‘वातावरण शरणार्थी’ बन्नबाट बचौं

मान्छेलाई आफू जन्मेको ठाउँ जान मन लाग्छ। फुर्सद मिल्यो भने जाऔंला भन्ने हुन्छ तर कतिपय मानिस जीवनमा चाहेर पनि त्यहाँ जान अब सक्दैनन्। जान नसक्नेको फेहरिस्तमा मेरा आफन्तसँगै म पनि परेको छु, किनकि हाम्रो मामाघरका सारा परिवार, छरछिमेक सबै ‘वातावरण शरणार्थी’ भइसकेका छन्।
म जन्मेको घर भएको ठाउँमा अहिले ब्रह्मपुत्र नदीको बहाव छ। सारा गाउँवासी हेर्दा हेर्दै शरणार्थी भए, प्रकृतिले बनाएको होस् वा ‘ग्लोबल वार्मिङ’ ले, ती सबै अन्यत्र बसाइँ सरे, थातथलो छाडेर, सयौं किलोमिटर टाढाको नदी घरछेऊमै बहन थालेपछि गाईपालक वा कृषक परिवार विस्तारै शरणार्थी हुँदै गए। स्कूल, बजार, मैदान, खेत, घर केही रहेनन्, मानिसका सबै सम्झना नै मेटिएजस्तो।
नदी बढ्नु, समुद्र फैलिनु, हिमालयको हिउँ पग्लनुको एउटा कारण पृथ्वी दिन प्रतिदिन तातिँदै जानु वा हरितगृह असर हो। पृथ्वी तात्तिनुको प्रमुख कारण मानिसले वायुमण्डलमा फैलाउँदै गएको हरितगृह वा ग्रीन हाउस ग्यासहरु हुन्।
मानिसले प्रयोग गर्ने सवारी साधनले दिनहुँ आकाशमा कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, नाइटरोजन डाइअक्साइड आदिजस्ता ग्यास फालिरहेका हुन्छन्।
यी ग्यासले वायुमण्डलको ‘स्टाटोस्फेएर’ मा एउटा पत्र तयार गरिरहेको छ, जुन लेयर वा पत्रले सिसाको जस्तो काम गर्छ। जस्तो कि– पृथ्वीमा सूर्यको छोटो इन्फ्रा–रेड किरणलाई आउन त दिन्छ तर पृथ्वीमा पुगेपछि यी किरण लामोे इन्फ्रा–रेड किरणमा परिणत हुन्छन्। जुन फेरि ग्रीन हाउस ग्यासको पत्रलाई छेडेर फर्कन सक्दैनन् र विस्तारै पृथ्वीको तापक्रम निरन्तर बढ्न थाल्छ।
पृथ्वी तात्दै गएपछि समुद्रको पानी फैलिन शुरु हुन्छ र शहरका शहर पानीले डुबाउन थाल्छ, पानी पर्ने वा वर्षातको क्रम बढ्न थाल्छ। अन्टार्टिकाको हिउँ पग्लन थालिसकेको छ, त्यो सारा पग्लेको पानी बहेर समुद्रको सतह बढ्न थाल्छ र गहिरा ठाउँमा अवस्थित गाउँहरु डुब्न थाल्छन्। भारतको पुरानो राजधानी कोलकाता सन् २०५० सम्ममा डुब्ने आंकलन गरेका छन् वातावरणविदले।
कोलकाता नजिकैको सुन्दर बन डुबाइसकेको छ। त्यहाँका मानिस ‘वातावरण शरणार्थी’ वा बदलिदै गएको हावापानीको असरले पीडित भइसकेका छन्। युद्ध वा राजनीतिक शरणार्थीभन्दा अबको संसारमा वातावण शरणार्थी बढ्ने पक्का छ। हामी पनि फेरि पहाड वा हिमालतिर बसाइँ सर्छौ होला!
मानिसलाई आफू बस्ने पृथ्वीको बारेमा सोच्ने एक क्षण फुर्सद छैन। वातावरणका खोजकर्ताका निष्कर्षका कागज पल्टाउने समय वा बुझ्ने बुझाउने ध्येय छैन। आफ्नो घर नडुबाएसम्म चेत आउनेवाला देखिंदैन। गाडी, कलकारखाना दिन दुगुना, रात चौगुना बढेका बढ्यै छन्। मापदण्डका कुरा कागज र फाइलमा सीमित देखिन्छन्।
गर्मी निरन्तर बढिरहेको छ। चिसा ठाउँ तात्दै छन् भनौं जाडो याम छोटिंदै छ। शारजाहले बनाएको सुन्दर ताजमहल पहेँलिंदैछ, कारण हामी अम्ल वर्षा गराउँदै छौं। ग्रीन हाउस ग्यास वायुमण्डलको हावा र बाफसँग मिसिएर अम्ल बन्दै छ जुन वर्षामा मिसिन्छ। र, त्यस किसिमको वर्षाले संरचनाहरु र बालीनाली पनि नष्ट गर्छ।
अनियन्त्रित शहरीकरण, मापदण्ड पूरा नगरेका कलकारखाना र गाडीको धुवाँले यो समस्यालाई झन विकराल बनाउँदै लगेको छ। सबै क्षणिक स्वार्थमा अल्झिएका छौं। धरती माता वा मदर अर्थका बारेमा कोही सोचिरहेको छैनौं। सोचे पनि ठोस कदम चाल्न आनाकानी गरिरहेका छौं।
बन जंगल मासिने क्रम जारी छ- बाटो विस्तारको नाममा होस वा विकास परियोजनाका नाममा होस्। हामी हाम्रा आउँदा सन्ततिलाई ‘वातावरण शरणार्थी’ बनाउन वा प्रतिकूल हावापानी उपहारमा दिन उन्मुख देखिन्छौं।
हालैको लकडाउनले वातावरणलाई निकै राहत पुगेको थियो। यो लकडाउनले घरमै बसेर काम गर्न हामीलाई सिकाएको छ। बैठक, सेमिनारका ठूला ठूला खर्च बचायो। किनकि मानिसले घरबाटै ती कार्यक्रममा सहभागिता जनाए। गाडी चढेनन्, हवाइजहाजमा उडेनन् तर बौद्धिक परिचर्चामा उत्साहका साथ भाग लिए।
यसरी वायुमण्डल धुवाँको मुस्लोबाट बच्यो र हाम्रो आकाश सफा र अझ सुन्दर भएको अनुभूति गर्यौं। कमसेकम आधा मात्र पनि गाडी नकुद्दा कति फरक पर्दो रहेछ हामीले बुझ्यौं। स्कूल, कलेजका कति कामहरु विद्यार्थी र शिक्षकले घर बसेरै पार लगाइरहेका छन्। यद्यपि पारिश्रमिक कतिपयले आधा पाए। वातावरणमैत्री कक्षाहरुको बारेमा सोच्न सकिन्छ भन्ने एउटा सोच निश्चय पनि पलाएको छ र यो धरती माताका लागि राहत हुन सक्छ।
रुख रोप्न छोडे पनि, रुख काट्न छोडेका छैनौं। राजमार्गको विस्तारमा पहिलाका रुखलाई बचाउन सकिन्थ्यो तर चुपचाप रुखको मृत्युको काउन्ट डाउन, रुखमा गोलो पारेर छिलेर, नम्बरिङ गरेको देख्दा मनमा मीठो अनुभूति त पक्कै पनि कसैलाई भएन नै होला!
ती घना हरिया रुख जो हाम्रा थिए, हाम्रै लागि काटिए, कत्रो विडम्बना! रुखले कार्बनडाइअक्साइड इत्यादिलाई खपत गरेर वायुमण्डललाई ग्रीन हाउस ग्यासको प्रकोपबाट बचाउँछ।
यो कुरा सबैले सानै कक्षामा पढेका हौं तर ठूलो हुँदै गएपछि बिस्तारै बिर्संदै गयौ जसरी कि आमाको न्यानो माया।
हरियाली सबैलाई मन पर्छ तर रुख बिरुवाप्रतिको जिम्मेवारी लिन सकिरहेका छैनौं। किन हामीमध्ये कोहीले फेरि ‘ग्रीन वेल्ट मुभमेन्ट’ लाई प्रभावकारी बनाउन सकेका छैनौं? काठमाडौंको रिङरोडको विस्तार गर्दा ती पुराना रुखलाई बचाउन सक्थ्यौं। दिल्लीतिर जस्तो गररे रुखलाई जोगाएर छेउबाट बाटो बढाउन सकिन्थ्यो तर बिचरा हामी व्यस्त मूकदर्शक! त्यसतर्फ उति चासो राखेनौं।
वातावरणलाई केवल दोहन गर्यौं। फिर्ता दिने बेला कालो धूवाँ मात्र दियौं। अब हामी वातावरणको उत्तर पनि भोग्न तयार हुनुपर्छ या त वाङगारी मथाइ, को हुन्? खोज्न निस्कनु पर्छ र जाग्नु पर्छ ।
हाम्रा प्रियजनहरु, आउँदा सन्ततिहरु र प्रिय बस्ने ठाउँहरुलाई ‘वातावरण शरणार्थी’ बनाउने कि सुन्दर संसार हस्तान्तरण गर्ने हाम्रै सामुहिक प्रयासमा निर्भर छ र धरतीलाई कस्तो बनाउने हाम्रै हातमा छ।
-गौतम मनमोहन प्राविधिक विश्वविद्यालय, मोरङमा रसायनशास्त्रकी सिनियर लेक्चरर हुन्।