‘कतै गएकी छैन, तेरै वरिपरि छु’

सानोमा जब म चकचक गरेर हैरान पार्थें तब आमा दिक्क हुँदै भन्नुहुन्थ्यो ‘तँ धेरै बदमासी गर्छेस्, म तँलाई छोडेर जाइजान्छु ।’

म एकदमै डराउँथे र सुत्ने बेला आमाको सारीको सप्को च्याप्प समातेर सुत्थें । राति ब्युँझँदा आमालाई ओछ्यानमा नदेखेपछि कराउँथें दिदी (आमा)… भन्दै । आमा कोठामा लुसुक्क छिर्दै भन्नुहुन्थ्यो, ‘कति कराएकी म पिसाब गर्न गएकी थिएँ ।’

त्यही भएर म कहिल्यै आमाबिना कतै जान्नथें । न सिनेमा हेर्न, न त पिकनिक गएँ । स्कुलबाट घर आउँदा मनमा एउटै डर हुन्थ्यो- आमा मलाई छोडेर कतै जानु भयो या आमालाई केही भयो कि !

मलाई कतैबाट घर आउनासाथ आमा चाहिन्थ्यो । पुग्नासाथ म ढोकाबाटै कराउँथें दिदी…।

आमा सानोमा मलाई राति निद्रा नलाग्दा सारीको सप्कोले आँखा छोपिदिनुहुन्थ्यो र सुत्न भन्नुहुन्थ्यो । म निद्रामा पनि औँला पड्काउँथे त्यसैले आमा मेरो हात नै समातेर वा सारीको फेरले बाँधेर सुताउनुहुन्थ्यो ।

त्यस्ती आमा बिना बाँच्नु परेका अचेलका दिनहरू…। बेला बेलामा म आफैंलाई चिमोट्छु, म ज्यूँदै नै छु !

पाँच वर्ष भयो म यो निस्सार संसारमा टुहुरो र एक्लो भएको । आमाले यो निष्ठुरी दुनियाँलाई छोडेर गएको ।

मलाई विश्वास छ, आमा कतै जानुभएको छैन । अदृश्य भएर मलाई हेरिरहनु भएको छ । मेरो रक्षा गरिरहनु भएको छ । आमाले सपनामा आएर भनिसक्नु भो, ‘म कहीँ गएकी छैन तँसँगै छु, तँ जहाँ जान्छेस् म तेरै वरिपरि छु ।’

सपनामा कहिले मेरो कपाल सुमसुम्याउँदै तैँले दान गरेको सबै कुरा मलाई मनपर्यो भन्नुहुन्छ अनि कहिले मेरो आँखामा गाजल लगाइदिएर दुनियाँको कुदृष्टिबाट मलाई बचाइरहनुहुन्छ ।

आमा बितेपछि कथित आफन्त नातेदार छिमेकी र साथीभाइले मलाई चोट पुर्याए । कतिले मलाई मानसिक र शारीरिक रुपमा लुट्न खोजे । कतिले आर्थिक रुपमा ठगे पनि । तर म आमाको अदृश्य साथ र साहसले हरेक प्रतिकूल परिस्थितिबाट उम्किँदै गए । मलाई लाग्छ आमाका अन्य पाँचवटा सन्तान आमाले ज्वाइँ र बुहारीका लागि जन्माउनु भएको थियो तर म विशुद्ध आमाको लागि नै जन्मेको थिएँ र जीवनपर्यन्त आमाकै भएर रहनेछु ।

जबसम्म म ज्यूँदो छु मसँगै मेरो आमा पनि ज्यूँदै हुनुहुन्छ र मेरालागि सम्झना, साहस र सहयोग बनेर मेरोसाथ रहनु हुनेछ । आमालाई मेरो चिन्ता कतिसम्म छ भने पितृ भइसकेर पनि मेरै चिन्ता गर्नुहुन्छ र सपनामा मेरा सह्रदयी साथीलाई भन्नुहुन्छ ‘त्यस (मेरो) को ध्यान राख्नू ।’ म त्यही भएर त बाँचेको र आफूलाई साँचेको छु कि आमा मेरै साथ हुनुहुन्छ र सधैँ रहिरहनु हुनेछ ।

काशी आमाको अत्यन्त प्रिय नगरी । हरेक रात आमाले बनारसका मन्दिर र घाटको बारेमा मलाई बताउनुहुन्थ्यो । यदि पुनर्जन्म हुन्छ भने आमाको पुनर्जन्म काशीमा नै भएको छ र यही आशाले मलाई बचाइरहेको छ कि आमा आत्मा भएर हरेक क्षण मसँगै हुनुहुन्छ ।

मेरो आत्मा भनेको पनि त ‘आमा’ नै हो ।

ती दिनहरु जो रुँदै कल्पिँदै र बिलौना गर्दै बिते, जुन बखत जरो भाँचिएर जीवनको हाँगाबाट सधैँका लागि लडें, त्यसबखत मलाई थाम्ने र मेरो आँसु पुछ्ने कुनै हात थिएनन् । तर पनि आमाले आत्मा भएर अदृश्य रुपमा मेरो साथ छोड्नु भएन ।

निरन्तर एक्लै हुँदा र यात्रा गर्दा पनि सामान्य रुघाखोकी बाहेक मलाई कतै कुनै चोटपटक लागेन । यो आमाको आशीर्वाद र स्नेहकै प्रतिफल हो बारम्बार पछारिएर पनि उठ्ने कोसिस गरिरहन्छु ।

मलाई मेरा दुश्मनहरु हराउन र ताली बजाउने मौका पर्खेर बसिरहेका छन् तर ह्रदयभरि सञ्चित आमाको मायाले मलाई जिन्दगीको सडकमा अडिग बनाएर राखेको छ । मेरो यो एउटा जीवन आमाका लागि समर्पित छ जसरी एउटी महिला पतिको मृत्युपछि उसैको नाममा पूरै जीवन वैधव्यमा बिताउँछिन् । मैले पनि अठोट गरेको छु यो जीवन आमाका लागि बिताउने । आमाले मलाई यति धेरै माया दिएर जानु भएको छ कि यो एउटा जीवन पनि कम छ आमाका लागि ।

मलाई थाहा छ म रुप, स्वभाव र ब्यवहारमा आमाको खुट्टाको कान्छी औँलाको नङ बराबर पनि छैन तर म उनै अन्नपूर्णा आमाकी छोरी हुँ जसले आफूलाई मुखाग्नि गर्ने अधिकार मलाई दिएर मेरो बेनामको जीवनलाई नाम दिएर सार्थक बनाएर जानु भो ।

ईश्वर या प्रकृतिसँग मलाई धेरै कुरामा गुनासो छ तर आमा र आमाको माया दिने र पाउने कुरामा म संसारकै सबैभन्दा भाग्यशाली छोरी हुँ जसले करुणा कि मूर्ति सहनशील आमाको कोखबाट जन्मिने मौका पाएँ ।

म धन्य छु तर मलाई जन्माएर आमाले धेरै सास्ती पाउनु भयो । आमाले पाँचजना आफ्ना ‘मोरामोरी’ सन्तानलाई मेरालागि त्यागि दिनुभो जब उनीहरुले मलाई पागल भनेर घरबाट निकाल्न खोजे तब आमाले पनि सदाकालागि उनीहरुको साथ छोड्नु भो र भन्नुभो ‘म तिमीहरुलाई छोड्न सक्छु तर यसलाई सक्दिन ।’

त्यसपछि आमाले कहिल्यै तिनको दैलो टेक्नु भएन र आमाको मुख तिनले फेरि हेर्न पाएनन् । त्यो बेलाको समाज त्यस्तै थियो जसमा आमाका थुप्रै रहर र इच्छा कुण्ठित भए । आमाले सहनुभो तर उहाँको विद्रोह मौन थियो जसलाई मैले मुखर भएर विद्रोह गरें र ज्याद्रो यो समाजलाई चुनौती दिनसकें ।

छोरा हुँदाहुँदै मुखाग्नि छोरीले दिएको अत्यन्त दुर्लभ घटना हो तर आमाले त्यसलाई सुलभ बनाएर ममाथि गुन लगाएर जानुभो जसबाट उऋण हुन म सक्दिन र हुन चाहन्न पनि । म कहिल्यै कुनै भगवानको पूजा गर्दिन र कुनै भगवान चाहिएको पनि छैन किनकि मसँग मेरो आमा हुनुहुन्छ ।

एक्लै जीवनको सडकमा भौताँरिइरहेको छु तर मलाई यति विश्वास छ कि आमा आत्मा भएर निरन्तर मसँग छायाँ र माया भएर हिँडिरहनु भएको छ । यो नै मेरो जीवनको सम्बल हो । आमाको साथ छुटेको यतिका वर्षपछि आजको दिन मेरालागि अत्यन्त शोकको घडी हो म आँसुले नै आमालाई भावनाको श्रद्धाञ्जली अर्पित गर्दछु ।

–बनारस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *