रङ के हो ?

रङ संवेदना हो
रङ दृष्टिकोण पनि हो
रङ आँखा हो
रङ हृदय पनि हो
रङ भौतिक हो
रङ अभौतिक पनि हो
रङ स्वयं वस्तु हो
रङ उसकै छाया पनि हो ।
रङ आस्तिक हो
रङ नास्तिक पनि हो
रङ धर्म हो
रङ कर्म पनि हो
रङ कतै राग हो
रङ अनुराग पनि हो
रङ अलिअलि जीवन हो
र अलिअलि मृत्यु पनि हो ।
रङ सीमाहीन खुसी हो
रङ पीडादायी आँसु पनि हो
रङ हर्ष र उमङ्ग हो
विस्मय र विस्मात् पनि हो
रङ स्वीकृति हो
रङ विमति पनि हो
रङ समर्थन हो
रङ विरोध पनि हो ।
रङ शान्ति हो
रङ क्रान्ति पनि हो
रङ सुन्दरता हो
रङ कुरुपता पनि हो
रङ विविधता हो
रङ एकता पनि हो
रङ एउटा दृष्टि हो
रङ पूरा सृष्टि पनि हो
रङ पूर्ण हो
रङ ‘सम्पूर्ण’ पनि हो
रङ समय हो
रङ शून्यता पनि हो
रङ रङ्गीन हो
रङ ‘रङ्गहीन’ पनि हो
किनकि रङ अलिअलि सत्य हो
र अलिअलि भ्रम पनि हो ।
प्रतिक्रिया
होलि पर्बको उपलक्ष्यमा यो रङिन कबिताको कवि लगायत सम्पूर्ण मा शुभकामना।
धन्यबाद सर । हजुरलाई पनि रङ्गीन शुभकामना💐💐🌹🌹🙏🙏