दुर्व्यसनमुक्त जिल्ला बनाउन स्थानीय सरकारसँग सहकार्य

इलाम । लागूपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई मध्यनजर गर्दै इलाममा यसविरुद्ध अभियान तीव्र पारिएको छ ।

यस सन्दर्भमा प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तरक्रिया, अनुभव आदानप्रदान र सुझाव संकलन जस्ता काम गरिएको छ ।

सिर्जनशील काममा लाग्नुपर्ने, भविष्य बनाउन मेहनत गर्नुपर्ने पुस्ता दुर्व्यसनमा लाग्दा कसैलाई फाइदा नहुने बुझाइका साथ अभियानलाई संस्थाले तीव्र रुपमा अघि बढाएको हो ।

यसको अगुवाइ ज्योतिर्मय सामाजिक अभियानले गरेको छ । ‘लागूऔषपध दुर्व्यसनमुक्त इलाम’ भन्ने मूल उद्देश्यसहित यो संस्था सक्रिय बनेको हो ।

अभियानअन्तर्गत इलामका १० वटै पालिकाहरुसँग सहकार्य गरेर काम अघि बढाइने भएको छ ।

लागूपदार्थ दुर्व्यवसनबाट हुने समस्यालाई सम्बोधन गर्नका लागि नीति तथा कार्यक्रम बनाएर रोकथाम र नियन्त्रणको काम गर्न पालिकाहरुलाई संस्थाले सहयोग गर्ने भएको छ ।

अभियानका क्रममा पालिकाहरुले गर्ने कार्यक्रमहरुमा संस्थाले प्राविधिक सहयोग गर्ने अध्यक्ष धीरेन चेम्जोङ्गले बताए ।

दुर्व्यसन रोकथाम र नियन्त्रणका लागि फोकल पर्सन तोकेर आवश्यक क्रियाकलाप गर्दै आफ्नो पालिकालाई लागूऔषध दुर्व्यसनमुक्त बनाउने अभियानमा जुट्न संस्थाले अपिल गरेको छ ।

पछिल्लो समय युवाहरुमा लागूपदार्थ दुर्व्यसनको अवस्था बढिरहेको पाइएको छ । इलामसहित पूर्वका विभिन्न जिल्लामा हरेक दिनजसो लागूपदार्थसहित युवाहरु पक्राउ पर्ने क्रम पनि बढेको छ ।

खासगरी खुला सीमाका कारण भारतीय बजारबाट लागूपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने, प्रयोग गर्ने जस्ता काम बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

पछिल्लो सर्वेक्षणअनुसार नेपालमा झण्डै डेढ लाखको हाराहारीमा लागूऔषध प्रयोगकर्ता छन्। तिनमा महिलाको संख्या पनि उल्लेख्य देखिएको छ ।

१५ देखि ५० वर्ष उमेर समूहका मानिसहरु दुर्व्यसनमा लागेको पाइएको छ । दुर्व्यवसनमा लागेकाहरुलाई सुधार्न देशभरि २ सय ४० वटा पुनःस्थापना केन्द्र सञ्चालनमा छन् ।

विश्व स्वास्थ्य संघको २०२१ को प्रतिवेदनअनुसार विश्वमा करिब २९ करोड ६० लाख मानिसले लागूऔषध प्रयोग गर्ने गरेका छन् ।

तीमध्ये ३ करोड ९५ लाख मानिसहरुले दुर्व्यसनका कारण हुने विभिन्न स्वास्थ्य समस्या भोगिरहेको तथ्यांक छ ।

इलाममा दुर्व्यसनीको संख्या कति छ भन्ने यकिन तथ्यांक नभए पनि पछिल्लो समय गाउँ सहरमा लागूऔषध प्रयोगको अवस्था बढ्दै गएको पाइन्छ ।

यसै कुरालाई ध्यान दिंदै ज्योतिर्मय सामाजिक अभियानले गाउँ, सहर, पालिका र सिंगो जिल्लालाई नै लागूऔषध दुर्व्यसनमुक्त बनाउने अभियान थालेको अध्यक्ष चेम्जोङ्गले बताए ।

दुर्व्यसनले प्रयोगकर्ताको जीवन मात्र समाप्त पार्ने नभइ परिवार र समाजलाई पनि ठूलो क्षति पुर्याउने गरेको भन्दै उनले बेलैमा सबैले अग्रसरता लिइ यसलाई रोकथाम नगर्ने हो भने भयावह अवस्था आउने बताए ।

‘यो समस्यालाई समाधान सम्बोधन गर्दै समाधानतिर जान सबैको हातेमालो आवश्यक छ’ चेम्जोङ्ले भने, ‘त्यसैले हामीले स्थानीय सरकारहरुसँग सहकार्य गर्न थालेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *