छिन्तापु (कविता)

ऋतुराज वसन्तले रङ्गाएको
लालीको लालित्य पोतिएर
माधुर्य गुञ्जिएर मोहित बनाउने
सप्तरङ्गी वासनाको वरिपरि घुमिरहेको
अदम्य चाहनाको पहाड उक्लिँदै
बादलका भ‍‍र‍्‍याङहरु चढ्दै
तिम्रै काखमा लुटपुटिन आइपुगेको
म एउटा यात्री,
अनि तिम्रै मधुकर
तिम्रो अपार सुन्दरताभित्र डुबुल्की मार्दा
भन तिमीलाई म के सम्बोधन गरुँ ?
***
अस्ति तिमीले दिएको निम्तो मान्न
चार भञ्याङ उक्लिएर आएँ
तिमी लाजले भुतुक्क भएर लुक्न खोज्यौ
कति सुन्दर तिम्रा लाजहरु
तालपोखरीको गहिराइबाट
मलाई प्रेमिल नजरहरु लगाइरह्यौ
कञ्चनजङ्घा र कुम्भकर्ण बनेर
हो म त्यही नजरले मोहित भएँ
त्यही बेला हिउँका ढिम्काहरुलाई
घामका पारिला किरणहरुले चम्काएर
छल्किएका रहरहरुमा डुबुल्की मार्दा
भन तिमीलाई मैले के सम्बोधन गरुँ ?
***
तिम्रो प्यास मेटाउने बहानामा
कहिले तारेभीर काटेर आएँ,
कहिले धप्परका फाँटहरुमा सुस्केरा हाल्दै आएँ
गुराँसे पाखाहरुले तिमीलाई
बेहुलीझैँ सिँगारेका बेला
खुस्रुक्क तिमीलाई नसोधी आउँदा,
पाण्डा र थारको हुलहरुमा मिसिएर
पुतलीझैँ फिरफिर नाचिरहेकी
अनि कोइली भाकामा गुञ्जिरहेकी तिमीलाई
पाथीभराको थुम्कातिरबाट
उत्ताउँलिदै आएको बादलको घुम्टोमा
आलङ्गित भएकी तिमीलाई देखेर
सिरेटोले कठयाङ्ग्रिएका ओठहरुले
चुम्बनका तरङ्गहरु पस्किन खोज्दा
तिम्रा कामुक स्पर्शहरुलाई के सम्बोधन गरुँ ?
***
लहरै नारिएका हिमालहरुका
सोझो नजरहरुले चम्काइदिँदा
थुम्काथुम्कीले लुकाएका गहनारुपी
कञ्चन जल छचल्किरहेका पोखरीहरुले
एकछिन मन्द हावामा सुस्ताएर
माई, गीताङ, राते र पुवाखोलाका सुसाइहरु
अनि नाचिरहेका झरना गुञ्जाएका धुनसँगै
हिउँका ढल्ला छुँदै
तछाँमँछाड गर्दै दौडिएका बादलबीच
सन्तपुरसँग मुस्कुराएका बेला
साँच्चै मृगनयनी तिम्रा वाणहरु
छातीभित्रै गडिदिएका बेला
भन तिमीलाई के सम्बोधन गरुँ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *