‘…छँदैछु नि !’ (व्यङ्ग्य)

बडो अजब र गजबको स्वभाव हुन्छ मान्छे नामक दुईखुट्टे जनावरको । एउटै समाजमा बसोबास गरे पनि कोही गम्भीर देखिन्छ भने कोही छटपटे । कोही चतुर, कोही लाटा । कोही आफ्नो समाजप्रति सोह्रै आना समर्पित देखिन्छ भने कसैलाई उनी बसेको समाजप्रति लुतो न कनाइ केही नभएको पनि देखिन्छ ।

एउटा समाजमा थरि–थरिका मान्छे नाउँका जनावरहरू देखिन्छन् । कोही प्यारप्यार, ट्याउँ–ट्याउँ गरेर मुखमात्र बजाउँछन् । समाजका निम्ति केही गर्नुपर्यो भने पहिल्यै पन्छिन्छन् । कोहीचाहिँ ‘म यस्तो गर्न सक्छु’, ’उस्तो गर्न सक्छु’ भनी हाँक लाउँछन् तर गर्ने बेलामा टाप । समाजका निम्ति केही गर्नेहरूले केही नभनी, केही नबोली, कुनै हाँक नलगाई, फ्वाँक नदेखाई नै समाजमा गर्नुपर्ने काम गरेर समाजको सर्वाङ्गीण विकासको निम्ति हुट्हुटिएको देखिन्छ ।

तर बिनासित्ति मुख बजाउने टपरटुइयाँहरूकै भने समाजमा बोलाबाला, हाँकडाँक, चुरिफुरी धेर देखिन्छ । त्यस्ता टपरर्टइयाँहरूका घुर्की, धाक कम्ती हुँदैन । कुनै साहित्यिक, सामाजिक वा सांस्कृतिक कार्यक्रममा वरको सिन्को पर नसार्ने खैराते, ढाँटहरू पनि देखिन्छन् ।

यस्ता लोतिखोरे साहित्य–संस्कृतिप्रेमीहरू चक्षुलज्जाको डरले मात्र गाउँ–घरतिर देखिन्छन् । केही सानो कामको भार दिइयो कि ‘…छँदैछु नि !’ भनी हल्ला गर्ने कम्ती हुँदैनन् । तर यी ‘…छँदैछु नि !’ का भक्तहरूले वरको सिन्को पर सारेको देखिन्न ।

समाजमा सामान्य प्रतिष्ठित, हुने खाने कतिपय तथाकथित समाजप्रेमीहरूकहाँ चन्दा संग्रह गर्न जाँदा प्रायः रित्तो हात फर्किनुपर्छ । यस्ता तथाकथित समाजसेवक भनाउँदाहरूले चन्दा दिन सोझै अस्वीकार नगरे पनि ‘भाइहरूको लागि छँदैछु नि !’ भनेर टकटकाउँछन् ।

भाषा–साहित्यप्रति अचाक्ली मोह भएको नाताले बेला–बखत साहित्यिक कार्यक्रम संयोजन गर्ने मान्छे म । समाजमा प्रतिष्ठित व्यक्तित्वहरूबाट सामान्य चन्दा संग्रह नगरी यस्तो कार्यक्रम संयोजन गर्न हम्मेहम्मे पर्छ । यस काममा मलाई धेरैले सघाउ पुरÞ्याए पनि ‘हाम्रो साहित्य–संस्कृतिको संरक्षण–सम्वर्द्धन हुनुपर्छ…भाइले गर्नुपर्छ, मबाट सबै तहको सहयोग हुन्छ’ भनी मुखैले मात्रै ठिक्क पार्ने एकाध ढाँट साहित्य–संस्कृतिप्रेमी भनाउँदाले’ ‘छँदैछु नि !’ भनी मलाई धेरैपल्ट भडखालामा हालिसकेका कुरा किन लुकाउनु ?

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यो ‘…छँदैछु नि !’ भन्ने अपूर्ण वाक्यले मलाई गतिलै बज्राघात गरेको छ । यसकारण मलाई त लाग्छ, हाम्रो नेपाली भाषामा ‘…छँदैछु नि !’ भन्ने चारवटा वर्ण किन मिलेर भाँडभैलो मच्चाइरहेछ ? म सोच्न पनि सक्दिनँ ।

‘…छँदैछु नि !’ भन्ने अपूर्ण, अधूरो वाक्यमा नकरात्मक वा टकटकाउने वा टाटो मार्ने भाव पाइन्छ । अप्रत्यक्ष रुपमा कसैलाई टार्नु वा टकटकाउनु वा टाटो मार्नु हो भने, ‘तपाईहरू गर्दै गर्नोस् न… छँदैछु नि !’ भनिदिएपछि काम फत्ते । कति सजिलो अनि मिठाइलो बहाना । सर्प पनि ढ्याङ्ग, लट्ठी पनि जस्ताको त्यस्तै ।

हाम्रो नपाली भाषामा ‘…छँदैछु नि !’ भन्ने वाक्य नै नहुनुपर्ने भन्ने मेरो दाबी मात्र होइन यो ‘…छँदैछु नि !’ शब्दसित गतिलो घृणा पनि छ । आफू जोगिन, पन्छिनु, टाढिनुलाई हाँसी–हाँसी ‘…छँदैछु नि !’ भन्यो, सकियो । कति सजिलो वाक्य ‘…छँदैछु नि !’ हई !

नेताहरूको ओठैमा तुर्लङ्ग–तुर्लुङ्ग झुण्डिएको हुन्छ यो ‘…छँदैछु नि !’ चुनाउको मुखमा बाह्र–बत्तीसका कुरा फलाक्दै भन्छन्– ‘यसपालि भोट दिएर मलाई विजयी बनाउनुहोस्…तपाईंहरूका लागि ‘…छँदैछु नि’ !’ बस…चुनाउ पछि ‘….छँदैछु नि !’ भट्याउने नेताहरूको अनुहार देख्न पाए त के । फेरि पाँच वर्षको निम्ति आश्वासनको भँडारमा ओथ्रा बस्छन् ।

सामान्य नाम चलेका साहित्यकारहरूलाई आफूले प्रकाशन गर्न लागेको पत्रिकाको निम्ति रचना माग्दा ‘भाइहरूले रचना बटुल्दै गर्ने…छँदैछु नि’’ भनी रित्तो हात फर्काएका कुरा ढाँट अवश्यै होइन । साहित्यप्रति चासो राख्नेहरूकहाँ जानोस् कुरा त उही ‘…छँदैछु नि !’ कै आउँछ ।

युद्धभूमिमा ‘…छँदैछु नि !’ ठ्याम्मै चल्दैन । सेनापति आफू ढुक्कैले बसेर तिनका सेनाहरूलाई ‘तिमीहरू शत्रुलाई फायर गर्दै गर…छँदैछु नि !’ कदाचित् भन्दैनन् । युद्धभूमिमा कि ‘कि मर, कि मार’ भन्ने कुरा आउँछ । दण्डी अभियानमा महात्मा गान्धीले हजारौं–हजारौं आन्दोलनकारीलाई चम्काएर ‘तिमीहरू दण्डी अभियानमा हिँड़्दै गर…म त छँदैछु नि !’ भनी आफू बाख्राको दूध मुख मिठाउँदै खाइरहेनन् ।

गान्धी स्वयम् दण्डी अभियानमा अग्रिम पङ्क्तिमा अंशग्रहण गरेर फिरङ्गीहरूलाई आच्छु–आच्छु मात्र पारेनन् तर दण्डी अभियान सफल पारिछाडे । त्यसरी नै खलङ्गाको युद्धमा फिरङ्गीविरुद्ध युद्ध गर्ने गोर्खा नर–नारी योद्धाहरूलाई चम्काएर वीर बलभद्रले ‘तिमीहरू फिरङ्गीविरुद्ध युद्ध गर्दै गर…म त छँदैछु नि !’ भनेर टाटो मार्ने काम गरेनन् ठ्याम्मै । आफू पनि युद्धभूमिमा होमिएर वीर गोर्खा सेनापतिको परिचय दिएको इतिहास साक्षी छ ।

खासै कुरा भन्नु हो भने, गाउँ–समाज–देश–भाषा–साहित्य–संसकृतिप्रति साँच्चै भुतुक्कै र हुरुक्कै हुनेहरूको शब्दकोशमा ‘…छँदैछु नि !’ जस्तो घिनलाग्दो, नकारात्मक वाक्यले पटक्कै बास पाएको देखिँदैन ।

‘नदिने बज्यै आइतबार बार्छिन्’ भनेजस्तो ‘…छँदैछु नि !’ वाक्य उच्चारण गर्नु नै उम्किने बहाना मात्र हो भन्ने स्पष्टै बुझिन्छ । हाम्रो समाजमा हाम्रो साहित्य, संस्कृति तथा सङ्गीतले भनेजस्तो उन्नति र प्रगति गर्न नसकेको मुख्य कारण पनि यही ‘…छँदैछु नि !’ नै हो भन्ने मलाई लाग्छ । ‘…छँदैछु नि !’ वाक्य भट्याउने टपरर्टइयाँ, बगम्फुसे समाजसेवक भनाउँदाहरूले नै यो ‘…छँदैछु नि !’ शब्दलाई बदनाम पारेका छन् ।

‘…छँदैछु नि !’ को ढाँट, बकम्फुसे आश्वासनले हाम्रो जातिलाई भीरको चिण्डो उँधो न उँभो भनेजस्तै बनाएको इतिहास बखानिरहने आवश्यकता देख्तिनँ म । ‘…छँदैछु नि !’ को हतियार प्रयोग गरी हाम्रो आइडेण्टिटीको भाग्यमाथि बुर्कुसी मारेर रजाइँ गर्नेहरू पनि हामीले हाकाहाकी देख्यौं ।

‘…छँदैछु नि !’ भनी डंका पिटी तपाई–हामी सोझा–सिधालाई लोप्पा ख्वाएर आफू मौन बसी हाम्रो रणनीतिलाई भकिम्लोको काठजस्तै बनाइदिने छली, ढाँट, ठगार पनि हामीले नदेखेका होइनौं ।

खासै कुरा भन्नु हो भने, ‘…छँदैछु नि !’ भन्ने अपूरो वाक्य अब हामीले हाम्रा जिब्राले उच्चारण गर्नु पूरै बन्द गर्नुपर्छ । कसैले पनि अब उसो ‘…छँदैछु नि !’ तपाईं–हामीलाई भन्छ भने भन्नेको जिब्रो थुतेर धुरी कट्याउनुपर्छ ।

‘…छँदैछु नि !’ शब्द हाम्रो जातिको निम्ति अत्यन्तै घातक हो भन्ने कुरा आज, अहिल्यै सार्वजनिक गर्नुपर्छ । नत्र ‘जत्ति नै गरे पनि बराज्यू…. बाहिरै’ भनेजस्तो मात्र हुन्छ ।

‘…छँदैछु नि !’ –नाश होओस् ।

‘…छँदैछु नि !’ –स्वाहा होओस् !!

–सिलिगुडी (भारत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *