सर्वाधिक दुर्बल भाइरस- मानिस !
मानिस सर्वाधिक दुर्बल भाइरस हो। मानिसको जन्म र मृत्यु उसको अधीनमा छैन। तैपनि मानिस यो ब्रह्माण्डकै अधिपति हुने चाहना राख्दछ। अमीत वर्षहरूदेखि चल्दै आएको यो ब्रह्माण्डको शासन गर्छु भनेर महत्वाकांक्षाको राँकोमा मानिस होमिएको हुन्छ।
यो दुनियाँलाई जित्ने त परै छाडौं, यो ब्रह्माण्ड एवम् धर्तीका असंख्य विपत्तिमध्ये एउटा मात्रै अति सामान्य विपत्तिसँग पनि मानिस सजिलै परास्त हुन्छ, मृत्यु वरण गर्छ। आफैं आफैंबीच पनि पाखण्डको लडाईँमा मानिस खप्पिस छ।
अरुभन्दा आफू अब्बल एवम् शक्तिशाली भएको दम्भ बोकेर हिँडिरहेको हुन्छ। अमीत सामर्थ्य भएको प्रकृतिसँग निहुँ खोज्छ, गर्नसम्म दोहन गर्छ। तर फेरि त्यही प्रकृतितर्फ फर्किएर गुनासो गर्छ, विलाप गर्छ, वर्षा कम भए पनि डराउँछ, बढी भए झन् बाढी पहिरोको डरले आत्तिन्छ। हावा, हुरी, आँधी सुनामीसँग कहालिन्छ, भूकम्पको डरले घरै छोडेर भाग्छ।
अलिकता कमजोर हुँदा हतासिने र समय परिस्थिति अनुकूल हुँदा पाखण्डको पहाड बोक्ने मानिस यो सृष्टिकै अधर्मी, अस्थिर, जडाग्रही, एवम् अपरिपक्व प्राणी हो।
हामीले हाम्रै कर्मको फल बेला बेलामा भोगिरहेका हुन्छौं, तर पनि हामी चेत्दैनौं। विपदमा मात्रै चिच्याउनेभन्दा पनि समग्र ब्रह्माण्डलाई कसरी चराचर मैत्री बनाउनेतर्फ सोच्दै म ब्रह्मबाट पैदा भएको हुँ र ढिलो चाँडो त्यही ब्रह्ममा नै लीन हुन पुग्छु भन्ने चेत खुलाउन यो अवसरलाई सदुपयोग गरौं।
बाँच्न र बचाउनको लागि सम्पूर्ण प्रयत्न गरौं र यदि नबाँचिने भइयो भने पनि केही समय अघि पछिको कुरा त हो भनेर यथाशक्य खुसी हुँदै समय बिताऔंँ। त्यही खुसी भाइरस परास्त गर्ने मिसायल बनेर प्रस्तुत हुनसक्छ।
मानिस आँफै एक्लै बाँच्न सक्दैन। मानिस सबैभन्दा दुर्बल परजीवी (भाइरस) हो। पञ्चतत्वबाट बनेको शरीर त्यही पञ्चतत्व नभई बाँच्नै सक्दैन।
हावा, पानी, पृथ्वी, सूर्य, आकाश लगायत यस ब्रह्माण्डका हरेक ग्रह पिण्डहरू प्राणीहरू,तथा वनस्पतिहरू लगायतका विषय वस्तुहरू बिना मानिसको उत्पत्ति नै हुँदैन, बाँच्ने कुरा त कता हो कता। मानिसरुपी भाइरसले यो ब्रह्माण्ड निल्न खोजेको छ।
बेला बेला आइरहने भाइरसको महामारी पनि प्रकारान्तरले मनुष्य भाइरस नै हो। आफ्नै विनाश गर्ने भाइरस हुनबाट जोगिने उपाय खोज्नुपर्छ। अध्यात्मतर्फ लाग्नुपर्छ। जहाँ ‘सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास्, सर्वे भद्राणि पश्यन्तु माकश्चित् दुःखभाग्भवेत्’ भन्ने उदात्त भाव छ।
(दर्शनशास्त्रका अध्यापक तथा विश्लेषक मोदनाथ खनालको टिप्पणी)