‘धारणात्धर्म मित्याहु धर्मो धारयते प्रजा’

धर्म के हो ? संस्कृति के हो ?

यी प्रश्न सर्लक्कै एक वाक्यमा उत्तर दिन सकिने खालका होइनन् ।

धर्म र संस्कृतिको विस्तृत रूपमा अध्ययन निकै गहिरो हुन्छ । अध्ययनकर्ताहरु यसै भन्छन् ।

हिन्दु धर्मभित्र पनि फरक–फरक संस्कृति, चाड, पर्व, परम्परा छन् । आधुनिक युगले साँघुरिएको विश्वमा फरक–फरक धर्म मान्नेले पनि एउटै संस्कृति चाड पर्व र परम्परा मान्दै आएको देखिएका प्रशस्त उदाहरणहरू छन् ।

पछिल्लो समय धेरैमा आफ्नो धर्म, संस्कृतिबारे चासो बढ्न थालेको पाइन्छ । आफ्नौ मौलिकता यसैमा छ भनेर बुझ्नेहरुले रुचि राख्नु स्वाभाविक पनि हो ।

सामान्यतया धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन विधिहरू पर्दछन् भन्ने मान्यता छ ।

कहिलेकाहीँ आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ । बृहत् अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको सम्बन्धबारे सम्पूर्ण उत्तर मान्ने गर्दछन् ।

धर्म भनेको जीव वा मानवको स्वाभाविक गुण हो। सम्पूर्ण मानवहरूको गुण एकै हुन्छ । मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र व्यक्ति अनुसार फरक–फरक पाइन्छ।

कहिलेकाहीँ ‘धर्म’ शब्दलाई ‘संगठित धर्म’ को रूपमा पनि हेर्ने गरिन्छ ।

संगठित धर्म भन्नाले त्यस्ता मानिसहरूको समूहलाई जनाउँछ जसले एउटै धर्म संयुक्त रूपमा पालना गर्दछन् ।

संसारमा मानिसहरू विभिन्न किशिमका धर्महरू पालना गर्दछन् । तीमध्ये जनसङ्ख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन्– ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू ।

मलाई अचेल हाम्रो धर्म र संस्कृतिबारे चासो बढेको छ । यसबारे बुझ्ने प्रयास पनि गर्दै छु । कम समय, कम अध्ययन र मेहनतबिना बुझ्न त सम्भव छैन तर प्रयास गरे बुझ्दै जाने मार्ग पनि प्रशस्त हुन्छ भन्ने लाग्छ ।

सत्य के हो भने, वास्तवमा धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने उसको अन्तर्निहित गुण हो । उसको आफ्नै स्वभाव हो ।

आगोको धर्म तातो हुनु हो । घामको धर्म उज्यालो दिनु हो । हावाको धर्म सुकाउनु हो । बीउको धर्म उम्रिनु भनेजस्तै मानिसको धर्म मानवता हो । यसलाई मानवीय सद्गुण पनि भनिन्छ । धर्मले नै मान्छेलाई मानव बनाउन मद्दत गर्छ । प्रेरित गर्छ ।

धैर्य रहनु, सहनशील हुनु, अरूको उपकार गर्नु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु मानवीय धर्म हुन् ।

कसैको हिंसा नगर्नु, सात्विक आहार गर्नु यी र यस्ता मानवीय सद्गुणहरू नै मानवीय धर्म हुन् । संसारका जति पनि धर्मले दिने शिक्षा भनेकै मानवता हो र ईश्वरप्रति भरोसा र विश्वास हो ।

हिन्दु धर्ममा भगवानका धेरै स्वरूपहरूको व्याख्या गरे पनि वास्तवमा भगवानको परब्रह्म ईश्वरीय स्वरूप एउटै मानेको छ । त्यसैले धर्म धारणा गर्ने कुरा हो ।

ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । महाभारतमा भनिएको छ– ‘धारणात्धर्म मित्याहु धर्मो धारयते प्रजा।’

अर्थात्, धर्म कर्तव्य हो, अनुशासन हो, धर्म पहिचान हो, अस्तित्व हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *