सगरमाथा चुचरोमा पुग्न आरोहीको लस्कर

काठमाडौं । यसपालि देश तथा विदेशका ४ सयभन्दा बढी आरोहीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने प्रयास गर्ने भएका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बुधबारसम्म ४६३ जनाले अनुमति लिइसकेका छन् । यो संख्या अझ बढ्न सक्ने जनाइएको छ ।

पर्यटन विभागले सगरमाथा आरोहणका लागि अनुमति लिनेहरुको उल्लेखित संख्या हालसम्मकै बढी भएको जनाएको छ ।

विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाका अनुसार यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए ।

अनुमति लिएकामध्ये नेपालका १२ जना र बाँकी विदेशी नागरिक हुन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ । नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।

यस वर्ष सगरमाथा आरोहणको अनुमतिबापत ६५ करोड तीन लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।

अनुमति लिएका आरोहीहरू सगरमाथालगायतका हिमालको आधार शिविरमा पुगिरहेका छन् ।

यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि बुधबारसम्म २४ वटा हिमालमा एक हजार ४६ जनाले अनुमति लिएका छन् ।

तस्बिर : सेभेन समिट ट्रेक्स


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *