नौ महिनाको फरकमा दुईपटक गर्भवती, दुवैचोटि जुम्ल्याहा !

काठमाडौं । क्यानाडाको ब्राम्पटनका एक दम्पतीले नौ महिनाको फरकमा दुई पटक जुम्ल्याहा बच्चा प्राप्त गरेका छन्।

२६ वर्षीया रेभा मारी निकोल्सनले एकै वर्ष दुई पटक जुम्ल्याहालाई जन्म दिएकी हुन्।

दोस्रो पटक पनि जुम्ल्याहा बच्चाहरुको जन्म हुँदा आफूहरु अचम्मित हुनुका साथै ज्यादै खुसी समेत भएको उनले बताएकी छन्।

निकोल्सन र उनका श्रीमान् रोमेन मोरिस म्याकको २०२२ को फेब्रुअरीमा पहिलो पटक जुम्ल्याहा बच्चा जन्मिएको थियो।

त्यसबेला समयभन्दा तीन महिना अघि नै उनीहरु जन्मिएका थिए।

निकोल्सनलाई सुत्केरी ब्यथाले च्याप्दा २७ हप्ताको गर्भ थियो। सौभाग्यवश उनी त्यस बेला अस्पताल नजिकै थिइन्। उनलाई साइकलमा सवार प्रहरी अधिकारीहरुले अस्पताल पुर्याइदिएका थिए।

उनले छोरी काइरा र छोरा शामरलाई जन्म दिइन्। उनीहरुलाई जन्मिएको केही साता नवजात शिशु सघन हेरचाह इकाइमा राख्नु परेको थियो।

उनीहरुलाई घर ल्याएको एक महिनापछि दम्पतीले निकोल्सन फेरि गर्भवती भएको थाहा पाएका थिए।

त्यस बेला आफ्नो पेटमा एउटा मात्र बच्चा भएको निकोल्सनले ठानेकी थिइन्। तर फेरि पनि जुम्ल्याहा नै जन्मँदा उनी र श्रीमान् चकित परेका थिए।

दम्पतीले एकै वर्ष चारजना छोराछोरी पाएका हुन्। पछिल्लो पटक दुवैजना छोरी जन्मिएका हुन्। एकजना म्या र अर्की मोरिया। उनीहरुलाई अस्पतालको एनआइसियुमा राखिएको क्यानाडाका सञ्चार माध्यमले उल्लेख गरेका छन्।

उनीहरुलाई कतिपयले एउटा रमाइलो प्रश्न गर्ने गरेका छन्। ‘के तपाईहरु थप सन्तान जन्माउने योजनामा हुनुहुन्छ?’

यो प्रश्न सुनेर निकोल्सन र उनका श्रीमान् मुसुक्क हास्छन् र भन्छन्, ‘हामी सन्तुष्ट छौं, यो हामीले पाएको आशीर्वाद हो, हामी धन्य छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *