नै भन्ने गरेको
चाँदीको घाम पनि
तिमी जस्तै नाचिरहन्छ
र, कमसेकम
नियाल्न पाउँछु तिमीलाई
जूनेली छायाँमा भएपनि
तर दिनको त भरोसा नै छैन
हरेक बिहानीसँगै आउँछन्
तिमी बेचिएका दिनहरु
हरेक साँझसँगै आउँछन्
वियोगका छटपटाहटहरु ।

***

तिमी बेचिएपछि
अरु धेरैथोक बेचिए
रगत बेचिए, पसिना बेचिए
शरीरका धेरै अङ्ग बेचिए
आकास र धर्ती बेचिए
अर्थात्
एकमुठी श्वास बाहेक
सबै थोक बेचिए
तर जति चाहेर पनि
साहू र बजार चाहार्दा पनि
अभाव र पीडा कतै बिकेन
र खीलझैँ गडिरहेका छन्
तिम्रा यादहरु भित्र
कसरी पोखौं ?
कोख दिएर पनि
ओत दिन नसकेका मातृ वेदनाहरु
बरु सोध न एक पटक
तिम्रै चाँदीको घामलाई ।

***

थाहा छैन ‘अक्षि’ !
तिमी फर्किनेछौ फेरि
र भेट्ने छौ मलाई
यदि बतासले उडाएर
कतै खोलाले बगाएर
कहीँ भेटिएछ भने
म फेरि ब्यूँझिने छु त्यो रात
अनि घुमाउनेछु तिमीलाई
ताराहरुको फूलबारीमा
र भेटाउने छु
तिमीलाई मन पर्ने साथी
चाँदीको घामसँग ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *