‘डिजिटल अधिकार’ बारे अधिकांश अनभिज्ञ

विराटनगर । इन्टरनेटको प्रयोग अपरिहार्य बन्दै गएको अवस्थामा यसबाट हुने जोखिम र सुरक्षालगायत विषयमा सर्वसाधारणमा सचेतना फैलाउनुपर्ने देखिएको छ ।

पढेलेखेका अधिकांश शिक्षितहरुमा पनि डिजिटल साक्षरताको अभाव रहेको पाइएको छ ।

विराटनगरमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले इन्टरनेट र यससँग सम्बन्धित गतिविधि व्यापक बनेका बेला डिजिटल साक्षरता बढाउनुपर्नेमा जोड दिएका छन् ।

डिजिटल राइट्स नेपालले आयोजना गरेको ‘डिजिटल अधिकारका मुद्दा र प्राथमिकता’ विषयक कार्यक्रमका सहभागीले साक्षरता बढाउनुपर्नेमा जोड दिएका हुन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकहरु चुहावट तथा चोरी हुने अनि दुरुपयोग समेत हुन सक्ने जोखिम बढेको सहभागीले बताएका थिए ।

इन्टरनेटबाट सञ्चालित सामाजिक सञ्जाल तथा अन्य प्रविधिको प्रयोगका विषयमा पूर्ण जानकारी नभएका कारण कतिपय सर्वसाधारणहरु ठगिने गरेको बताउँदै व्यक्तिगत तथ्यांक चोरी हुने सम्भावना समेत रहने औंल्याइएको थियो ।

अधिकांश प्रयोगकर्ताहरु आफ्नो डिजिटल अधिकारका विषयमा सचेत नहुनुका साथै इन्टरनेटको सुरक्षित प्रयोगका विषयमा पर्याप्त जानकार नभएका कारण यस्तो अवस्था निम्तिएको कार्यक्रमका सहभागीले बताएका थिए ।

आयोजक संस्थाका अध्यक्ष सन्तोष सिग्देलले व्यक्तिको मानव अधिकारको रुपमा व्याख्या गरिएका विषयहरु नै अनलाइन स्पेसमा पुग्दा डिजिटल अधिकारका रुपमा परिर्वतन हुने गरेको बताए ।

उनले पछिल्लो तथ्यांक अनुसार नेपालमा ६५ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गरिरहे पनि आफ्ना डिजिटल अधिकारका विषयमा पर्याप्त जानकार नरहेको बताए ।

सिग्देलले अध्ययन अध्यापनका साथै आर्थिक र सामाजिक सबै क्षेत्रमा डिजिटल माध्यमको प्रयोग गरिए पनि त्यसअनुरुपमा सर्वसाधारणलाई जानकार बनाउने तथा व्यक्तिको डिजिटल अधिकार सुरक्षित गर्ने पर्याप्त काम हुन नसकेको उनको भनाइ थियो ।

अधिकारवादी अभियन्ता राजु श्रेष्ठले देखासिकी र सामान्य जानकारीकै आधारमा इन्टरनेटमा उपलब्ध सामाजिक सञ्जाल तथा एप्सहरुको प्रयोग गरिएका कतिपय सर्वसाधारणका तथ्यांक चोरी हुने र ठगीमा पर्ने गरेको बताए ।

नीति निर्माण तहबाटै यसलाई ब्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

बैंकरको तर्फबाट बोल्दै ईश्वर कट्टेलले नयाँ नयाँ प्रविधिहरु भित्रिए पनि सेवाग्राहीलाई त्यस विषयमा पर्याप्त जानकारी नभएका कारण समस्या देखिएको बताए ।

दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकालले डिजिटल राइट्सका विषयमा सबै वर्ग र तहलाई जानकार बनाउन तिनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने सुझाव दिए ।

बालबालिकादेखि वृद्धसम्मले प्रयोग गर्ने डिजिटल प्रविधिले मानिसहरुलाई नराम्रो तलमा फासाइसकेकोले यसलाई नीति निर्माण तहमा राखेर कानूनहरु निर्माण गर्नु पर्ने प्राध्याक डिल्ली प्रसाईंले बताए ।

कतिपय अवस्थामा भरपर्दो नीति नहुँदा र भएका नीति नियमहरु समेत लागू नहुँदा मानिसहरुलाई समस्या भएको अनलाइन सञ्चालक विवेक दाहालले बताए ।

भरपर्दो कानुनकै अभावका कारण मानिसहरु अनलाइन व्यापारबाट दिनानु दिन ठगिदै गएको सञ्चारकर्मी भक्त राईले धारणा राखेका थिए ।

कार्यक्रममा सञ्चार, सामाजिक र अध्यापन क्षेत्रसँग जोडिएका व्यक्तिहरुको सहभागिता थियो । आयोजक संस्थाले ७ वटै प्रदेशमा यस्तो कार्यक्रम आयोजना गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *