नीरा सुब्बा नेचालीकृत ‘हाइकु यात्रा’ को सहयात्री हुँदा

मलाई सम्झना गरेर पठाइएका भक्कु किताबहरूमध्ये अहिले भर्खरै पढिसिध्याएको किताब हो– नीरा सुब्बा नेचालीकृत ‘हाइकु यात्रा’ । आफ्नू पहिलो कृति सँगसँगै नीराले उनकै पापा हस्त नेचाली लिखित निम्न किताबहरू पनि छोडेकी रहिछन्–

–अनन्त यात्रा, मौलिक कथासंग्रह– १९७८
–समर्पण (सामाजिक मौलिक नाटक) र पाँच रेडियो नाटक–२०१४
–भारतेली नेपाली साहित्य स्रष्टाहरू– भाग दुई– २०१६
–अनौठो सम्झौता, कथासङ्ग्रह– २०१६
–घामछायाँको जिन्दगीमा, संस्मरणहरूको सँगालो– २०१९

स्मरण गराइन्छ, भारतीय नेपाली साहित्यका लब्धप्रतिष्ठित एवम् स्वनामधन्य साहित्यकार हस्त नेचालीका उपरोक्त कृतिहरूबारे अहिलेलाई हेनतेन भन्नु छैन । कारण, डा. अमिर दर्जीको भगीरथ प्रयासमा उनै स्वनामधन्य साहित्यकार हस्त नेचाली श्रद्धापूर्वक अभिनन्दन ग्रन्थ प्रकाश गर्ने भएकाले र मलाई पनि हस्त नेचालीको कुनै एउटा कृतिमाथि समीक्षात्मक टिप्पणीको निम्ति अनुरोध गरेकाले आदरणीय दाइको अनेकन कृतिहरूमध्ये नाटकमाथि नै केही टिप्पणी गर्ने योजना भएकोले हस्त नेपालीका कृतिबारेको प्रसङ्ग यहीँ टुंग्याउँदै नीराकृत ‘हाइकु यात्रा’ सामान्य रुपमा टिप्पणी गर्ने जमर्को गरेको छु ।

हाइकु यात्रा– सामाजिक सञ्जालको बाइपंखी घोडामा चढी हाइकु लेखन आरम्भ गर्ने नीरा सुब्बा नेचालीको हाइको यात्रा आरम्भ भएको देखिन्छ । चौतारी साहित्य मञ्च प्रकाशित कविता सङ्कलनमा नीराका एकै खेपमा अस्सीवटा हाइकु प्रकाशित भएपछि हाइकु यात्रामा बुइ चढेर खुरन्धार हाइकु लेखिरहेकी छन् नीराले ।

त्यसैको प्रमाणस्वरुप उनको हाइकु यात्राको पहिलो हाइकुकृति ‘हाइकु यात्रा’ नाउँमा हाम्रो हात–हातमा परेको छ । भारतीय नेपाली हाइकु फाँटमा नीरा सुब्बाको नेचालीको प्रस्तुत कृति थप भएकोमा हाइकुकार नीराकन भक्कु स्याबासीका साथै अशेष शुभकामना ।

प्रस्तुत हाइकु संग्रहमा मोठ ४५० वटा हाइकु परेका छन् । यी हाइकुहरूमा हाइकुकार नीराले विम्बात्मक रुपमा नेपाली जनजीवनभित्रका पीडा, प्रतारणा, बेलगाम कोहोला मच्याउने धूर्तहरूका विकृति र छलकपटको विरोधमा नजानिँदो पाराले सोँड्क्याएको पाइन्छ । यिनका हाइकुमा दार्जिलिङ पहाडका प्राकृतिक, सांस्कृतिक, सामाजिक, राजनैतिक स्थिति, चियाका मार्मिक कुराहरूलाई छोटो रुपमा भए पनि गतिलै कुरा गरेकी पाइन्छ–

दार्जिलिङ टी
पिउँदै पिउँदिनँ
आफ्नै रगत । (४)

चुहेको डोको
आहाल छ सपना
नाम्लोको भार । (३२)

टिस्टा, रङ्गीत
पहाडको गरिमा
भत्केको बाँध । (६२)

हाइकु मूल रुपमा जापानी कविता हो । जापानी संस्कृति परम्परा, जापानी जनमानस र सौन्दर्य–चेतनामा हाइकु जन्म भएर यसैबाट हुर्के जस्तै हाइकुलाई काव्यविधाको रुपमा मात्सुओ बाशो (१६४४–१६९४)–को हात समातेर विश्व हाइकु फाँटमा आफ्नो पखेटा फैलाएजस्तै हाइकुकार नीरा पनि आफ्नू हाइकु लेखन यात्राकालमा सामाजिक सञ्जाल मार्फत् निक्कै भारतीय अनि नेपालका जण्डा–जण्डा हाइकुकारसित सामिप्यतामा आएपछि उनका हाइकुमा अनुभूतिका चरम स्पर्शका साथै विम्ब समिपता (वगहतबउयकष्तष्यल या तजभ ष्mबनभक) यिनको हाइकुको मूल संरचना देखिन्छ ।

हाइकुमा ऋतुसूचक शब्द जसलाई किगो पनि भनिन्छ; आउनुपर्छ भनिएको छ । नीरा पनि यसमा चुकेकी छैनन्–

वसन्त ऋतु
गाउँदैछ कोइली
नृत्य वनको । (१०)

त्यसरी नै,
अल्छे शिशिर
प्रफुल्लित छ शरद्
शान्त हेमन्त । (११२)

अर्को पनि,
वसन्त ऋतु
मनोरम मौसम
भुल्दैछ आफैँ । (३१३)

तर हाइकुमा ऋतुसूचक शब्द हुनैपर्छ भन्ने कुनै करकाप चाहिँ छैन । यिनका हाउकुमा प्राणीप्रति प्रेमभाव जाग्नुका साथै मानवको अन्तःप्रकृतिप्रति पनि कुनै कञ्जुस्याइँ नगरी वकालती गरेको पाइन्छ ।

हाइकु कवितालाई सर्वप्रथम भारतमा ल्याउने श्रेय कविवर रवीन्द्रनाथ ठाकुरलाई जान्छ । आफ्नो जापान यात्रा सिध्याएर भारतमा चरणस्पर्श गरेपछि सन् १९१९ मा ‘जापानी यात्री‘ मा हाइकुको चर्चा गर्दै बङ्लामा उनै बाशोका दुइटा हाइकु बङ्ला भाषामा अनुवाद गरी स्थानीय बङ्ला पत्रिकामा प्रकाशत गरेको पाइन्छ–

“पुरोनो पुकुर
ब्यांगेर लाफ
जलेर शब्द ।

बाशोको जापनी हाइकु

फुरुइके या
काबाजु तोविकोमु
मिजुनो ओतो ।।

नेपाली अर्थ

पुरानो कुवा
भ्यागुतोको बुर्कुसी
पानीको स्वर ।। (बी.के पाल्पाली)

पचा डाल
एकटाको
शरत्काल ।

त्यसरी नै, ढिलै भए पनि शङ्कर लामिछानेले हाइकुलाई नेपालमा भित्र्याएर बिर्सिनै नसकिने गुण लाएका छन् । ठुङमार्दो कुरो ता के भने, सन् १९६५ मा मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास ‘शिरीषको फूल’ को आरम्भमै हाइकुकै बुइ चढी सिङ्गो उपन्यासमै हाइकुलाई समेटेको पाइन्छ–

शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।।

शङ्कर लामिछानेकै अर्को प्रसिद्ध हाइकु–

माकुरा जाल
झोल्लिएको ओसले
तन्किदै गयो । (रुपरेखा पूर्णाङ्क १६ भदौ)

चित्तदुख्दो कुरो, शङ्कर लामिछानेले सर्वप्रथम हाइकुलेखनको शिलान्यास गरे पनि यसको घरेट बनाउने कर्मीहरूको झण्डै साढ़े तीन दशकसम्म सुतेरै बसेका देखे । अहिले पनि भक्कु हाइककारहरूको जमात देखिन्छ ।

हाइकुकै कुरा गर्नुपर्दा, व्याकरणको आधारमा ५–७–५=१७ अक्षर सिद्धान्त मिल्ने गरी हाइकु लेखिनु अनिवार्य हुनाले हाइकुकारले यो सिद्धान्तलाई अक्षरशः पालना गरेको देखिन्छ ।

हाइकु साधनाको कविता हो । थोरै शब्दमा केही भन्नु त्यति सजिलो छैन । तर हाइकुकार नीराले थोरै शब्दमा धेरै कुरो भनेकी छन् हाइकुहरूमा । हाइकु लेख्न निकै धैर्यको नितान्तै आवश्यकता देखिन्छ । यिनको धैर्य बेजोड पनि देखिन्छ ।

यिनको व्यक्तित्वमै पनि त्यो धैर्य, त्यो गम्भीरपनाको रमरम छाप देखिन्छ । हाइकुको निम्ति गम्भीर चिन्तन, एकाग्रता र अनुभूति भरपूर सामग्री चाहिन्छ । यी सबै सेमे सरजाम हाइकुकार नीरासित विद्यमान रहेकोले अनुभूतिको बल र बुतामा हाइकु मार्फत् निजी विचार अभिव्यक्त गर्नमा नीरा सिपालु देखिन्छिन् ।

यिनका हाइकुमा प्रकृति बोलेको सुनिन्छ । यिनको कला जीवन दर्शनको स्पष्ट मानचित्र देखिन्छ । यिनको हाइकुमा प्रकृति तर मानवमाझको अकाट्य सम्बन्ध देखिन्छ । यिनको हाइकु गुराँस रमाइरहेको भेटिन्छ । यिनको हाइकुमा मृगका पाठाहरू खुसी रमाउँदै बुर्कुसी मारेजस्तो देखिन्छ ।

तर दुःखलाग्दो कुरो, हाइकुमा आएको सिद्धान्तलाई खँजाहा (विचलन) पारेको पनि देखिन्छ । यो सैद्धान्तिक विचलन ठ्याम्मै माफ हुन सक्तैन । हाउकुको ५–७–५ लाई खँजाहा पारी ५–७–७ बनाउन खोजेको पनि नभेटिएको होइन । कति चाहिँ आफ्नो विद्वताकोक बठ्याइँ देखाउन ३–५–३ को हाइकु लेखिटोपल्नेहरू पनि हाइकु बजारमा नभेटिएको होइन । तर गधालाई धोएर कहिल्यै गाई बनाउन सकिँदैन । यसकारण हाइकुबारे लुतो न कनाइ केही नहुनेहरू वा कुनै जानकारी नै नहुनेहरूले जति नै हाइकुको शिरोच्छेदन गर्न तम्सिए पनि हाइकुको अस्तित्व कहिल्यै कुनै जुनीमा पनि विलोप हुनेछैन ।

नीराका हाइकुमाथि तत्काल अरु धेर लेख्न सकिएन । सो को दुःख मनाउ छँदैछ । यद्यपि भविष्यमा नीरा सुब्बा नेचालीको प्रस्तुत हाइकुककृति ‘हाइकु यात्रा’माथि विशद् समीक्षा लेख्ने विचार लिएको छु ।

हाइकु लेखनमा नीराको भविष्य उज्जवल देख्छु म । यिनी हाइकु साधनामा लागिरहुन् साथै हाइकुबारे घोर अध्ययनत गरुन् यति विन्ती बिसाएँ ।

नीरा सुब्बा नेचालीको हाइकु यात्रा ठ्याम्मै नरोकियोस्..अविराम, अहर्निश यो यात्रा हाइकुको गल्छिँडी, खो–खोल्सा, भीर पहरा–कन्दरा छिचोल्दै यो यात्राले हाइकुको ठिक गन्तव्यस्थल पुगी एउटा माइल खुट्टीमा परिणत होवोस्…अनगन्ति शुभकामना यो हाइकु यात्राको निम्ति ।

जय होओस् हाइकुकार नीराको
जय होओस् ‘हाइकु यात्रा’को
अस्तु ।।

–सिलिगुडी (भारत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *