तरकारी र फलफूलको विषादी परीक्षण गर्न सरकारको चासो

काठमाडौं । विषादीयुक्त तरकारी र फलफूलका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परिरहेको अवस्थालाई ध्यान दिन विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

भारतलगायत विदेशबाट भित्रने तरकारी र फलफूलको विषादी परीक्षण गर्नुपर्ने माग धेरै अघिदेखि उठ्दै आएको छ ।

सरकारले पटकपटक परीक्षण गर्ने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर नियमित परीक्षण नभइकनै तरकारी नेपाल भित्रने गरेको छ ।

नेपालमा अर्बौं रुपैयाँको तरकारी र फलफूल भित्रन्छ । तर परीक्षण नगरी सिधै उपभोक्तासम्म पुग्ने भएकाले त्यसले नकारात्मक असर गरिरहेको जानकारहरुको भनाइ छ ।

परीक्षण नगरी तरकारी र फलफूल आयात गर्न दिएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै आलोचना भएपछि सरकारले विषादीको स्तर निर्धारणसम्बन्धी प्रस्ताव अघि बढाउने भएको छ ।

यसअघि पनि त्यस्तो प्रस्ताव आएको तर त्यसलाई प्रक्रियामा लैजान बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयातीत तरकारी तथा फलफूलमा प्रयोग हुने जीवनाशक विषादीको अधिकतम सीमा, एमआरएल निर्धारण गर्न सम्बन्धी नयाँ प्रस्ताव अघि बढाउने भएको छ ।

गत भदौ १५ मा मन्त्रालयले विषादीको स्तर निर्धारणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । उक्त प्रस्ताव नयाँ सरकार गठनपछि फिर्ता गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा प्रस्ताव फेरि अगाडि बढाउन लागिएको जनाइएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको टोलीले काठमाडौंको कालीमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण गरेको थियो ।

नेपालमा वार्षिक १६ अर्बभन्दा बढीको तरकारी आयात हुने गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको ६ महिनामा साढे ९ अर्बभन्दा बढीको आयात भइसकेको छ ।

सीमावर्ती नाकामा रहेका प्रयोगशालामा अर्गानो फस्फेट र कार्वामेट समूहका विषादीमात्र परीक्षण हुने गरेको छ । छिमेकी देशबाट आयात हुने तरकारीमा अन्य हानिकारक विषादी पनि प्रयोग भइरहेकाले तिनको पनि परीक्षण गरिनुपर्ने माग उठ्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *