नयाँ गठबन्धनका दुवै दलको मुख्यमन्त्रीमा दाबी

विराटनगर । संघीय सरकार निर्माणको पूर्वसन्ध्यामा विकसित भएको राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसम्म परेको छ । एमाले नेतृत्वको पछिल्लो दलीय गठबन्धनका कारण संघीय सरकारका साथै प्रदेश सरकारहरुमा पनि पहिलेभन्दा फरक परिदृश्य देखिएको छ ।

नयाँ दलीय गठबन्धन बन्नुअघि प्रदेश १ प्रदेशसभाको ‘अंकगणित’ अहिलेजस्तो स्पष्ट हुन सकेको थिएन । त्यसबेलाको गठबन्धनका आधारमा दुवैतिर बराबर सांसद संख्या थियो । एकमात्र सांसद निर्णायक हुने अवस्था थियो ।

अब भने त्यो अवस्था पूरै बदलिएको छ । यो परिस्थितिका बीच प्रदेश १ को सरकार कसको नेतृत्वमा बन्ने, को मुख्यमन्त्री बन्ने भन्ने कुरामा फरक फरक धारणा सार्वजनिक भएका छन् ।

प्रदेश १ मा पहिलो दल बनेको नेकपा एमालेले सरकारको नेतृत्वमा दाबी गरेलगत्तै माओवादी केन्द्रको पनि ध्यान त्यसैमा केन्द्रित भएको छ ।

तीन दिनअघि प्रदेश सांसदहरुले शपथग्रहण गरेयता सरकार बनाउने विषयमा दलहरुमा आन्तरिक छलफलले तीव्रता पाएको छ ।

अब कस्तो सरकार बन्ला ? प्रदेश १ को मुख्यमन्त्री को होला ? यो जिज्ञासा आम मतदाताबीच हुर्किएका बेला नयाँ गठबन्धनका दुई मुख्य दल नेकपा एमाले र माओवादी केन्द्र दुवै सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने भन्दै अघि सरेका छन् ।

मंसिर ४ गतेको निर्वाचनबाट प्रदेश १ को प्रदेश सभामा एमाले पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेस दोस्रो बनेको छ भने माओवादीले तेस्रो पार्टीका रूपमा प्रतिनिधित्व गरेको छ ।

एमालेको संसदीय दलका नेतामा हिक्मतकुमार कार्की चयन भइसकेका छन् । माओवादीले इन्द्रबहादुर आङ्बोलाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको छ । आङ्बो यसअघि पनि माओवादीको संसदीय दलको नेता थिए । दुबैजना मुख्यमन्त्रीका दाबेदारका रुपमा अघि आएका छन् ।

दलको नेता चयन भएसँगै कार्की र आङ्बो दुवैलाई मुख्यमन्त्री बन्न बाटो खुला भएको छ । गठबन्धनमा सहमति भएर एमालेको नेतृत्वमा सरकार निर्माण भए कार्की मुख्यमन्त्री बन्ने निश्चित छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्न कार्कीकै संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको छ ।

नयाँ राजनीतिक परिदृश्यका बीच अब दलीय गठबन्धनको अवस्था पहिलेभन्दा फरक भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले एमालेकै नेतृत्वमा प्रदेश सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका संसदीय दलका नेता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेश १ सरकारको नेतृत्व माओवादीले लिन पाउनुपर्ने बताएका छन् ।

मुलुकको सत्ता समीकरणका लागि दलहरूबीच नयाँ गठबन्धन बनेकाले प्रदेश १ सरकारको नेतृत्वमा आफूहरुको दाबी रहने उनको भनाइ छ ।

दुवै दलका प्रदेशस्तरीय नेताहरु अनि संसदीय दलका नेताहरुले आ–आफ्नै दाबी गरे पनि केन्द्रमा कस्तो सहमति बन्छ र कस्तो निर्देशन आउँछ भन्ने प्रतीक्षाको विषय बनेको छ ।

‘केन्द्रमा शीर्ष नेताहरुबीच कसरी शक्तिको बाँडफाँटमा कुरा मिल्छ भन्ने कुराले प्रदेश सरकारको नेतृत्वको छिनोफानो हुनेछ’ एमालेका एक नेताले भने, ‘तर ठूलो दलका हैसियतमा हाम्रो पहिलो दाबी हुन्छ ।’

माओवादीका एक नेताले भने यसअघि एमालेले पटक–पटक सरकारको नेतृत्व गरिसकेकाले अबको पालो आफ्नो पार्टीको भएको बताएका छन् ।

प्रदेशसभामा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ तथा माओवादीका १३ जना प्रदेश सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ जना सांसद आवश्यक पर्छ ।

प्रदेश १ को पहिलो अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । यसअघि प्रदेश १ को पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री फेरिएका छन् । सुरुमा एमालेका शेरधन राईले मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

त्यसपछि छोटो अवधिका लागि एमालेकै भीम आचार्य मुख्यमन्त्री बनेका थिए । उनीपछि हालसम्म नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री छन् ।

माओवादीद्वारा औपचारिक रूपमा मुख्यमन्त्री दाबी

यसैबीच, नेकपा माओवादी केन्द्र प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा आफ्नो दाबी गरेको छ । पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति निर्माण गरेको जनाएका छन् ।

‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *