१७ महिनामा तीन छोरा गुमाए, न्याय पाएनन्

७० वर्षीया पबित्रादेवी अधिकारी बेला बेला एक्कासि भक्कानिन्छिन् । उनलाई सम्हाल्न खोज्छन् पनि ७९ वर्षीय जंगबहादुर अधिकारी । तर सम्हाल्दा सम्हाल्दै आफैं आँशु झार्न पुग्छन् ।

उनीहरु मात्र होइन, अधिकारी दम्पतीको दुःखको कथा सुन्ने जोकोहीको आँखा रसाउँछ । यो परिवारले शृङ्खलाबद्ध रुपमा ब्यहोरेको दुःख र पीडाको कथा सुन्दा यति बिघ्न दुःख र पीडा कसरी खपिरहेका छन् भन्ने पनि लाग्न सक्छ ।

झापाको कन्काइ वडा नम्बर ३ का दम्पती हुन् पबित्रा र जंगबहादुर ।

१६ वर्षअघि २०६३ को माघे संक्रान्तिका दिनको घटनाबाट सुरु हुन्छ अधिकारी परिवारको पीडाको कथा । त्यस वर्ष पुस मसान्तका दिन स्थानीय खगेन्द्र कार्कीको वीभत्स हत्या भएको थियो । भोलिपल्ट माघे संक्रान्तिका दिन माइखोलामा मेला लागेको थियो ।


आफूले पाएका दुःखका घटनासँग सम्बन्धित कागजातहरु देखाउँदै पबित्रादेवी ।

कार्कीको शब माइमेलामा भेटिएपछि हत्या भएको ठाउँमा धेरै मानिसहरु पुगेका थिए । अधिकारी दम्पती पनि त्यहाँ पुगे । प्रहरीले अनुसन्धानका लागि भन्दै अधिकारी दम्पतीलाई घटनास्थलबाटै पक्राउ गरेर लग्यो ।

प्रहरीले उनीहरुलाई लगेपछि आक्रोसित एक समूहले कान्छा छोरा दीपकलाई जलाउन लागे । त्यसपछि प्रहरीले छोरालाई उद्धार गरेर लग्यो । तर भीडले अधिकारीको घर पूर्ण रुपमा जलाएर नष्ट गरिदियो । दमकललाई समेत आगो निभाउन नदिई फर्काइएको थियो । दीपकलाई घरभित्रै जलाउने प्रयास भयो तर प्रहरीले घर पछाडिबाट बचाएर लग्यो ।

कार्की हत्याको आरोपमा अधिकारी दम्पती, कान्छा छोरा दीपक, माइला पेशल समेतलाई प्रहरीले पक्राउ गरेको थियो । बन कार्यालय इलाममा कार्यरत माइला छोरा पेशल माघे संक्रान्ति मनाउन घर आएका थिए ।

१७ महिनाको अवधिमा अधिकारी दम्पतीले गुमाएका तीन छोराहरु ।

उनलाई सुरुङ्गा बजारबाटै प्रहरीले पक्राउ गरेर लगेको थियो । करिब एक महिनापछि अधिकारी दम्पतीलाई प्रहरीले प्रमाण नपुगेको भन्दै झापा जिल्ला आदालतको आदेशमा छाड्यो । कान्छा र माइला छोरालाई प्रहरीले छाडेन ।

घटनाको एक महिनापछि प्रहरीबाट मुक्त भएका अधिकारी दम्पती गाउँबाट करिब डेढ वर्ष विस्थापित अवस्थामा रहे । ‘एकपटक आएका थियौं तर यहाँ बस्न सक्ने अवस्था भएन, गाउँलेले बस्न नदिएपछि झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनालले ५ महिनासम्म बाहिर बस्नुस् पछि सबै ठिक हुन्छ भनेपछि हामी अन्यत्रै बस्यौं ।’

उनीहरु कहिले सडकछेउ सुते । कहिले जंगलमा । ‘एक घोघा मकैका भरमा रात काट्यौं, दुःख बयान गरी साध्य छैन’ जंगबहादुरले सुनाए, ‘अनाहकमा यतिसाह्रो दुःख कसैले नपाओस् ।’

घर जलाइएको र छोरोलाई जिउँदै जलाउने प्रयास भएको घटनाबारे छापिएको समाचार देखाउँदै जंगबहादुर ।

आफ्नो ठाउँबाट परपर कतिन्जेल बस्न सक्नु ? कसरी बस्नु ? के खानु ? यस्तो कष्टपूर्ण अवस्थाबाट मुक्तिका लागि उनीहरुले त्यतिबेलैदेखि प्रयास गरेका हुन् । आफूहरु निर्दोष प्रमाणित भइसकेपछि पुरानो ठाउँमा स्थापित गरेर क्षतिपूर्ति माग गर्दै उनीहरु कहाँ कहाँ धाउनन् ?

गाउँका नेता, जनप्रतिनिधि, प्रहरी, प्रशासनदेखि मन्त्रीहरुसम्म उनीहरु पटक पटक पुगेर अनुरोध गरे । तर केही सीप लागेन । हुँदैन कसैले भनेनन् तर केही गरिदिएनन् ।

उनीहरुले तत्कालीन गृहमन्त्री झापाकै कृष्णप्रसाद सिटौलाकहाँ पुगेर बिलौना गरे । तत्कालीन शान्ति मन्त्री एवं हालका राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पुगेर गुनासो सुनाए । अर्का गृहमन्त्री भीम रावललाई मन्त्रालयमै भेटेर कहानी बेलिबिस्तार लगाए ।

सबैले उनीहरुका कुरा सुने । अन्यायमा परेको महसुस गरेको प्रतिक्रिया पनि दिए । तर अहँ… उनीहरुलाई स्थापित गरी न्याय दिलाउनेतिर सिन्को भाँचेनन् ।

अब त घटना भएको डेढ दशक नाघिसकेको छ । तैपनि उनीहरु न्यायको आशमा छन् । जुन आरोपमा पक्राउ गरिएको थियो, त्यो नै पुष्टि नभएपछि अनाहकमा दुःख दिइएको भन्दै उनीहरुले न्यायको खोजी गर्दा पनि न न्याय पाए, न त क्षतिपूर्ति नै ।

दिवंगत तीन छोराहरुको तस्बिर देखाउँदै जंगबहादुर ।

२०७२ साल असोजमा दसैँका बेला ९ वर्षको काराबासपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले कान्छा छोराको कैद मिनाहा गरिदिए । पेशललाई पनि पक्राउ परेको १० महिनापछि प्रमाण नपुगेको भन्दै प्रहरीले छाडेको थियो ।

छोराहरु जेलबाट मुक्त भएपछि दम्पतीले धेरै समय उनीहरुको साथ पाएनन् । नियतिले अधिकारी दम्पतीलाई दिनुपर्ने दुःखको हिसाब चुक्ता भएकै रहेनछ ।

छुटेका दुई छोरा र साथमा भएको साइँलो छोरा उनीहरुले १७ महिनाको अवधिमा गुमाउनुपर्यो । २०६३ सालको घटनाका कारण पाएको कष्ट बिर्सिएकै थिएन, अरु दुःखहरु थपिँदै गए ।

आफ्ना चार छोरामध्ये उनीहरुले तीनजना छोरा फरक फरक घटनामा गुमाउन पुगे । अर्का छोरा टेकबहादुर अधिकारी पनि साथमा छैनन् । छुट्टिएर बसेका छन् ।

२०७६ मंसिर १ गते माइला पेशललाई मोरङको सलकपुरमा ट्रकले किचेर ज्यान लियो । उनी बितेको करिब १० महिनापछि अधिकारी दम्पतीले अर्को बज्रपात सहनुपर्यो ।

२०७६ जेठ २६ गते १० कान्छा दीपक दोमुखामा घुम्न गएका थिए । फर्केर आएनन् । खोजी गर्दा उनी त्यहीँ मृत अवस्थामा फेला परे । शरीरभरि नीलडाम थियो । टाउकामा चोट लागेको थियो ।

प्रहरीले जाँचबुझ गर्ने काम गर्यो । के हुँदैछ भनेर बुझ्दा प्रहरीको तयारी उत्तर मात्र उनीहरुले पाउने गरेका छन्– ‘अनुसन्धान भइरहेको छ ।’

दुईजना छोरा बिते । भएका अरु दुईजनाको अनुहार हेरेर चित्त बुझाइरहेका थिए । साइँला छोरा २०७७ माघमा बिरामी परे । उपचार हुँदै थियो । टाइफाइड भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा माघ १७ गते मृत्यु भयो । यसरी उनीहरुका तीनैजना छोराले १७ महिनाको अवधिमा छाडेर गए ।

अथाह पीडाबाट गुज्रँदै आएका अधिकारी दम्पतीमाथि अन्याय भएको भनेर उनीहरुसँग भेट्ने, कुरा गर्ने अनि कानुन कार्यान्वयन गराउने निकायमा बसेका अधिकारीहरु सबैले भन्ने गरेका छन् । अनुसन्धानबाट पनि उनीहरु दोषी होइनन् भन्ने प्रमाणित भएरै प्रहरीले मुक्त गरेको थियो ।

यति हुँदाहुँदै पनि क्षतिपूर्ति र न्याय पाउन भने उनीहरुका लागि दुरुह बनेको छ । नेपाली सेनाबाट जमदार पदमा पेन्सन लिएर निस्केका जंगबहादुरले अझै पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग धाउन छाडेका छैनन् । आयोगमा ५८ नम्बरमा दर्ता भएको उनको मुद्दामा कुनै सुनुवाइ भएको छैन ।

आक्रोसित समूहले जलाइदिएको अधिकारी दम्पतीको घर ।

‘के दशा आइलाग्यो हामीलाई’ अधिकारीले आँशुसरि हुँदै सुनाए, ‘असाध्यै पीडित भइयो, न्याय दिने निकायले वास्ता गरेनन्, राज्यबाटै पीडित बनाइयो । न न्याय पाइयो, न त छोराहरु रहे ।’

कान्छो छोराको मृत्यु भएपछि उनकी श्रीमती १२ महिनाकी छोरी छाडेर अर्कैसँग गइन् । पतिको वार्षिक काम समेत नसकी रंगेलीस्थित माइत जान्छु भनेर हिँडेकी उनी फर्किनन् ।

ती नानी अहिले ६ वर्ष पुगेकी छन् । उनको हेरचाह गर्दै अधिकारी दम्पती बसिरहेका छन् ।

‘बाँच्न पाउने अधिकार हनन’

राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश प्रमुख पवनकुमार भट्ट शंकाका भरमा अधिकारी दम्पतीमाथि अन्याय भएको बताउँछन् ।

‘शंकाका भरमा मानिसले बाँच्न पाउने अधिकार हनन भएको यो घटनाबाट बुझिन्छ’ उनले भने, ‘शंकाकै भरमा त्यसरी आपराधिक रुपमा वीभत्स ढंगले गरिएको हत्या घटनाको बारेमा राम्ररी नबुझी मनपरी गरिएको देखिन्छ ।’

पीडित परिवारले बाँच्न पाउने अधिकार र सम्पतिको अधिकारसम्म रक्षाको गम्भीर उल्लंघन भएको देखिएको भट्टको बुझाइ छ । राज्यका सम्बन्धित निकायले ध्यान नदिएको कारण पीडितले न्याय नपाउनु दुःखद भएको उनले बताए ।

‘एकातिर बाँच्न पाउने अधिकार कुण्ठित भयो’ भट्टले भने, ‘अर्कातिर जनधनको समेत क्षति हुँदा पनि अधिकारी परिवारले राहत पाउन नसक्नु बिडम्बना हो ।’

‘राज्यबाट न्याय पाएनन्’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कोशी प्रदेश प्रमुख एवं अधिकारकर्मी सोमराज थापाले राज्यले सुरक्षा दिन नसक्दा वर्षौंदेखि अधिकारी दम्पतीले न्याय पाउन नसकेको बताए ।

उनले राज्यले सुरक्षा दिन नसक्दा मानिसहरुले निकै दुःख पाइरहेको बताए । कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका यस्ता घटनाहरु बढिरहेको भए पनि सबैले न्याय पाउन नसकिरहेको थापाको भनाइ छ ।

-पवन अधिकारी/प्रदेश खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *