अन्तर्वार्ताः एउटा चिया श्रमिकको
हजुर, समयमा मेलो नपुगे
नागा बनाउने डर
एकै क्षण पानी पिउन उभिए
गाली खाने डर
हिजो अस्ति कामदारी हुनेहरू
फुटानीको कहर
डरैडरको परिवेशमा झुण्डिएको प्रहर
यहाँ यस्तै छ हजुर
कसैमाथि छैन भर
मान्छेमाथि मान्छेकै निसास्सिँदो शासन
दाम कम भएर के भो र ?
ख्वाप्पै घटी गो रासन
धेरै सुनिन्छ सान्त्वनाको भाषण
के गर्नु हजुर श्रमिकको जीवन
डुब्दै जाँदैछ खिइएर झन् झन्
घाम पानी सहेर दश केजी टिपेर
के गर्नु हजुर ?
दुई केजी कम्प्युटर मेसिनमा
खर्लप्प काटिन्छ
कस्ले बोल्ने पसिनाको कमाई
खोइ कसले चुस्छ चुस्छ…
अदृश्य जुका, भुसुना, मच्छर
डाँसहरूले कति हो टोकेको
सानो हाडछालाको कमाने ज्यान
कति हो खुन पसिना बगेको
हजुर, साहेब,
कामदारी, चपरासी भन्दै
कति पो झुक्नु पर्ने?
बिमारी हुँदा पनि फाल्टो काम छैन
कसरी परिवार गुजार्ने ?
ए है चियाबारी हेर्न आउने टुरिस्टहरू हो !
टिप है टिप कमानका सुन्दर दृश्यहरू…
तिम्रो क्यामरामा
हरिया लहर लहर चियाका गाछहरू
अनि टोकरी बोकेर मुन्टा चुँडाउँदै
तरुनी ठिटीहरुका फोटोहरु
खिचियोस् भन्छु म त
ती सँगसँगै तर…
हाम्रा अभावका घाउहरू पनि
हाम्रा आँसु हेपाइ सहेका
ती बोधो मनस्थितिहरू पनि
औषधिमूलो नपाएर
पहेँलिएका अनुहारहरू पनि
पुगोस् चियाका महँगा सुरुपहरूसँगै
विश्वका कुना कुनासम्म
हाम्रा पिल्सिएका थाप्लाहरू
बाफिएका गमबुट र वर्षादीका दुर्गन्धहरु पनि
कोखिला पाछिएको र चियाको कस बसेका औँलाहरू
घोट्दा पनि नजाने कुर्कुच्चाका
चरचर्ती फुटेका तस्वीरहरु
अन्तर्वार्ता सँगसँगै
दधीचि मुनी भइ गरेका त्यागहरु।
–लिजाहिल, दार्जिलिङ