मन्दिरको जग्गा व्यक्तिलाई दिएको मुद्दा सर्वोच्च पुग्यो

सुनसरी । मन्दिरको जग्गा नियम विपरीत व्यक्तिका नाममा नामसारी गरेको भन्ने मुद्दा सर्वोच्च अदालत पुगेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकलीको श्रीराम कबिर सीता कबिर रामजानकी मन्दिरको नाममा रहेको जग्गा मोहीका नाममा समितिले तोकेको भन्दा बढी जग्गा दिइएको थियो ।

मन्दिर सञ्चालक समितिले मोहीका रुपमा स्थानीय फिरनी थरुनीका मन्दिरको २ बिघा ७ कठ्ठा जग्गा नाममा दिएपछि विवाद भएको थियो । पूर्वपश्चिम राजमार्गभन्दा केही उत्तरमा रहेको उक्त जग्गा चार करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जनाइएको छ ।

उक्त जग्गा समितिकै पदाधिकारीको पहलमा तत्कालीन भूमिसुधार कार्यालयले थरुनीका नाममा पास गरेको थियो ।

समितिका तर्फबाट मिलापत्र गर्दै मन्दिरको नाममा रहेकोमध्ये आधा जग्गा दिइएको थियो ।

२०६६ मंसिर १६ गते समितिले आधा जग्गा दिइ मिलापत्र गर्ने निर्णय गरेको थियो ।

त्यसपछि भूमिसुधार कार्यालयले नामसारी गरिदिएको थियो । स्थानीय देवेन्द्रप्रसाद पराजुलीले त्यसविरुद्ध उजुरी दिएका थिए । मन्दिरको महत्वपूर्ण र महंगो जग्गा दिइएको, ‘नरमकरम’ नमिलाई एकलौटी रुपमा जग्गा हस्तान्तरण गरिएको उनको जिकिर थियो ।

भूमिसुधार कार्यालयले उनको उजुरीलाई बेवास्ता गर्दै नामसारी सदर गरेको थियो । त्यसपछि तत्कालीन पुनरावेदन अदालत विराटनगरमा पराजुलीले पुनरावेदन गरेका थिए ।

मन्दिर सञ्चालन समितिले मिलापत्र गर्ने निर्णय गरेका बेला संस्था नवीकरण नभएको केही वर्ष भइसकेको थियो ।

त्यस्तो अवस्थामा निर्णय नै अवैध हुने पुनरावेदनमा जिकिर गरिएको थियो ।

जग्गा पास गर्ने बेलामा समितिका तर्फबाट प्रतिनिधि सहभागी हुनुपर्ने भएकाले मात्र हतार गरी संस्था नवीकरण गरिएको समितिकै पदाधिकारीले बताएका छन् ।

२०६६ मंसिर १६ सम्म नवीकरण नभएको संस्था जग्गा लेनदेन गर्ने बेलामा मंसिर १८ गतेमात्र नवीकरण गरेको पाइएको छ ।

जग्गा पास गर्ने बेलामा समितिका तर्फबाट सदस्य विनोदकुमार झा सहभागी भएका थिए ।

पुनरावेदन अदालतले भूमिसुधार कार्यालयको उजुरी उल्टाउँदै पराजुलीको निवेदनको पक्षमा निर्णय गरेको थियो । अदालतले समितिको पहलमा भूमिसुधारले गराएको मिलापत्र बदर गरिदिएको थियो ।

त्यसपछि मन्दिर सञ्चालक समितिकै सदस्यले थरुनीलाई पुनरावेदनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुर्याएका थिए ।

जग्गा पास गर्ने बेलामा सहभागी भएका झाले नै सर्वोच्चमा मुद्दाको पहल गरेको समितिका पदाधिकारीले बताएका छन् ।

थरुनीका नाममा गएको जग्गा त्यसपछि समितिका तत्कालीन कोषाध्यक्ष बुद्धिलाल चौधरीका भाइ पन्नालाल चौधरीसहित दुईजनाको नाममा नामसारी गरिएको थियो ।

जग्गा नामसारी गर्दै बिक्री गराउने समितिमै आबद्ध कतिपय सदस्यहरुले मुद्दा दिने पराजुलीलाई धम्क्याउने गरेको, मुद्दा फिर्ता लिन दबाब दिने गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

मोहीका रुपमा जग्गा पाउने भए पनि सबैतिरको मिलाएर जग्गा दिइनुपर्ने, समितिले पहिले निर्णयगरेअनुसार २५ प्रतिशत जग्गा दिनुपर्ने भन्दै मन्दिर संरक्षणमा लागेका स्थानीयले बताउँदै आएका छन् ।

जग्गा अनावश्यक रुपमा बढी साथै समितिको निर्णयविरुद्ध दिएर मन्दिरको सम्पत्ति हिनामिना गर्न खोजिएको भन्दै २०६६ पुस र माघमा आन्दोलनसमेत भएको थियो । त्यसबेला प्रहरी लगाएर आन्दोलन दबाइएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *