यी हुन् मानिसलाई कंगाल बनाउन सक्ने वास्तुदोष

मानव जीवनमा संघर्षको एउटै लक्ष्य हुने गरेको छ– खुसी तथा सुखी जीवन । यसका लागि सबैले अहोरात्र काम गर्नेदेखि लिएर आवश्यक पर्ने हरेक प्रयास गर्ने गरेका हुन्छन् । मेहनतका बावजुद पनि अपेक्षाकृत सफलता नपाउँदा मानिसले भाग्यलाई दोष दिने गरेका छन् ।

पछिल्लो समय नेपालमा वास्तुसम्बन्धी चासो तथा चर्चा बढेको छ । घरको शक्ति सन्तुलनलाई मिलाउनको लागि प्रयोग गरिने शास्त्र भएकाले घर बनाउनुभन्दा पहिलेदेखि नै वास्तुको विषयमा चनाखो हुने गरेको पाइएको छ । कस्तो जग्गामा घर बनाउने, कुन दिशातर्फ घर फर्काउने, कुन दिशातर्फ सुत्ने कोठा तथा भान्छाघर बनाउने विषयमा अचेल निकै ध्यान दिन थालिएको छ ।

वास्तुका सबै आवश्यक तत्व मिलाउन प्रयासरत् रहँदारहँदै पनि कतिपय गल्तीका कारण आफ्नै घरमा वास्तुदोषलाई स्थान दिइरहेका हुन्छन् । जसले मानिसलाई कंगाल बन्ने दिशातर्फ लगिरहेको हुन्छ । तिनै केही वास्तु दोषको बारेमा यहाँ चर्चा गरिएको छ ।

फुटेको वस्तु

टुटेको तथा फुटेको सिसा, भाँडाकुँडा, सजाउने सामग्री, फोटोफ्रेम, इलेक्ट्रोनिक वस्तु घरमा रहँदा वास्तुदोष लाग्ने मानिएको छ । यी वस्तुको प्रयोग पनि खासै नहुने तर फाल्न माया लाग्दा घरमा राखिने गरिएको छ, यसले नकारात्मक ऊर्जा दिने वास्तुशास्त्रले उल्लेख गरेको छ । यसका कारण मानिसको सञ्चित धन नोक्सान हुँदै जाने हुन्छ । यसको दोष निवारणका लागि अविलम्ब यस्ता वस्तुलाई ठेगान लगाउन आवश्यक रहेको जनाइएको छ ।

माकुराको जालो

परापूर्वकालदेखि नै घरमा माकुराको जालो हुनुलाई अशुभ मानिएको छ । मानिस बस्ने घरमा माकुराको जालो हुनु हुँदैन भन्ने पुरानो मान्यतालाई वास्तुशास्त्रले पनि अनुशरण गरेको छ । माकुराको जालो हुनुले भएको धनको नाश हुनुको साथै अनावश्यक ऋण लाग्ने हुनाले यस्तो वास्तुदोषलाई तुरुन्तै निवारण गर्न सुझाइन्छ ।

गलत तस्विर

कतिपयले घरमा युद्धसम्बन्धी तस्विर राख्ने गरेको पाइन्छ । वास्तु शास्त्रअनुसार युद्ध तथा युद्धको तस्विरबाट नकारात्मक ऊर्जा प्रवाह हुन्छ । यस्ता तस्विर राख्दा घरमा बालबालिकाहरु झगडालु तथा रिसाहा हुने बताइएको । त्यस्तै डुब्दै गरेको जहाज, जंगली जनावरको चित्र, काँडा भएको बोट बिरुवा जस्ता चित्र वास्तु अनुकूल मानिंदैन । यसले मानसिक शान्ति घटाउनुको साथै धनको पनि नोक्सानी गर्ने बताइएको छ ।

फाटेको कपडाको पोको

फाटेका टालाटुलीहरु काम लाग्छ भन्दै पोको पार्दै राख्ने स्वभाव पनि वास्तुदोषको कारण हुने गरेको छ । यी पुराना कपडाहरुले घरमा झैझगडालाई बढावा दिने ऊर्जा उत्पन्न गर्ने गर्दछ । त्यस्ता कपडाहरु काम लाग्ने भए आवश्यक परेका व्यक्तिलाई दान गर्नु उपयुक्त हुन्छ, नभए व्यवस्थापन गर्नुपर्छ । अन्यथा धनको नोक्सानी सहनुपर्ने हुन सक्छ ।

थोत्रो कवाडी सामान

काम नलाग्ने भएर कवाडी बनेको सामानले पनि घरमा नकारात्मक ऊर्जा दिने वास्तुशास्त्रको कथन छ । खिया लागेको डन्डी, पुराना बोतल, बिग्रेको ब्याट्री जस्ता सामानलाई बेलैमा हटाउनु उपयुक्त हुन्छ । यी सामान अन्ततः धनको अनावश्यक नोक्सानीको कारक बन्न सक्छन् ।

बिग्रेको दराज

घरको सामान वा पैसा राख्ने दराज बिग्रेको, कुच्चेको, तथा ढोका नै बन्द नहुने अवस्थामा छ भने हटाउनु नै उपयुक्त हुन्छ । यी वस्तुका कारण घरमा वास्तुदोष रही सम्पत्तिको अनावश्यक नोक्सानी हुने बताइएको छ ।

भगवानको बिग्रेको प्रतिमा

भगवानको आस्था छ भन्दै फुटेको मूर्ति, च्यातिएको तस्विर राख्नु पनि वास्तुदोषको एक मूल कारण मानिन्छ । यसका कारण अनेक पारिवारिक समस्या आउन तथा धनको हानि हुनसक्ने हुनाले यस्ता तस्विर वा मूर्तिलाई पवित्र नदीमा लगेर सेलाइदिनु उपयुक्त हुने सुझाव वास्तुशास्त्रीहरुले दिने गरेका छन् ।

घर सजाउने गलत सामान

घरलाई अरुको भन्दा भिन्न तथा आकर्षक देखाउने भन्दै कतिपयले काँडा भएको बिरुवा, नक्कली फुल जस्ता सामानहरुले घर सजाउने गरेका छन् । यी वस्तुका कारण परिवार बीचको सम्बन्धमा तिक्तता आउने तथा धनको हानि हुनाले यस्ता वास्तु दोषका कारकहरुको बेलैमा निदान गरेमा जीवन सुखी हुने वास्तुको निष्कर्ष छ ।

बिग्रेको टेबल र कुर्सी

फुटेको तथा भाँचिएको टेबल तथा कुर्सी प्रगतिको बाधक तथा धन नाशक मानिन्छ । वास्तुदोष सिर्जना गर्ने यस्ता वस्तुलाई हटाउन सकेमा प्रगति गर्न सकिने वास्तुशास्त्रको तर्क छ । त्यस्तै बैठकमा राखिने सोफा पनि नभाँचिएको तथा सफा हुनुपर्ने सुझाव दिइन्छ । ती सोफा तथा कुर्सीलाई राम्रोसँग बाहिरी ‘कभर’ ले छोप्दा सकारात्मक ऊर्जा निस्कने बताइएको छ ।

वास्तुदोष हटाउन यस्ता सामान्य तरिका अपनाउन सकेमा जीवन सुखी हुने वास्तु शास्त्रको ठम्याइ छ । मेहनत गरेर मात्र जीवन सफल नहुने भएकोले यी विषयमा चनाखो भइ मेहनतलाई निरन्तरता दिन सके सफलता पाउन बेर नलाग्ने विश्वास छ ।
(वास्तुशास्त्रमा आधारित अध्ययन सामग्रीबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *