भाषाशास्त्री सापकोटाको स्मृति, स्रष्टाहरू पुरस्कृत

विराटनगर । भाषाशास्त्री महानन्द सापाकोटाको १२७औँ जन्मजयन्ती अवसरमा विराटनगर र इलाममा शनिबार विशेष कार्यक्रम आयोजना गरियो ।
विराटनगरको त्रिमूर्ति चोकमा सापकोटाको समृतिमा कविता वाचन गरिएको थियो भने इलामको देवानछापमा आयोजित कार्यक्रममा उनको नाममा स्थापित पुरस्कार स्रष्टाहरुलाई प्रदान गरिएको थियो ।
विराटनगरको त्रिमूर्ति चोकमा भेला भएर साहित्यकारहरुले सापकोटाको सालिकमा माल्यार्पण गरेका थिए । त्यसै अवसरमा कविता वाचन पनि गरिएको थियो ।
प्राज्ञ दधिराज सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रामबाबु दाहाल, सीमा आभास, दिनेशराज सुवेदी, शिवनारायण पण्डित, शुभलक्ष्मी लम्साल, लक्ष्मी रायमाझी खड्का, अजिता प्रधान, मन्दिरा मधुश्री, भक्ति दाहाल, भेषराज पोखरेललगायत साहित्यकारहरुको सहभागिता थियो ।
साहित्यकारहरुले भाषाशास्त्री सापकोटाका रचना तथा आफ्ना कविता वाचन गरेका थिए ।
नेपाली लेखक संघ मोरङको आयोजनामा भएको कार्यक्रममा सापकोटाले नेपाली भाषामा र शिक्षाको क्षेत्रमा दिएको योगदानबारे चर्चा गरिएको थियो ।
स्रष्टाहरुको सम्मानमा विराटनगर महानगरपालिका ५ स्थित त्रिमूर्ति चोकमा आदिकवि भानुभक्त आचार्य, भाषाशास्त्री महानन्द सापकोटा र मैथिली भाषाका महाकवि कोकिल विद्यापतिको प्रतिमा स्थापना गरिएको छ ।
यसैबीच, शनिबारै सापकोटाको जन्मस्थल इलामको इरौंटार, देवानछापमा आयोजित कार्यक्रममा उनको नाममा स्थापित पुरस्कार हस्तान्तरण गरिएको छ ।
महानन्द पुरस्कारबाट झापाका स्रष्टा कोमलप्रसाद पोखरेल र महानन्द प्रोत्साहन पुरस्कारबाट इलामको चुलाचुलीका कवि सुन्दर कुरुपलाई सम्मान गरियो ।
त्यसै अवसरमा भवानी घिमिरे रङग–पुण्य स्मृति पुरस्कारबाट इलामका कवि विमल वैद्य र झापाका हीरा आकाश एवं पूर्ण–टुङ्ग पुरस्कारबाट पाँचथरका स्रष्टा प्रेम ओझा सम्मानित भए ।
पुरस्कृत स्रष्टाहरुलाई अग्रज स्रष्टा दिनेश अधिकारीले दोसल्ला र सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
महानन्द पुरस्कार समितिका अध्यक्ष कवि केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित स्रष्टाबारे पत्रकार चन्द्र भण्डारीले बोलेका थिए ।
इलामको इरौंटार, देवानछापमा १९५३ मा जन्मिएका सापकोटा सापकोटाले नेपाली भाषा, साहित्य र पत्रकारितामा योगदान दिएका छन् । उनका दुई दर्जन कृति प्रकाशित छन् ।
सापकोटाको २०३५ साल असार १ गते उनी विराटनगरमा निधन भएको थियो ।