जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक सेमिनार

काठमाडौं । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स–आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल–जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ ।
ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओशाका, मोरिकोसान कम्पनी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिकलगायतको सहकार्यमा कार्यक्रम गरिएको हो ।
जापान र नेपालका पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टे तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थाहरूको सहकार्यमा ७० भन्दा बढी कम्पनीहरूको सेमिनारमा सहभागिता थियो ।
जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा, क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदूताबास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए ।
नेपालको तर्फबाट आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, आईजिसि ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्वविद्यालयका एकेडिमीका इण्डस्ट्री समन्वय विभाग निर्देशक डा. रामलामाले सम्बोधन गरेका थिए ।
नेपाली विद्यार्थी समाज जापानका महसचिव सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती विषयमा आफ्नो विचार राखेका थिए ।
दुई चरणमा गरिएको कार्यक्रमको दोश्रो चरणमा सहभागी कम्पनीहरुलाई पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संसाधन जस्ता विभिन्न समूहमा विभाजन गरी अनुभव आदानप्रदान गरिएको थियो ।
नेपालबाट जापानमा विद्यार्थीहरुलगायत विभिन्न क्षेत्रका कामदारहरु पठाउन चाहनु हुने र नेपालको विभिन्न क्षेत्रमा व्यावसायिक प्रवर्द्धन तथा अभिबृद्धि गर्न चाहने जापानी कम्पनीहरुलाई एक अर्काप्रति व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भाबनालगायत विषयमा अन्तरक्रिया गराइएको थियो ।
आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको कुरा उल्लेख गरे । उनले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटीलगायत क्षेत्रको हाइस्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय विभाग निर्देशक डा. रामलामाले जापानमा नेपालीलगायत एसियन मुलुकका विद्यार्थीहरु बढ्दो अवस्थामा रहेको र त्यस्तो विद्यार्थीहरुलाई मध्यनजर गर्दै काठमाडौं विश्वबिद्यालयले सम्बन्धित देशको विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरी सोही देशमा काठमाडौं विश्वविद्यालयको डिग्री उपलब्ध गराउने सोचसहित अगाडि बढेको विचार ब्यक्त गरेका थिए ।
एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावाले आफूहरुले विभिन्न देशका विद्यार्थीहरुलाई दीक्षित गरी उज्ज्वल भपिष्य निर्माणमा योगदान दिँदै आएको र आगामी दिनमा यो कार्यलाई अझै अगाडि बढाउँदै लगिने बताए ।