३५ रुपैयाँमा भरपेट ‘जनता थाली’

३५ रुपैयाँ भारुमा के पाइन्छ ?

एक कप कफी या एक गिलास लस्सी पनि पाउन गाह्रो छ । बनारसमा ३५ रुपैयाँ भारुमा दालभात, तरकारी रोटी र अचार खान पाइन्छ पेटभरी ।

बनारसको बाँसफाटकमा विश्वनाथ मन्दिरनजिकै ‘जनता थाली’ खान पाइन्छ । बनारस घुम्न आएका यात्रीहरुको सुविधालाई ध्यानया राखेर बाँसफाटस्थित जालान इम्पेक्समा पाँच महिनाअघि शुरु गरिएको यो सतप्रयासमा अहिले दैनिक करिब हजारजनाले यो ‘जनता थाली’ खाइरहेका छन् ।

बनारसको मुटु मानिएको विश्वनाथ मन्दिर र अन्नपूर्णा मन्दिर क्षेत्रमा यात्रीहरुका लागि निःशुल्क ‘अन्न क्षेत्र’ सञ्चालित छ ।

वरिपरि वातानुकूलित महँगा शाकाहारी रेष्टुरेण्ट पनि छन् । त्यस्तो व्यस्त ठाउँमा केशव जालानले शुरु गरेको ‘जनता थाली’ मा शुरुआती केही दिन निःशुल्क खाना बाँडिएको थियो ।

त्यसपछि अत्यन्त थोरै पैसामा दानस्वरुप यो ‘जनता थाली’ ले भोकाएका यात्रीहरुको पेट भरिरहेको छ । यहाँ गरिब मात्रै हैन, राम्रै आर्थिक स्थितिका व्यक्तिहरु पनि परिवारसहित खान आउँछन् ।

कसै कसैले टिफिन बक्समा खाना हालेर लैजान्छन् । प्रहरीका लागि पाँचरुपैँया छुट दिइएको छ खानामा ।

आलुपराठा भारु ३० मा दुई पिस पाइन्छ । खानामा तरकारी हरेकदिन फरक र कुनै दिन दालको ठाउँमा कढी पनि दिइन्छ ।

जति मान्छे खान आएपनि अटाउन सक्ने ठूलो हलमा खान पाइन्छ । सरसफाइको विशेष ध्यान राखिएको छ ।

कागजका प्लेट र गिलासमा खाना र मिनरल वाटर पिउन दिइन्छ । मिनरल वाटरका जार राखिएको छ ।

त्यतिमात्र हैन, सिँढी चढ्नु पर्दैन । यात्रीलाई तलैबाट लिफ्टले माथिल्लो तल्लामा रहेको ‘जनता थाली’ मा पुर्याइदिन्छ ।

जनता थालीको तल रहेको ‘प्रसादम’ रेष्टुरेण्टमा दुईसय रुपैयाँ भारुमा थाली पाइन्छ । यहाँ चिल्लो पिरो नभएको सादा खाना खुल्ला र सफा वातावरणमा पस्किइन्छ । तात्तातो रोटी खान पाइन्छ ।

दिउँसो १ बजे खान जाँदा साढे तीनसय व्यक्तिले खाइसकेको यहाँका व्यवस्थापक विजय त्रिवेदीले कुपन देखाउँदै जानकारी दिए ।

यहाँ गरीबलाई खाना खुवाउनका लागि कुपन पनि किन्न सकिन्छ । कतिपयले भिखारीलाई पैसा दिनुभन्दा यहाँबाट कुपन किनेर त्यही कुपन मन्दिर वरिपरी माग्न बसेका भिखारी र गरिबलाई बाँडिदिन्छन् ।

धेरैले एकैपल्ट महिनाको एकमुस्ट कुपन किनेर गरिबलाई बाँड्ने गरेको पनि ‘जनता थाली’ का एक कर्मचारीले बताए । यो व्यवस्था नौलो र उदाहरणीय रहेछ ।

–बनारस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *