सरयूको कथा (कविता)

भुइँमान्छेहरु
संघर्ष गरिरहन्छन्
जन्मनका लागि
जन्मेपछि बाँच्नका लागि
र मृत्युका लागि पनि
कति नजन्मिदै मर्छन्
कति बाँचेर पनि मर्छन्
कति मरिमरि बाँच्दछन्
मरे पनि, बाँचे पनि
संघर्ष गरी नै रहन्छन्
जीवन नकोरिए पनि
कथाहरु नलेखिए पनि
आकृतिहरु नकुँदिए पनि
संसारसँग जोडिनका लागि
उनीहरुसँग मन छ,
एउटा विशाल हृदय छ
अनि आँसुले भरिएका
टिलपिल आँखाहरु पनि छन्
तिनै आँखाहरु पोखिएर
बग्दै बग्दै एक दिन
सागरमा समाहित हुन्छन्
कति उतै सुकिदिन्छन्
कति बाफ बनेर फेरि
आकासबाट वर्षिँदै
फेरि उही नियतिको आँगनमा
बेजोडले पछारिन्छन्-
संघर्षको अर्को संस्करण बनेर ।
(प्राक्कथन)
उमेरका पन्नाहरु च्यातिँदै जाँदा
निमोठिएका रहरका भ्रूणहरु
कहिल्यै नफर्किने गरी
कर्णालीसँगै ओरालो लाग्थे
जहाँ मेरा सपनाहरु पनि
फेरि देख्न नपाउने गरी बग्दै थिए
मेरा मनहरु नै मलाई छाडेर
त्यही भेलमा मिँसिदै थिए
अर्थात् मेरा सर्वस्व भासिँदै थिए
बाँकी थियो त-
कहिलेककाहीँ भङ्गालो छुटेर
किनारामा अड्किएका रहरहरु
साङ्लाको लम्बाई भित्र
नापिएका पाइलाका डोबहरु
तन मनभरि जलनका खत
र यादका ऐँठनसँगै
छटपटिएका जिजीविषाहरु
अर्थात् अतृप्त मनका उभारहरु ।
मान्छेको जैविक चेतले भन्छ-
हाँस्नु पर्छ, रुनु पर्छ
ओठहरु चलाउनु पर्छ
सायद अपरिचित मेराहरुले
छाडेको नासो नै त्यही थियो
हो मैले त्यसै गरें, जो गर्न सक्थे
मेरा ओठहरु
अरुको हँसाइमा हाँस्ने गर्थे
अरुका रुवाइमा रुने गर्थे
दिउँसो घामको किरणमा खोज्थे
रातमा जून हेरेर तिमीलाई ठम्याउन खोज्थे
कहिले ताराहरुको भीडमा
तिमीलाई नियाल्न खोज्थे
आकासलाई बादलले छोपेका बेला
त्यही बादलका लप्काहरुसँग सोध्थे
खोलाका सुसाईहरुमा सुन्थे
तलाउका छालहरुमा नियाल्थे
अनि बोटबिरुवाहरूलाई सोध्थे
तर तिनिहरु कहिल्यै बोलेनन्
या तिनिहरुले मलाई सुनेनन्
बोल्थे त केवल-
अबोध उमेरका मनहरु
भोकले छटपटाएका रातहरु
र आँसुले मेटाएका तृष्णाहरुसँगै
झिसमिसेको पर्खाइमा
ननिँदाएका एक जोर आँखाहरु
अर्थात् समयको शासन ।
समयहरु बग्दै जाँदा
मेरा सपनाहरु पनि बगे
कहिले बबईको भेलसँगै बगे
कहिले कर्णालीको छालसँगै बगे
बग्दै जाँदा, बगाउँदै जाँदा
कति आशाहरु माछाले खाए होलान्
कति चाहनाहरु गोहीले निले होलान्
थाहा छैन कति सपनाहरु
गंगा सागरमै मिसिए होलान्
अनन्त सागरमा मिसिएपछि
नियतिका राप र तापमा
सेकिएर बाफ बनेर
आकासतिर उडेका कणहरु
आज फेरि काञ्जिरोवामा ठोक्किएर
तिनै मूर्च्छित सपनाहरु
जगाउन आइपुगेका छन्
अर्काे एउटा मिर्मिरे लिएर
जहाँ म नलेखिएको कथाको
एउटा पात्र बनेर
क्षितिजको ढोकासामु उभिएको छु
उज्याला किरणहरुको पर्खाइमा
मुक्तिको यात्रा लेखिएको
सरयूको कथा सुनाउन ।
कविता यथार्थ परक छ । भाईलाई लेख्न उत्प्रेरणा मिलिरहोस् कामनाछ
धन्यबाद हजुरको हौसला र आशिर्वादका लागि 🙏🙏🙏